दुई पटक कारागारबाट भागेका कैदी समात्न प्रहरीले चलायाे गोली
दुई पटक कारागारबाट भागेका एक कैदीलाई सुनसरी प्रहरीले गोली हानेर पक्राउ गरेको छ ।
२०६५ सालमा एक व्यक्तिको हत्यामा दोषी देखिएका सुनसरीको इनरुवा नगरपालिका-१० वलाहाका चन्द्रशेखर भनिने विनायककुमार यादवलाई बिहीबार सुनसरी प्रहरीले गोली हानेर पक्राउ गरेको हो ।
विनायककुमार र श्याम भन्ने श्यामकुमार यादवले २०६५ साल वैशाख १६ गते सुनसरीको साविक प्रकाशपुर–६ का ३९ वर्षीय केशव कार्कीको गोली हानी हत्या गरेका थिए । सो घटनापछि प्रहरीले विनायकलाई एक थान पेस्तोल र ११ राउण्ड गोलीसहित पक्राउ गरेको थियो । यादवलाई जिल्ला अदालत सुनसरीले कर्तव्य ज्यान मुद्दामा २० वर्ष ८ महिना १४ दिन कैद फैसला सुनाएको थियो ।
अदालतको फैसलापछि थुनामा रहेका विनायक २०६९ साल कात्तिक २३ गते राति झुम्का कारागारबाट सुरुङ खनेर भागेका थिए । उनीसहित अन्य १२ जनासमेत कारागारबाट भागेका थिए । लगतै सप्तरीको गोबरगाडाबाट पक्राउ परेका उनलाई सिन्धुपाल्चोक कारागारमा कैद भुक्तानीको लागि पठाइएको थियो । तर उनी २०७२ वैशाख १२ गतेको भूकम्पका बेला फेरि पनि कारागारबाट भागेर भारत गएका थिए । मधेशी मुक्ती टाइगरको नामबाट पनि आपराधिक गतिविधि गर्ने यादव भारतको सुपोलस्थित दिदीको घरमा गएर बसेका थिए ।
छठ पूजाका लागि विहीबार नेपाल आउँदै गर्दा उनलाई प्रहरीले पक्राउ गरेको हो । बिहीबार कोशी गाउँपालिका–८ स्थित पथरचट्टान भन्ने ठाउँबाट विनायक यादवलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता डिएसपी रामप्रसाद तिम्सिनाले जानकारी दिएका छन् ।
पक्राउ गर्ने क्रममा भाग्न खोजेपछि प्रहरीले घुँडामुनि ताकेर एक राउण्ड गोली चलाएको थियो । तर उनलाई गोली भने लागेन । गोली चल्दा आत्तिएर लडेका यादवलाई प्रहरीले नियन्त्रणमा लिई शुक्रबार पत्रकार सम्मेलनमार्फत् सार्वजनिक गरेको हो ।
यादवलाई बाँकी सजाय भुक्तानका लागि कारागार चलान गरेको प्रहरीले बताएको छ । उनले अब भुक्तान हुन बाँकी रहेको सजायको डेढी सजाय भोग्नु पर्नेछ ।
प्रतिक्रिया