शौचालय नजिकै झाडीमा १० दिने शिशु फाल्ने आमा प्रहरी नियन्त्रणमा

 मकवानपुरको उत्तरी क्षेत्र थाहा नगरपालिकामा सार्वजनिक शौचालय नजिकै झाडीमा १० दिने शिशु फाल्ने आमालाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीले झापाको अर्जुनधारा नगरपालिका–६ घर भई हाल काठमाडौँ बस्दै आएकी २८ वर्षीया मेनुका धिताललाई नियन्त्रणमा लिएको हो । 

उनले थाहा नगरपालिका धारापानीस्थित दिदीको घरमा आएको बेला आफ्नो १० दिने शिशु (बालक)लाई झाडीमा फालेको स्वीकार गरेको प्रहरीले जनाएको छ । उनलाई प्रहरीले दिदीको घरबाटै नियन्त्रणमा लिएको हो ।

गत मंगलबार साँझ झाडीबाट शिशु रोएको आवाज आएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । इलाका प्रहरी कार्यालय पालुङबाट खटिएको प्रहरी निरीक्षक सबिन बाबु अर्यालको नेतृत्वको प्रहरी टोलीले घटनास्थलबाट शिशुको उद्धार गरेको थियो 

शिशु फाल्ने महिलाको खोजतलासका क्रममा स्थानीयले दिएको जानकारी अनुसार शिशुकी आमा मेनुका धिताललाई उनको दिदीको घरमा फेला पारेको प्रहरी निरीक्षक अर्यालले जानकारी दिए ।

४ वर्षअघि सवारी दुर्घटनामा श्रीमान् गुमाएकी धिताले फेसबुकबाट चिनजान भएको युवकसँगको सम्बन्धबाट शिशु जन्मिएको स्वीकार गरेको प्रहरीले जनाएको छ ।

उनको यसअघि २ जना सन्तान रहेका छन् । धितालको बयानको आधारमा युवकको खोजी कार्य थालिएको प्रहरी निरीक्षक अर्यालले बताए ।