प्रधानमन्त्रीको चीन भ्रमण अघि पोखरा विमानस्थलमा चिनियाँ विमानको उडानको अर्थ के ?

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा १७ महिनापछि अन्तर्राष्ट्रिय उडान भएको छ। विमानस्थल सञ्चालनमा आएको दुई वर्षमा योसहित दुई पटक मात्र अन्तर्राष्ट्रिय उडान भएको छ, यी दुबै उडान चीनबाट भएका हुन्। 

चीनको ऋण लगानीमा निर्माण भएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा व्यवसायिक उडान अझै हुन सकेको छैन। तर, प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न चीन भ्रमण अघि चीनको सिचुवान एयरलाइन्सले १७ महिनापछि बिहीबार दोश्रो अन्तर्राष्ट्रिय उडान गनुको भने अर्थ छ। किनकी यो विमानस्थल भू राजनीतिसँग पनि जोडिएको छ। चीनको ऋण लगानी रहेकाले विश्वको चासा छ भने आफ्नो देशको ऋण लगानी रहेकाले चीनलाई पनि जसरी पनि सफल बनाउनुपर्ने दबाबमा छ। त्यही भएर बिहीबार भएको उडानका लागि चिनियाँ राजदूत काठमाडौंबाट आफै पोखरा पुगेका थिए।

नेपालको रणनीति भने छुट्टै छ।  चीनले यो विमानस्थलमा बेल्ट एण्ड रोड इनिसियटिभ (बिआरआई) अन्तर्गतको लगानी रहेको बताउँदै आएको छ। नेपालमा भने उच्च ब्याजदरमा प्रतिफल नदिने विमानस्थल बनाइएको भन्दै आलोचना हुने गरेको छ। यो अवस्थामा सरकारको रणनीति रहेको छ, ऋणलाई अनुदानमा बदल्न अनुरोध गर्ने।

चार महिना अघि प्रधानमन्त्री बनेका ओली आगामी मंसिर दोस्रो साता चीन भ्रमणमा जाँदैछन्। प्रधानमन्त्री ओलीको चीन भ्रमणको पहिलो एजेण्डा नै पोखरा विमानस्थलको ऋणलाई अनुदानमा रूपान्तरण गर्न चीन सरकारसँग आग्रह गर्ने रहेको छ।
 

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्दा ३३ अर्ब ऋण लागेको छ। सरकारले चीनको एक्जिम बैंकलाई विमानस्थल निर्माण गर्दा लागेको ऋण तिर्न सकेको छैन। एक्जिम बैंकले २.५ प्रतिशत ब्याजदरमा २१ करोड ६० लाख अमेरिकी डलर ऋण उपलब्ध भएको थियो।  हरेक वर्ष १ अर्ब रूपैयाँ तिर्नुपर्ने अवस्था छ।

तर, तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले दुई वर्षअघि उद्घाटन गरेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट व्यवसायिक अन्तर्राष्ट्रिय उडान हुन नसक्दा आम्दानी न्यून छ। जसकारण बैंकको ऋणको किस्ता समेत तिर्न सकेको छैन।