७ महिनामा ४ नेपाली ब्लकबस्टर फिल्म

नेपाली फिल्मका लागि वि.सं २०८१ सर्वाधिक सफल देखिएको छ । फिल्म सफलताको आँकडा हेर्ने हो भने यो बर्ष सबैभन्दा बढी देखिन्छ । 

यो बर्ष रिलिजमा आएका १० वटा फिल्म बक्स अफिसमा सफल भइसकेका छन् । अझै पनि ५ महिना बाँकी नै रहेकाले यो संख्या बढ्ने विश्वास गर्न सकिन्छ । 

सुखद कुरा यो छ कि, यो बर्ष ७ महिनाको अन्तरालमै ४ वटा फिल्म ब्लकबस्टर सावित भएका छन् । यो फिल्म क्षेत्रका लागि सबैभन्दा खुशीको कुरा हो । 

यो बर्षको पहिलो ब्लकबस्टर फिल्म ‘बोक्सीको घर’को हो । जसले बक्स अफिसमा १० करोडको आँकडा पार गरेको थियो । कम बजेटमा बनेको यो फिल्मबाट निर्मात्री केकी अधिकारीले राम्रो पैसा कमाइन् । 

यो बर्षको अर्को ब्लकबस्टर फिल्म हो ‘१२ गाउँ’ । यो फिल्मले बक्स अफिसमा २३ करोड ५० लाखको आँकडा पार गरेको दाबी वितरकको छ । तर, बक्स अफिसमा यो फिल्मले आक्रामक कमाई गर्यो र अझै पनि गरिरहेको छ । यो फिल्मबाट निर्माता तथा निर्देशक विराज भट्टले १० करोड भन्दा माथिको कमाई गर्ने निश्चित छ । यही फिल्मबाट विराजका छोरा समीर रंगीन दुनियाँमा उदाए । 

यो बर्षको अर्को ब्लकबस्टर फिल्म हो ‘छक्का पन्जा ५’ । यो फिल्मले बक्स अफिसमा २० करोडको ग्रस कलेक्शन गरिसकेको छ । लाइफ टाइम कलेक्शनमा यो आँकडा केही माथि देखिन सक्छ । 

यस्तै, तिहारमा रिलिजमा आएको अर्को फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’ बक्स अफिसमा सुपरहिट भइसकेको छ । रिलिजको एक सातामै सुपरहिट भएको यो फिल्म ब्लकबस्टर बन्ने निश्चित छ । निर्माताको अनुसार, यो फिल्मको बजेट डेढ करोडको हारहारीमा छ ।

यसअर्थमा, फिल्मले १० करोडको आँकडा पार गरेसँगै ब्लकबस्टर हुने निश्चित छ । फिल्मको दोस्रो साताको अकुपेन्सी हेर्दा यसले ‘१२ गाउँ’ले बनाएको व्यापारिक रेकर्डलाई नै चुनौती दिने देखिन्छ । 

यसरीहेर्दा, ७ महिनामा नेपाली फिल्मले ४ वटा ब्लकबस्टर फिल्म पाएको छ । यसले, फिल्म क्षेत्रमा सुनौलो दिन फर्किएको विश्लेषण गर्न सकिन्छ ।