मध्यपुर महोत्सव पुस दोस्रो साता
मध्यपुरथिमि नगरपालिकाको आयोजनामा आगामी पुस १२ देखि १४ गतेसम्म मध्यपुर महोत्सव–२०८१ सञ्चालन हुने भएको छ । आज यहाँ आयोजित पत्रकार सम्मेलनमा नगर प्रमुख सुरेन्द्र श्रेष्ठले मध्यपुरथिमिमा आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षण गर्नका लागि महोत्सवको आयोजना गर्न लागिएको बताउनुभयो ।
उहाँले भन्नुभयो, “भक्तपुर, चाँगुनारायण, धुलिखेल, जिरीजस्ता लोकप्रिय पर्यटकीय गन्तव्यहरूको स्वागतद्वारका रुपमा रहेको मध्यपुरथिमि नगरपालिका पुरातात्त्विक एवम् सांस्कृतिक सम्पदाले भरिपूर्ण छ, त्यसैले यहाँ आन्तरिक तथा बाह्य पर्यटकलाई मध्यपुरथिमि नगर भित्रयाउन महोत्सवको आयाजना गर्न लागेको हौँ ।”
मध्यपुरथिमिमा रहेको थिमि, बोडे, नगदेश जस्ता लिच्छविकालीन बस्तीका साथै टिगनी, निकोसेरा, लाहकन्थलीलगायतका ऐतिहासिक बस्तीहरू रहेको नगरको ऐतिहासिक कला, पुरातात्विक सम्पदा, संस्कृति, परम्परागत पेशा, मूर्त तथा अमूर्त मौलिक कला र जीवनशैलीले पर्यटकीय आकर्षण बढ्दै गएको उहाँले बताउनुभयो ।
उहाँले भन्नुभयो, “मध्यपुरथिमि नगरपालिका क्षेत्रमा करिब सात सय ५० वटा साना र ठूला मूर्त सम्पदा छन् भने एक सयभन्दा बढी अमूर्त सम्पदा छन् । यस नगरपालिकाको ३२ खटको विस्काजात्रा, म्ये प्वाः खनिगु (जिब्रो छेड्ने) जात्रा, लोकेश्वर जात्रा, द्यःप्याखं (नीलबाराही गण नाच) जात्रा, पुलुकिसि जात्रा, महाकाली नाच, भैलः जात्रा, भतिमाली प्याखें (इन्द्र अप्सरा नाच) विशेष रूपले चर्चित रहेका छन् ।”
मध्यपुरथिमिलाई हरियो तरकारी, माटोको भाँडाकुँडा, मुकुण्डो, ढिकीबजी जस्ता परम्परागत पेशा र उत्पादनले सुपरिचित बनाएको भन्दै उहाँले आधुनिकीकरणतर्फ द्रुत गतिमा अग्रसर रहेर पनि यस नगरले आफ्नो कला, संस्कृति, पेसा, मनोरम प्राकृतिक सौन्दर्य, सम्पदा र परम्परागत जीवनशैलीलाई जिवन्त राख्न महोत्सव सफल हुने बताउनुभयो ।
स्थानीय सम्पदालाई रोजगारी एवम् आयआर्जनसँग जोडेर स्थानीय अर्थतन्त्रलाई थप बलियो बनाउने अवधारणा स्वरुपमा मध्यपुर महोत्सव २०८१ को आयोजना गर्न लागेको नगर प्रमुख श्रेष्ठले बताउनुभयो ।
महोत्सवलाई सभ्य र भव्यरुपमा सम्पन्न गर्न करिब रु दुई करोड खर्च हुने अनुमान गरिएको छ । महोत्सवमा करिब पाँच लाखले अवलोकन गर्ने अपेक्षा गरिएको छ ।
प्रतिक्रिया