हवाई भाडा दोब्बरभन्दा बढी वृद्धि ,वैदेशिक रोजगारीमा जाने श्रमिक मारमा
काठमाडौँ, २३ कात्तिकः हवाई कम्पनीहरूले दोब्बरभन्दा बढी भाडा वृद्धि गरेसँगै नेपालबाट वैदेशिक रोजगारीमा जाने श्रमिक मारमा परेका छन् । दिनको १५ सय नेपाली रोजगारीका लागि हवाई मार्ग हुँदै बिदेसिने गरेका छन् ।
त्रिभुवन विमानस्थल कार्यालयले धावनमार्ग विस्तारका लागि विमानस्थल सञ्चालन समय घटाएपछि विदेशी वायुसेवा कम्पनीले काठमाडौं उडानमा कटौती गरेका छन् । यसको प्रत्यक्ष असर हवाई भाडामा परेको हो ।
धावनमार्ग विस्तारसम्बन्धी निर्माणका लागि त्रिभुवन विमानस्थल शुक्रबार (कात्तिक २३) देखि चैत १८ सम्म राति १० पछि बिहान ८ बजेसम्म दैनिक १० घण्टा बन्द रहने जनाएको छ । यसले अन्तर्राष्ट्रिय उडानमा व्यापक कटौती भएको हो । दिल्ली, दुबई, दोहा, साउदी, कुवेत, क्वालालम्पुरलगायतका गन्तव्यको हवाई भाडा अत्यधिक बढेको छ । त्यसको प्रत्यक्ष मारमा नेपाली श्रमिक परेका हुन् ।
सरकारले लागू गरेको ‘फ्री भिसा, फ्री टिकट’ को नीति सबै रोजगारदाताले पूर्ण रूपमा लागू नगर्दा धेरैजसो श्रमिकले हवाई भाडा वृद्धिको मार खेप्नुपरेको छ । खाडी र मलेसियामा करिब ४ प्रतिशत श्रमिक मात्र शून्य लागतमा गइरहेका छन् । खाडी तथा मलेसिया उड्न हवाई कम्पनीले सामान्यतः ३० देखि ३५ हजार रुपैयाँमा नियमित टिकट उपलब्ध गराउँदै आएका थिए । अहिले यो टिकटको मूल्य ७० देखि ९० हजार रुपैयाँ रहेको श्रमिकहरूको गुनासो छ ।
नेपालीको रोजगारीका प्रमुख गन्तव्यहरू सबैको हवाई भाडामा अत्यधिक बृद्धि भएको छ । दुबईको भाडा बढेर ८० हजार पुगेको छ । जबकि यसअघि कामदारले दुबईका लागि ३० देखि ३५ हजार मात्र तिरे पुग्थ्यो । साउदी अरबका रियाद र दमामका लागि एकतर्फी भाडा ४० देखि ४५ हजार रहेकोमा बढेर ८० हजारभन्दा माथि पुगेको छ । त्यस्तै नेपालीको वैदेशिक रोजगारीको प्रमुख गन्तव्य मलेसियाको क्वालालम्पुरको एकतर्फी भाडा ३५ हजार मात्र रहेकोमा त्यो बढेर भाडा औसतमा ६५ हजार पुगेको छ । कुवेतको भाडा ४५ हजार रहेकोमा १ लाख नाघेको छ । त्यस्तै दोहाको भाडा ३५–४० हजार रहेकोमा त्यो बढेर ८० हजार बढी छ ।
भाडा वृद्धिले वैदेशिक रोजगारमा जाने श्रमिकको लागत शुल्क थप बढाएको छ । ‘पहिला हवाई शुल्क सस्तो थियो, नेपालबाट ३० हजारमै दुबई उड्न पाइन्थ्यो । अहिले टिकट पाउनै मुस्किल छ । यो पटक ८५ हजार तिर्नुपर्यो,’ इटहरीका श्याम थपलियाले भने ।
वैदेशिक रोजगार ऐन २०६४ को दफा २२ अनुसार वैदेशिक रोजगारीमा जाने श्रमिकले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उड्नुपर्ने बाध्यकारी व्यवस्था छ । तेस्रो मुलुकको विमानस्थल ट्रान्जिट मात्र प्रयोग गर्न पाइन्छ । दिल्लीबाट उड्नका लागि नेपाली दूतावासबाट ‘एनओसी’ लिनुपर्छ ।
सीमित एयरलाइन्स कम्पनीको मिलेमतोमा कृत्रिम अभाव सिर्जना गरी कालोबजारीमार्फत अस्वाभाविक रूपमा टिकटको मूल्यवृद्धि गरेको नेपाल वैदेशिक रोजगार व्यवसायी संघको आरोप छ । ‘त्रिभुवन विमानस्थल स्तरोन्नतिको बहानामा एयरलाइन्स कम्पनीहरूले टिकटको कालोबजारी गरे, यसको प्रत्यक्ष मार वैदेशिक रोजगारीमा जाने श्रमिक परेका छन्,’ संघका अध्यक्ष राजेन्द्र भण्डारीले भने ।
व्यवसायीका अनुसार हवाई भाडाको अत्यधिक वृद्धिले कतिपय रोजगारदाता पछाडि हट्न थालेका छन् । ‘केही राम्रा कम्पनी छन्, जसले टिकट दिन्छन् । तर हवाई भाडा दोब्बर परेपछि उनीहरूले निश्चित रकम मात्र बेहोर्छन्,’ उनले भने, ‘रोजगारदाता कम्पनीले टिकट खर्च नबेहोर्दा यसको भार श्रमिकले बेहोर्नुपर्ने निश्चित छ ।’
भारत, बंगलादेश, श्रीलंका र पाकिस्तानबाट खाडी तथा मलेसिया उड्ने हवाई भाडा कम छ । दिल्लीबाट दुबईको हवाई भाडा २६ हजारदेखि ३० हजार रुपैयाँ, बंगलादेशबाट २३ हजारदेखि २६ हजार रुपैयाँसम्म मात्र छ । तर, पछिल्ला दिनमा काठमाडौं–दिल्लीको भाडामा भएको अस्वाभाविक बृद्धिले नेपाली कामदारहरूलाई दिल्ली हुँदै वैदेशिक रोजगारीमा जान पनि महँगो पर्ने देखिन्छ । दिल्लीको १० देखि १५ हजार रुपैँयासम्म रहेको एकतर्फी भाडा बढेर कम्तीमा ४० हजार पुगेको छ ।
हवाई टिकटको मूल्यवृद्धिले नेपालबाट वैदेशिक रोजगारीमा जाने श्रमिकका लागि आर्थिक रूपमा कठिनाइ भएको सुरक्षित आप्रवासन सञ्जालका अध्यक्ष चिरञ्जीवी बराल बताउँछन् । ‘हवाई भाडा जथाभावी वृद्धि हुँदा विदेश जाने श्रमिकको लागत वृद्धि हुन्छ, उनीहरूमाथि थप ऋणको बोझ पर्छ, परिवारमा थप आर्थिक तनाव निम्त्याउँछ,’ उनले भने ।
राष्ट्रिय मानवअधिकार आयोगले हवाई भाडाको वृद्धिदरलाई आफ्नो जानकारीमा राखेको जनाएको छ । ‘सरकार र उड्डयन अधिकारीले निगरानी र नियन्त्रण प्रणालीलाई प्रभावकारी बनाउनुपर्छ,’ आयोगका सचिव मुरारीप्रसाद खरेलले भने, ‘यसलाई नियन्त्रण गर्न सरकारी निकायले कडा कदम चाल्न, पारदर्शिता र उपभोक्ता अधिकारको सुरक्षा गर्न आवश्यक छ ।’
प्रतिक्रिया