क्लिनिक सेन्टरको शौचालयमा मृत शिशु फेला

झापाको हल्दिवारी गाउँपालिका १ गोलधाप बजारमा सञ्चालित द नेपाल हेल्थ क्लिनिक एण्ड डाइग्नोस्टिक सेन्टरको शौचालयमा मृत शिशु फेला परेको छ ।

शनिबार दिउँसो सो क्लिनिकको शौचालयमा मृत शिशु फेला परेको हल्दिबारी १ का वडाध्यक्ष देवीबहादुर थापाले बताउनुभयो ।

क्लिनिक आसपासमा जडित सीसीटीभी फुटेजमा एकजना गर्भवती महिला सिटी रिक्सामा आएको र क्लिनिकको बेन्चमा बसेको देखिएको वडाध्यक्ष थापाले जानकारी दिनुभयो ।

तिनै महिलाले शौचालयमा जन्माएर फालेर भागेको हुनसक्ने आशंका गरिएको छ । ती महिलाको खोजी भइरहेको र चाँडै फेला पर्ने विश्वास वडाध्यक्ष थापा व्यक्त गर्नुभएको छ ।