नेपालको लगातार दोस्रो जित, कुवेत २२ रनमै अलआउट

नेपालले आइसिसी यु १९ महिला विश्वकपको एसिया छनोटमा लगातार दोस्रो जित हासिल गरेको छ ।

युएईमा जारी छनोटमा बिहीवार नेपालले कुवेतलाई १ सय ८ रनले पराजित गर्यो । नेपालले पहिलो खेलमा बुधवार थाइल्यान्डलाई ६७ रनले हराएको थियो ।

१ सय ३१ रनको लक्ष्य पछ्याएको कुवेत १३ ओभरमा अल आउट हुँदै २२ रनमा समेटियो । कुवेतका लागि ओपनर जिफाले १२ रन बनाउँनु बाहेक अन्यले दोहोरो अंकमा रन बनाउँन सकेनन् ।

नेपालकी रचना चौधरी र सिमाना केसीले समान २ तथा कप्तान पुजा महतो, कृष्मा गुरुङ र मनिशा उपाध्यायले समान १ विकेट लिए ।अजमानमा टस जितेर ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ३० रनको योगफल तयार गरेको थियो ।

कप्तान पुजाले ३८ बलमा ४ चौकाको सहयोगमा ३४, ओपनर साना प्रविनले १८ बलमा ५ चौकाको सहयोगमा २५ तथा ज्योत्सिका मरासिनीले १८ बलमा २३ रन जोडिन् ।

अलिशाकुमारी यादवले १० बलमा १५ तथा सोनी पाख्रिन र सावित्री धामीले समान ६ रन बनाए । कुवेतका लागि अयशा एकवालले २ तथा जिफ जिलानी र अमिशा रामले समान १ विकेट लिए ।

कुवेत लगातार दोस्रो खेलमा पराजित भएको छ। कुवेत पहिलो खेलमा घरेलु टोलीसँग १ सय ६ रनले हारेको थियो ।कात्तिक २९ गतेसम्म चल्ने प्रतियोगितामा नेपाल, घरेलु टोली, कुवेत र थाइल्याण्डको सहभागिता छ ।

तेस्रो खेलमा कात्तिक २४ गते घरेलु टोलीसॅंग खेल्ने नेपालको चौथो खेल कात्तिक २५ गते थाइल्यान्डसॅंग हुनेछ ।पाँचौं खेलमा कात्तिक २७ गते कुवेतसॅंग खेल्ने नेपालको‌ अन्तिम खेलमा कात्तिक २८ गते युएईसॅंग रहेको छ।छनोटको शीर्ष टोली विश्वकपका लागि छनोट हुनेछ । विश्वकप अर्को वर्ष मलेसियामा आयोजना हुँदैछ ।