निरौलाको सुनुवाइका क्रममा कांग्रेस सांसद ढुंगानाले पोखे न्यायाधीश मल्लप्रति आक्रोश
सर्वोच्च अदालतका वरिष्ठतम् न्यायाधीश सपना प्रधान मल्लप्रति सत्तारुढ कांग्रेसका सांसद आनन्दप्रसाद ढुंगानाले आक्रोश व्यक्त गरेका छन् ।
विगतमा राजनीतिक दलका झन्डा बोकेका व्यक्ति सर्वोच्च अदालतको न्यायाधीशको कुर्सीमा बस्दा दुर्भाग्यपूर्ण फैसला गरेको भन्दै सांसद ढुंगानाले आक्रोश व्यक्त गरेका हुन् ।
सर्वोच्च अदालतको न्यायाधीशमा न्याय परिषद्बाट सिफारिस नृपध्वज निरौलाको संसदीय सुनुवाइका क्रममा शुक्रबार सांसद ढुंगानाले न्यायाधीश मल्लको फैसलाको आलोचना गरेका हुन् । गण्डकी प्रदेश सरकारको सम्बन्धमा मल्ल नेतृत्वको इजलासले गरेको फैसलाप्रति लक्षित गर्दै ढुंगानाले न्यायाधीशको कुर्सीमा बस्दा दलको संलग्नता देखिएको बताएका हुन् ।
सर्वोच्चको न्यायाधीश हुँदा मल्लले संसदीय सुनुवाइका क्रममा जनाएको प्रतिबद्धता स्मरण गर्दै सांसद ढुंगानाले न्यायाधीश मल्लको आलोचना गरेका हुन् । 'सबैभन्दा दुर्भाग्य गण्डकीको जुन निर्णय भयो, त्यो निर्णयले धेरै नै पिरोल्यो । जबकी उहाँलाई पनि सुनुवाइ समितिमा भनेको थिएँ, तपाईंले एउटा पार्टीको झन्डा बोकेर बस्नुभएको थियो, हिजोको दिनमा । अब आज तपाईं न्यायपालिकामा आउँदै हुनुहुन्छ, तपाईंले न्याय निष्पक्ष दिन सक्नुहोला र ? भनेर भन्दाखेरि होइन चप्पल खोलेर न्यायपालिकाको कुर्सीमा बस्नुपर्छ भन्नुभयो । मलाई पनि खुसी लाग्यो । चप्पल त खोल्नुभएको होला लागेको थियो तर उहाँले चप्पल खोल्नुभएको रहेनछ ।'
यस्ता विषयमा सर्वोच्च अदालतले न्यायालयको व्यवस्थापन कसरी गर्ने भन्ने प्रश्न उठेको सांसद ढुंगानाको भनाइ थियो । 'गण्डकी सरकारको बारेमा ३० जना भए बहुमत हुन्छ भन्ने फैसला भयो । ६० जना सांसदमा ३० को बहुमत कसरी हुन्छ ? ३१ जना हुनुपर्ने हो । तर निर्णय त ३० मा हुन्छ भन्ने गर्नुभयो । जुन कुराको माग नै गरिएको थिएन निवेदकले । यस्ता निर्णय भएपछि हामीलाई अप्ठ्यारो हुन्छ,' सांसद ढुंगानाले भने ।
गत वैशाख १७ मा न्यायाधीशद्वय सपना प्रधान मल्ल र शारङ्गा सुवेदीको इजलासले गण्डकीमा ६० मा ३० जना सांसदको संख्या जुटेमा बहुमत पुग्ने र सरकार गठन हुनसक्ने फैसला दिएको थियो । तत्कालीन प्रमुख प्रतिपक्षी दल कांग्रेसका नेता सुरेन्द्रराज पाण्डेले दायर गरेको रिट खारेज गर्दै मल्ल र सुवेदीको इजलासले सभामुखलाई मतदानबाट अलग गर्दा पनि गण्डकी प्रदेशसभा ५९ सदस्यीय रहने र त्यस अनुसार ३० जना सांसदले बहुमत पुग्ने ब्याख्या गरेको थियो । जबकी सरकार गठनमा दुवै पक्षमा बराबर सांसद रहेमा सभामुखले मतदान गर्न पाउँछन् ।
सांसद ढुंगानाले पञ्चायतकालमा पनि न्यायालयप्रति जनविश्वास रहेको बताउँदै पछिल्लो समयमा यस्तै गतिविधिले अदालतप्रति विश्वास कम हुँदै गएको बताए । 'हामीले के देखेका छौं भने न्यायपालिकाप्रति बहुत विश्वास छ । पञ्चायतकालमा पनि विपी कोइरालाको साथीहरू यज्ञबहादुर थापा, भीमनारायण श्रेष्ठलाई फासी दिँदैगर्दा, गोली हान्दैगर्दा उहाँ (विपी कोइराला)लाई बीबीसीमा सोध्यो कि तपाईंका साथीहरूलाई त सरकारले हानिसक्यो तपाईं त्यै मुद्दामा हुनुहुन्छ र नेपाल फर्किँदै हुनुहुन्छ, तपाईंलाई पनि त्यो हुनसक्छ नि ? भन्दाखेरि विपीले के भन्नुभएको छ भने हैन न्यायपालिकामा मलाई विश्वास छ । न्यायालयले न्याय दिन्छ मलाई जे गर्छ न्यायका रूपमा लिन्छु भनेर देश आउनुभयो । प्रतिबन्धित कालमा पनि मुद्दाहरू न्यायपूर्ण रूपमा भएका छन्,' ढुंगानाले भने ।
शक्ति पृथकीकरण र लोकतान्त्रिक व्यवस्थामा विश्वास राख्नेहरूले न्यायालयप्रति विश्वास राख्ने तर अदालतका यस्ता कार्यले विश्वासमा ह्रास ल्याउने ढुंगानाको भनाइ थियो ।
प्रतिक्रिया