नागरिकको अर्बाैँ ठगी गरेर फरार जिबीलाई कसले जोगाउँदैछ?
सहकारी खोल्ने। आफू र आफ्ना मान्छे बोर्डमा बस्ने अनि घरजग्गा र मिडियामा लगानी। जिबी ( गितेन्द्रबाबु) राईको धन्दा हो, यो।
यो समूहले सहकारीका बचतकर्ताको १६ अर्बभन्दा बढी रकम दुरुपयोग गर्दै नेटवर्किङ व्यवसाय चलायो। कुनै बेला हर्बो इन्टरनेसनलका साझेदार रहेका जिबीले २०६६ मा गोर्खा ग्रुप अफ कम्पनी खोलेको थिए। सरकारले नेटवर्किङ व्यवसायमा २०६८ मा प्रतिबन्ध लगायो। त्यसपछि नेपालमा हर्वो बन्द गरी त्यही नेटवर्कलाई प्रयोग गरेर देशभर करिब एक दर्जन सहकारी सञ्चालनमा ल्याएका थिए। तिनै सहकारीमा सर्वसाधारणले जम्मा गरेको रकम दुरुपयोग गरी नेचर हर्ब्स, नेचर नेस्टलगायतको नाममा नेपालसहित ७ देशमा नेटवर्किङ व्यवसाय चलाए। यो समूहले पाँच वटा सहकारीबाट ६५ करोड रुपैयाँ गोर्खा मिडियामा लगेको संसदीय छानबिन समितिको प्रतिवेदनमै उल्लेख छ। गोर्खा मिडियामा जिबीका साझेदार रहेका रास्वपा सभापति रवि लामिछाने, प्रहरीका पूर्वडिआइजी छविलाल जोशी अहिले प्रहरी हिरासतमा छन्।
तर, अर्बाै ठगीको नेतृत्व गरेका जिबी भने दुई वर्षदेखि फरार छन्। उनी फरारपछि तीन गृहमन्त्री फेरिएका छन्। तर, कसैले पनि उनलाई पक्राउ गर्न सकेनन्।
नारायणकाजी श्रेष्ठपछि उपप्रधान एवं गृहमन्त्री बनेका रविले त जिबीको लोकेसन नै पत्ता लागिसकेको अभिव्यक्ति गत वर्ष दिएका थिए। गत असारमा गठबन्धन फेरिएपछि उनले विवादित अभिव्यक्ति पनि दिएका थिए, जिबी राईलाई नेपाल झिकाउन मलेसियाका गृहमन्त्रीसँग कुराकानी गरेर प्रक्रिया अगाडि बढाइएको थियो, सरकारबाट हट्नुपर्यो।’
जिबी फरार रहेका बेला प्रश्न उठाउनेमा हालका गृहमन्त्री रमेश लेखक पनि हुन्। उनी गृहमन्त्री भएका साढे चार महिना भइसकेको छ। लेखकले पनि जिबीलाई नेपाल ल्याउने प्रक्रिया अगाडि बढेको बताएका थिए।
तर, मलेसियामा लुकेर बसेका भनिएका जिबीलाई राजनीतिक संरक्षण रहेको आंशका पनि गरिन थालिएको छ।
सूर्यदर्शन सहकारी बचत पीडित संघर्ष समितिकाअध्यक्ष किरण श्रेष्ठले त जीबी राईलाई ल्याउँदा अरु नेता पनि जोडिने डरले सबै दलले जीबीलाई संरक्षण गरेको आरोप लगाए।
समितिले शुक्रबार पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले जीबी राईलाई नेपाल ल्याउँदा रास्वपाको अर्को नेता जोडिने र कांग्रेस, एमालेका ठूला नेता पनि जोडिने देखिएकाले यिनीहरु सबै मिलेर जीबी राईलाई संरक्षण गरेको हो कि जस्तो देखिउको बताए। हुन् पनि जिबी पक्राउ पर्दा रास्वपा, एमाले, कांग्रेस र माओवादी नेताहरुको पोल खुल्ने भय छ।
जिबीका साझेदार रास्वपा सभापति लामिछाने त पक्राउ परिसकेका छन्। तर, उनका कम्पनीमा साझेदार नेताहरु पनि छन्। माओादी नेता पूर्वउपराष्ट्रपति नन्दबहादुर पुन पुत्र दीपेश पनि सहकारी ठगीमा मुछिएका पात्र हुन्। उनी हाल धरौटीमा रिहा भएपनि सुप्रिम सहकारी ठगीको मुद्दा चलिरहेको छ। यो सहकारी ठगीका मुख्य नाइके जिबी हुन्।
प्रतिक्रिया