रास्वपा केन्द्रीय समितिको बैठक बस्दै

सहकारी प्रकरणमा आफ्ना सभापति रवि लामिछाने प्रहरीको हिरासतमा पुगेपछि तनावमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठक आज (शुक्रबार) काठमाडौँमा बस्दै छ। 

 

पार्टीका कार्यवाहक प्रवक्ता मनीष झाका अनुसार बैठक अहिले बिहान साढे ११ बजे रास्वपा केन्द्रीय कार्यालय (वनस्थली) मा बस्ने भएको हो।

पाँच एजेन्डामा छलफल गर्न बैठक राख्न लागिएको उनले जानकारी दिए।

उनका अनुसार आज बस्ने रास्वपा केन्द्रीय समितिको बैठकका लागि तय गरिएका ५ एजेन्डा यस्ता छन्: 

१. समसामयिक राजनीतिक गतिविधि

२. पार्टीको सांगठनिक गतिविधि

३. आगामी राजनीतिक सहकार्यका न्यूनतम मुद्दाहरू र संघर्षका मोडालिटी

४. स्थानीय तह उपनिर्वाचन परिचालन

५. विविध

हाल कास्की प्रहरीको हिरासतमा रहेका पार्टी सभापति लामिछानेको रिहाइ माग गर्दै आन्दोलनरत रास्वपाले आगामी मंसिर १६ गते हुने स्थानीय तहको उपनिर्वाचनका लागि पनि तयारी गरिरहेको छ।