चलचित्र ‘पूर्ण बहादुरको सारङ्गी’एक साताको कमाइ ८ करोड २५ लाख
कात्तिक १५ गतेबाट प्रदर्शनमा रहेको चलचित्र ‘पूर्ण बहादुरको सारङ्गी’ले ८ करोड २५ लाख ग्रसकलेक्सन गरेको छ ।
निर्माण कम्पनी सेभेन सिस सिनेमाका अनुसार चलचित्रको यो कलेक्सन पहिलो सातासम्मको हो ।आक्रामक कलेक्सन गरिरहेको चलचित्रले पाँच दिनमै लगानी सुरक्षित गरिसकेको छ । यसअघि यो चलचित्रले पाँच दिनमा चार करोड ८७ लाख रुपैयाँ ग्रसकलेक्सन गरेको थियो ।
एक करोड ३० लाख रुपैयाँमा निर्माण भएको ‘पूर्ण बहादुरको सारङ्गी’को निर्माणपक्ष लगानी उठाएर नाफामा समेत गइसकेकाे छन् । कूल शोको ५० प्रतिशतभन्दा धेरै शोसहित अहिले यो चलचित्र नेपालभरमा चलिरहेको छ । एक सातादेखि हाउसफूलका साथ चलिरहेको ‘पूर्णबहादुरको सारङगी’ले बिहीबार नेपालभर रेकर्डब्रेक शो पाएको छ ।
बिहीबार देशभर हाउसफूल रहेको यो चलचित्रले ८९ हलमा ३८० भन्दा बढी शो पाएको छ । नेपाली सिनेमा प्रदर्शनको इतिहासमा यो नयाँ रेकर्ड हो ।यस्तै, घरेलु बक्सअफिसमा उछाल ल्याएपछि यो चलचित्रको अन्तर्राष्ट्रिय बजारमा समेत उच्च माग बढेको छ । सिनेमाको विदेशका हलमा पनि बुकिङ खुला भइसकेको छ । अमेरिका, बेलायत, यूएई, अष्ट्रेलियालगायतका देशमा प्रदर्शन हुन लागेको हो । यी देशमा चलचित्रको बुकिङ खुला भइसकेको निर्माणपक्षले जनाएको छ ।
यो चलचित्र अष्ट्रेलिया, न्युजिल्यान्ड र मध्य पूर्वका विभिन्न शहरहरूमा प्रदर्शन भइरहेको छ । अमेरिकामा भने यो चलचित्र नोभेम्बर ८ शुक्रबारदेखि रिलिज हुँदैछ । यसैगरी यूकेमा पनि सोही दिनदेखि विभिन्न शहरहरूमा प्रदर्शन हुने तयारी छ ।
सरोज पौडेल निर्देशित यस सिनेमामा विजय बराल, प्रकाश सपूत, मुकुन भुसाल, बुद्धि तामाङ, अञ्जना बराइली, माओत्से गुरुङ, देशभक्त खनाल, भोलाराज सापकोटा, विनोद न्यौपाने, आलिस बास्तोला, स्वायम् केसी, जान्वी पौडेललगायतको अभिनय छ ।
सेभेन सिस सिनेमा र बासुरी फिल्मसको प्रस्तुति रहेको सिनेमाका निर्माता विनोद पौडेल र प्याट्रिक सुवेदी रहेका छन् भने रमेश चौलागाईं, हरि श्रेष्ठ र रमेश ढकाल कार्यकारी निर्माताका रूपमा छन् ।चलचित्रमा संवाद महेश दवाडीले लेखेका छन् । चलचित्रले गन्धर्व समुदायको कथा भन्छ । छोराको भविश्यका लागि बुवाले गर्ने संघर्ष यो चलचित्रको मुख्य कथा हो ।
प्रतिक्रिया