वर्णन मिडिया र्विफिङ : आज दिनभरका खबरहरु
विपक्षीको समाजवादी मोर्चा कोमामा रहेका बेला कांग्रेस-एमालेले बनाए राजनीतिक संयन्त्र
माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आफू प्रधानमन्त्री रहेका बेला बनाएका थिए, समाजवादी मोर्चा। यो मोर्चा बनाउदा कांग्रेस र माओवादीसहितको गठबन्धन थियो। तर, सरकारमा रहेका बेला एमालेबाहेक कम्युनिष्ट दलको मोर्चा बनेपछि कांग्रेस नेताहरु झस्किए। कांग्रेस घेर्न मोर्चा बनेको टिप्पणी चलेपछि यो मोर्चा खासै सक्रिय भएन । तर, गत असारमा गठबन्धन फेरिएर एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री बनेपछि प्रचण्डले मोर्चा ब्यू्ताउने प्रयास गरे। तर, मोर्चामा रहेका चार दलबीचको मुद्दा नै तालमेल नहुँदा कोमामा पुगेको छ। प्रचण्ड यही मोर्चालाई देखाएर सरकारसँग बार्गेनिङ गर्ने मुडमा छन्।
https://barnanmedia.com/news/detail/201996/
घले र महतोलाई साक्षी राखी मन्त्री राणाले जनाइन् एनआरएनएमा हस्तक्षेप नगर्ने प्रतिबद्धता
परराष्ट्रमन्त्री डा आरजु राणाले गैरआवासीय नेपाली संघमा देखा परेको सबैखाले समस्याको हल कानून बमोजिम नै खोज्ने बताउनुभएको छ । मन्त्रालयमा आज एनआरएनका अभियन्ताहरुसँगको छलफलमा मन्त्री राणाले भन्नुभयो्, ‘तपाईँहरू मिल्नूस्। कानुनबमोजिम अगाडि बढ्नुहोस्। मन्त्रालयले एनआरएनएमा हस्तक्षेप गर्ने होइन, सधैँ सहजकर्ताको भूमिका खेल्छ ।’ मन्त्री राणाले एनआरएनएलाई लिएर पछिल्लो समय भइरहेको टीकाटिप्पणीले आफू स्वयंलाई पनि नराम्रो लागेको बताउँदै सबै एकैसाथ एकताबद्ध भएर अघि बढ्न आवश्यकता रहेको उल्लेख गर्नुभयो ।
https://barnanmedia.com/news/detail/201959/
उपनिर्वाचनका लागि उम्मेदवारकाे टुंगो लगाउन माओवादीले बोलायाे पदाधिकारी बैठक
नेकपा माओवादी केन्द्रले मंसिर १६ गते हुने उपनिर्वाचनका लागि उम्मेदवार टुंगो लगाउन पदाधिकारी बैठक बोलाएको छ । पार्टी मुख्यालय परिसडाँडामा भोलि बिहान ११ बजे बैठक बस्ने उपाध्यक्ष तथा प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए । उपनिर्वाचन हुने सबै स्थानीय तहमा भोलिको बैठकले उम्मेदवार चयन गर्ने उनले बताए । माओवादीले कीर्तिपुर नगरपालिकाको मेयर र दुई वडाध्यक्ष पदमा यसअघि नै उम्मेदवार छनोट गरिसकेको छ । त्यस्तै, दोलखाको गौरीशंकर गाउँपालिकाको उपाध्यक्ष उम्मेदवार पनि टुंगो लगाएको छ ।
रुसद्वारा युक्रेनीहरूको ‘विनाश’ रोक्न पश्चिमलाई वार्तामा प्रवेश गर्न माग
किएभले रातभर ठूलो मात्रामा ड्रोन आक्रमणलाई रोकेका कारण रुसले बिहीबार युक्रेनीहरूमाथि भएको क्रूर आक्रमण रोक्नका लागि मस्कोसँग वार्ता गर्न किएभका सहयोगीहरूलाई माग गरेको छ । किएभमा एएफपी पत्रकारहरूले रातभर युक्रेनी वायु रक्षा एकाइहरूले रूसी ड्रोनहरूलाई खसालेको सुने भने हवाई आक्रमणको साइरन सहरभर गुञ्जिएको थियो । रूसको सुरक्षा परिषद्का प्रमुख सर्गेई शोइगुले पश्चिमले युद्धमा मस्कोसँग वार्ता गर्न वा युक्रेनको जनसङ्ख्याको निरन्तर ‘विनाश’ बीचको विकल्पको सामना गर्नुपर्ने भन्दै वार्ताको आह्वान गर्नुभयो ।
किशोरी बेपत्ता प्रकरण : प्रहरी हवल्दार जोशी पुर्पक्षका लागि कारागार चलान
बैतडीको पञ्चेश्वर गाउँपालिका–२ डिम्मरकी १७ वर्षीया किशोरी बेपत्ता भएको एक महिना पुग्न लाग्दा पनि अझै उनको अवस्था अज्ञात छ। गत असोज २५ गते बिहानदेखि बेपत्ता किशोरीको अझै अत्तोपत्तो चलेको छैन। उनी हराएको आज २७ दिन बितिसक्दा पनि प्रहरीले कुनै संकेत नपाएको हो। ती किशोरीलाई बेपत्ता पारेको आरोप लागेका महाकाली प्रहरी चौकीका प्रहरी हवल्दार कृष्णराज जोशी पुर्पक्षका लागि कारागार चलान भएका छन्। किशोरी परिवारले व्यक्ति बेपत्ता पार्ने कसुुरमा किटानी जाहेरी दिएपछि प्रहरीले अनुसन्धान सकेर जिल्ला अदालत पुर्याएको थियो। १३ कार्तिकमा अदालतले जोशीलाई पुर्पक्षका कारागार चलान गरेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक बलराम पाण्डेयले बताए।
प्रधानन्यायाधीश राउतद्वारा छठी माताको पूजा
प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले छठी माताको पूजा अर्चना गर्नुभएको छ । आज साँझ थापाथलीस्थित बागमती किनारमा निर्माण गरिएको छठ पूजा स्थलमा पुगेर उहाँले छठी माताको पूजा गर्नुभएको हो । प्रधानन्यायाधीश राउतले सो स्थानमा राखिएको छठी माताको प्रतिमामा माल्यार्पण गर्नुका साथै नदी किनारमा अस्ताउँदो सूर्यलाई अघ्र्य दिनुभएको थियो । प्रधानन्यायाधीश राउतलाई ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जन, छठ पूजा समिति थापाथली (हाल कुपण्डोल) का संयोजक सतीशकुमार झालगायतले स्वागत गर्नुभएको थियो ।
शौचालय नजिकै झाडीमा १० दिने शिशु फाल्ने आमा प्रहरी नियन्त्रणमा
मकवानपुरको उत्तरी क्षेत्र थाहा नगरपालिकामा सार्वजनिक शौचालय नजिकै झाडीमा १० दिने शिशु फाल्ने आमालाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीले झापाको अर्जुनधारा नगरपालिका–६ घर भई हाल काठमाडौँ बस्दै आएकी २८ वर्षीया मेनुका धिताललाई नियन्त्रणमा लिएको हो । उनले थाहा नगरपालिका धारापानीस्थित दिदीको घरमा आएको बेला आफ्नो १० दिने शिशु (बालक)लाई झाडीमा फालेको स्वीकार गरेको प्रहरीले जनाएको छ । उनलाई प्रहरीले दिदीको घरबाटै नियन्त्रणमा लिएको हो ।
सभापति देउवाद्वारा छठी माताको पूजा
नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले छठी माताको पूजा अर्चना गर्नुभएको छ । आज साँझ थापाथलीस्थित बागमती किनारमा निर्माण गरिएको पूजा स्थलमा पुगेर उहाँले छठी माताको पूजा गर्नुभएको हो । सभापति देउवाले सो स्थानमा राखिएको छठी माताको प्रतिमामा माल्यार्पण गर्नुका साथै नदी किनारमा अस्ताउँदो सूर्यलाई अघ्र्य दिनुभएको हो । सभापति देउवालाई ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जन र छठ पूजा समिति थापाथली (हाल कुपण्डोल) का संयोजक सतीशकुमार झाले स्वागत गर्नुभएको थियो । छठ पर्वको मुख्य दिन आज अस्ताउँदो सूर्य र भोलि उदाउँदो सूर्यलाई अघ्र्य दिइ पूजा गरिन्छ ।
पोखरा विमानस्थलमा आठौँ पटक अन्तर्राष्ट्रिय उडान
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा चीनको सिचुवान एयरलाइन्सले दोस्रो पटक चार्टर्ड उडान गरेको छ । पोखरा विमानस्थल उद्घाटन भएको दुई वर्षको अवधिमा सिचुवान एयरलाइन्सले दोस्रो पटक चार्टर्ड उडान गरेको हो । योसहित पोखरा अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटनपछि हालसम्म आठौँ पटक अन्तर्राष्ट्रिय उडान भएको छ ।पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका सूचना अधिकारी जसोदा सुवेदीका अनुसार सिचुवान एयरलाइन्सको एयरबस ३१९ विमान एक सय २० यात्रुसहित आज दिउँसो २ बजे पोखरा अवतरण गरेर ३ बजेर ४० मिनेटमा चीनको कुनमिङ उडेको थियो । यद्यपि, यो विमानस्थलमा विभिन्न चार्टर्ड उडान भएपनि अहिलेसम्म व्यावसायिक नियमित उडान हुनसकेको छैन ।
मागेको सूचना नदिने सहकारी संस्थाका प्रमुखलाई १० हजार जरिवाना
मागेको सूचना उपलब्ध नगराउने एक सहकारी संस्थाका प्रमुखलाई राष्ट्रिय सूचना आयोगले १० हजार जरिवाना गराएको छ । आयोगबाट धेरै पटक चेतावनीयुक्त आदेश जारी गर्दा पनि गैरजिम्मेवार चरित्र प्रदर्शन गर्ने सल्लाघारी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड न्यूरोड काठमाडौँका कार्यालय प्रमुख महेन्द्रचंग लामिछानेलाई १० हजार जरिवाना गरिएको हो । उनलाई सूचनाको हक सम्बन्धी ऐन, २०६४ को दफा ३२ को उपदफा १ बमोजिम १० हजार जरिवाना गरिएको आयोगले जनाएको छ ।
ट्रम्पले रुस र युक्रेनबिच युद्ध रोक्न सफल भए विश्वको हिरो बन्ने छन् : गोपाल खनाल
नेकपा (एमाले) विदेश विभागका सदस्य गोपाल खनालले रुस र युक्रेनबिच जारी रहेको युद्ध रोक्न सफल भएमा डोनाल्ड ट्रम्प अमेरिकी राष्ट्रपति मात्रै नभएर विश्वको हिरो बन्ने बताएका छन् । अमेरिकाको ४७ औँ राष्ट्रपतिमा ट्रम्प निर्वाचित भएसँगै नेपालको राजनीतिक, आर्थिक, कूटनीतिक क्षेत्रमा पर्न सक्ने प्रभावका बारेमा रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कार कार्यक्रमलाई सम्बोधन गर्दै उनले रुस–युक्रेन र इजरायल, प्यालेस्टाइनबिच रहेको युद्धको अन्य गर्न सफल भएमा ट्रम्प विश्वमा ऐतिहासिक राष्ट्रपति बन्ने बताएका हुन् ।
महाबु गाउँपालिकाको अध्यक्ष पदमा कांग्रेसले झलक भण्डारीलाई उम्मेदवार बनाउने
आउँदो १६ मंसिरमा हुने स्थानीय तहको उपनिर्वाचनका लागि नेपाली कांग्रेसले दैलेखको महाबु गाउँपालिकाको अध्यक्ष पदको उम्मेदवार टुंगो लगाएको छ । जिल्ला संसदीय समितिको बिहीबारको बैठकले झलकबहादुर भण्डारीलाई उम्मेदवार बनाउने निर्णय गरेको हो । कांग्रेसबाट अध्यक्षका लागि १५ जना आकांक्षी थिए । भण्डारीलाई सर्वसम्मतरूपमा अध्यक्ष पदको उम्मेदवार बनाइएको कांग्रेस दैलेख सभापति मणिराम रेग्मीले जानकारी दिए । यसअघि महाबु गाउँपालिकाका अध्यक्षमा कांग्रेसका लक्षुमण गुरुङ निर्वाचित भएका थिए ।
मनाङमा यात्रुवाहक जिप दुर्घटना
मनाङको नासो गाउँपालिका–३ स्थित धारापानीमा एक यात्रुवाहक जिप दुर्घटनामा परेको छ। पोखराबाट मनाङ घुम्न जाँदै गरेका ९ जना यात्रु सवार ग १ ज ६९४२ नम्बरको जिप बिहीबार दिउँसो करिब २ बजेतिर धारापानी प्रहरी चौकी नजिकै दुर्घटना भएको हो। जिल्ला प्रहरी कार्यालय मनाङका इन्चार्ज राजेन्द्र केसीका अनुसार जिपमा सवार सबै यात्रु स्याङ्जाका बासिन्दा हुन्। उनीहरु पोखराबाट जिप रिजर्भ गरी खान्सारतर्फ जाँदै थिए। इन्चार्ज केसीले सबै यात्रुहरू सकुशल रहेको जानकारी दिए। ‘चालकसहित जिपमा ९ जना सवार हुनुहुन्थ्यो। सबै सकुशल नै हुनुहुन्छ। हामी घटनास्थलमै छौं। अहिले जेसीबीको सहयोगमा जिप निकाल्ने काम भइरहेको छ।’ उनले नागरिक न्युजसँग भने।
‘नागरिकमा देखिएको निरासा हटाउने काममा सरकार लागिपरेको छ’ : ज्ञवाली
नेकपा (एमाले) का उपमहासचिव प्रदीप ज्ञवालीले नागरिकमा देखिएको निराशा हटाउने काममा सरकार लागिपरेको बताउनुभएको छ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) रेसुङ्गा नगरपालिकाको दोस्रो नगर अधिवेशनलाई सदरमुकाम तम्घासमा सम्बोधन गर्दै उपमहासचिव ज्ञवालीले चार महिनाको अवधिमा सरकारले महत्वपूर्ण कामको थालनी गरेको उल्लेख गर्नुभयो । राजनीतिक अस्थिरता अन्त्य गर्न, ओरालो लागेका अर्थतन्त्रलाई माथि उकास्न तथा सुशासन कायम गर्ने प्रयासमा सरकार रहेको उहाँको भनाइ थियो ।
चलचित्र ‘पूर्ण बहादुरको सारङ्गी’एक साताको कमाइ ८ करोड २५ लाख
कात्तिक १५ गतेबाट प्रदर्शनमा रहेको चलचित्र ‘पूर्ण बहादुरको सारङ्गी’ले ८ करोड २५ लाख ग्रसकलेक्सन गरेको छ निर्माण कम्पनी सेभेन सिस सिनेमाका अनुसार चलचित्रको यो कलेक्सन पहिलो सातासम्मको हो ।आक्रामक कलेक्सन गरिरहेको चलचित्रले पाँच दिनमै लगानी सुरक्षित गरिसकेको छ । यसअघि यो चलचित्रले पाँच दिनमा चार करोड ८७ लाख रुपैयाँ ग्रसकलेक्सन गरेको थियो । एक करोड ३० लाख रुपैयाँमा निर्माण भएको ‘पूर्ण बहादुरको सारङ्गी’को निर्माणपक्ष लगानी उठाएर नाफामा समेत गइसकेकाे छन् । कूल शोको ५० प्रतिशतभन्दा धेरै शोसहित अहिले यो चलचित्र नेपालभरमा चलिरहेको छ । एक सातादेखि हाउसफूलका साथ चलिरहेको ‘पूर्णबहादुरको सारङगी’ले बिहीबार नेपालभर रेकर्डब्रेक शो पाएको छ ।
प्रतिक्रिया