फोटो खिच्ने क्रममा तालमा खसेर अस्ताए चार्टर अकाउन्टेन्ट
चितवनको वैकुण्ठ तालमा फोटो खिच्ने क्रममा खसेर एक व्यक्तिले ज्यान गुमाएका छन् । ज्यान गुमाउनेमा भरतपुर महानगरपालिका–१६, गरिमा टोलका ३५ वर्षीय चार्टर अकाउन्टेन्ट अर्जुन गौतम रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी डीएसपी भेषराज रिजालका अनुसार गौतम बिहीबार सपरिवार वैकुण्ठ ताल घुम्न गएका थिए । ताल नजिकैको एउटा ढुङ्गामा चढेर फोटो खिच्ने क्रममा उनी अचानक चिप्लिएर तालमा खसेका थिए ।
घटनापछि तत्कालै इलाका प्रहरी कार्यालय माणीबाट इन्स्पेक्टरको नेतृत्वमा उद्धार टोली परिचालन गरिएको थियो । थप सहयोगका लागि डीएसपी नेतृत्वमा सशस्त्र प्रहरीको टोली पनि घटनास्थल पुगेको थियो ।
उद्धारपछि गौतमलाई जिल्ला अस्पताल पुर्याइएपनि चिकित्सकले मृत्यु भइसकेको पुष्टि गरेका थिए । शुक्रबार गौतमको पोस्टमार्टम गरिएको छ ।
प्रतिक्रिया