रविका निजी गल्तीमा स्वर्णिम र सुमना किन आफ्नो व्यक्तित्वलाई बलि चढाउँदै छन्?

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले रवि लामिछानेलाई छुटाउन दोस्रो चरणको प्रदर्शन गर्ने निर्णय गरेको छ ।

सशक्त आन्दोलनको नाम दिएर उसले अन्य दलको पनि साथ खोजेको छ । भलै रास्वपालाई उचाल्ने धेरै छन् तर साथ दिने शक्ति प्रायः छैनन् ।

अहिले नेपाली कांग्रेस र नेकपा एमालेको मिलिजुली सरकारको नेतृत्व केपी शर्मा ओलीले गरिरहेका छन् । ओलीको सत्तारोहणबाट सबैभन्दा ठूलो चोट माओवादी र पुष्पकमल दाहाल प्रचण्डलाई परेको छ । ओलीविरुद्ध जुनसुकै हदसम्म जान तयार छन् प्रचण्ड । यति हुँदाहुँदै पनि उनी रविको पक्षमा हुने प्रदर्शनमा ऐक्यबद्धता जनाउन तयार छैनन् । अर्थात् रविको निजी मामिलामा मिसिनुमा उनले राजनीतिक क्षतिबाहेक अरु केही देखेका छैनन् ।

जुनसुकै मुद्दालाई पनि आफ्नो स्वार्थमा प्रयोग गर्न सक्ने धुर्त राजनीतिक खेलाडी प्रचण्ड समेत रविमाथि लागेका आरोपहरुको भारी बोक्न तयार छैनन् भने अरु कुनै शक्तिले रविलाई साथ दिनुपर्ने दरकार छैन । त्यसैले जतिसुकै हारगुहार गरे पनि सडकमा रास्वपा एक्लै हुने निश्चित छ । 

यति हुँदाहुँदै पनि रास्वपाले रविलाई सडकबाटै छुटाउन खोजिरहेको छ । रविमाथि फौजदारी कसुरमा अनुसन्धान भइरहेको छ । रवि राजनीतिमा आउनुअघिका कसुरहरुमा छानबिन चलिरहेको छ । रविमाथिको अनुसन्धान र रास्वपाको त गोरु बेचेको साइनोसमेत छैन । खासमा रवि जुनजुन प्रकरणहरुमा मुछिएका छन्, ती कसुर घटाउँदाका बखत सुमना श्रेष्ठ अमेरिकातिर पढ्दै थिइन् । स्वर्णिम वाग्ले वर्ल्ड बैंकका लागि रिपोर्ट लेख्दै थिए । विराजभक्त श्रेष्ठ र तोसिमा कार्कीहरु राजनीतिका कखरा सिक्दै थिए । अहिले संयोगले उनीहरु एउटा डुंगामा देखिएका मात्र हुन् । न यिनीहरु हिजो सँगै थिए, न भोलि नै सँगै हुनेछन् । यिनीहरू एकै ठाउँमा हुनुपर्ने र भइरहने कुनै आधार र कारण पनि छैनन् ।

जताबाट हेरे पनि रविको उदय काण्डैकाण्डका माध्यमबाट भएको देखिन्छ । जालसाजी र स्टन्टबाजीको घोडा चढी चर्चाको शिखरमा पुगेका छन् उनी । एउटा मात्र होइन अनेक काण्ड छन् उनका । अहिले त सहकारीको विषयमा मात्र छानबिन भइरहेको छ । योसँगै अब उनको आम्दानी, खर्च, कारोबार, सरसंगत सबै छानबिनको घेरामा पर्दै छ । 

अमेरिकाबाट सुकुम्बासीजस्तै गरी नेपाल आएका उनको अस्वाभाविक आर्थिक कारोबारको छानबिनले नै उनलाई अन्त्यहीन मुद्दाको झमेलामा फसाउँदै छ । राहदानीको विषय सरकारी वकिल र प्रहरीबाट मिलाएँ भन्ठानेका होलान् । जुनकुनै बेलामा अदालतबाट ब्युँतिने सम्भावना शत प्रतिशत रहेको छ । यसअघि मोहम्मद आफ्ताब आलमले पनि यसैगरी प्रहरी र सरकारी वकिल मिलाएर ढुक्क भएको भन्ठानेका थिए । अदालतको आदेशमा उनको फाइल खुल्यो र अहिले उनी जेलमा छन् । दशकभन्दा बढी समय उनी जेलमै बिताउने निश्चित छ । यो नजिर रविका हकमा पनि उत्तिकै लागू हुनेवाला छ ।        

यस्तो अवस्थामा रविका नाममा आन्दोलन गर्नु भनेको रास्वपाको बचेखुचेको साख पनि बाग्मतीमा सेलाउनुसरह हो । सुमना श्रेष्ठ र स्वर्णिम वाग्लेलाई वाईसीएलभन्दा अराजक स्तरमा झार्दै जाने हो भने उनीहरु भोलि कन्सल्टेन्सीको काम पनि नपाउने दिन आउनेछ । सहकारी पीडितहरुले बाटाभा भेट्दा लखेट्ने अवस्था त अहिले नै आइसकेको छ । भोलि रास्वपाकै कार्यकर्ताले पनि लखेट्न सक्नेछन् ।

यदि रास्वपालाई र आफ्नो व्यक्तित्वलाई जोगाउनु छ भने स्वर्णिम र सुमनाहरुले भन्न सक्नुपर्छ– रविले गरेका निजी हर्कतहरुको हामी जिम्मा हामी लिन्नौँ । पार्टीले निर्णय गरेर गोर्खा मिडिया चलाउन भनेको थिएन । गोर्खा मिडियामा सहकारीको पैसा लैजाऊ भनेर पनि रास्वपाले भनेको थिएन । जीबी राई र छविलाल बन्जाडेसँग प्रशस्त पैसा भएकाले त्यो पैसा गोर्खा मिडियामार्फत कब्जा गर्नुपर्छ भनेर पनि रास्वपाले भनेको होइन । रवि संलग्न कसुर रास्वपाभन्दा निकै जेठा छन् र ती पार्टी गतिविधिभन्दा निकै पृथक छन् । 

रविले रास्वपालाई आफूमाथिको कारबाही रोक्ने ढाल बनाउने दाउ राखेका छन् भने त्यो बेग्लै कुरा हो । तर रविसँगै सती जाने कि नजाने भन्ने रोजाइचाहिँ अन्य नेताहरुको हो । अदालतको अनुमतिमा भइरहेको छानबिन र थुनछेकको विरोध गर्न नयाँ र संस्कारी भनिएका दलका नेता–कार्यकर्तालाई कसरी सुहाउँछ ? अधिवक्ताको प्रमाणपत्र भिरेर सोविता गौतम कसरी भन्न सकिरहेकी छन् कि रविलाई थुन्न पाइँदैन भनेर । के राजनीतिको खोल ओढेकै भरमा फौजदारी कानुनले छुन पाउँदैन भन्ने भाष्य नै रास्वपा दर्शनको आधार वाक्य हो ?