ताजिकिस्तान र अफगानिस्तान विरुद्धको मैत्रीपूर्ण खेलका लागि नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीको बिदाइ

 ताजिकिस्तानमा हुने अफगानिस्तान र घरेलु टोलीविरुद्धको मैत्रीपूर्ण खेलका लागि नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीको बिदाइ गरिएको छ ।

एन्फाले आज काठमाडौंस्थित टिम बसिरहेको होटेलमा पुगेर टोलीको बिदाइ गरेको हो । नेपाली टिम भारत हुँदै ताजिकिस्तान प्रस्थान गर्दैछ । प्रस्थानका लागि टोलीको कागजी प्रक्रिया अन्तिम चरणमा रहेको बुझिएको छ ।

टोलीका अन्तरिम मुख्य प्रशिक्षक नवीन न्यौपानेले अघिल्लो साता नै २३ सदस्यीय टोलीको घोषणा गरिसकेका छन् । ३६ सदस्यीय बन्द प्रशिक्षणमा रहेका खेलाडीबाट अन्तिम टोलीको घोषणा भएको हो ।

२३ खेलाडी, प्रशिक्षण टोली र व्यवस्थापन टोलीसँगै केही जिल्ला तथा क्लबका पदाधिकारी र ३ पत्रकार पनि भ्रमण टोलीमा रहेका छन् । एन्फाले उक्त पूर्ण सूची भने हालसम्म सार्वजनिक गरिसकेको छैन । यसअघि पत्रकार सम्मेलन गर्दै टोली बिदाइ गरिने भएपनि एन्फाले यसपटक भने बिना कुनै सूचना आफ्नै सामाजिक संजालबाट टोली प्रस्थान गर्न लागेको जानकारी दिएको हो ।

नेपालले पहिलो खेल कात्तिक २८ गते ताजिकिस्तान र मंसिर १ गते अफगानिस्तानसँग खेल्नेछ ।

नेपाली राष्ट्रिय फुटबल टोली

गोलकिपर – किरण चेम्जोङ (कप्तान), दीप कार्की र विशाल सुनार

डिफेन्डर – अभिषेक लिम्बु, रोहित चन्द, छिरिङ लामा, विमल पाण्डे, सनिश श्रेष्ठ, अभिषेक वाइबा, रन्दीप पौडेल, अन्जल महर्जन

मिडफिल्डर – रोहन कार्की, मणि लामा, एरिक विष्ट, अरबिन राई (आशिष), भरत खवास, उत्सव राई, मनिष डाँगी, आयुष घलान, सुमित श्रेष्ठ

फरवार्ड – जिलेस्पी जङ्ग कार्की, अञ्जन विष्ट, निराजन धामी