विपक्षीको समाजवादी मोर्चा कोमामा रहेका बेला कांग्रेस-एमालेले बनाए राजनीतिक संयन्त्र

काठमाडौँ, २२ कात्तिकः माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आफू प्रधानमन्त्री रहेका बेला बनाएका थिए, समाजवादी मोर्चा। यो मोर्चा बनाउदा कांग्रेस र माओवादीसहितको गठबन्धन थियो। तर, सरकारमा रहेका बेला एमालेबाहेक कम्युनिष्ट दलको मोर्चा बनेपछि कांग्रेस नेताहरु झस्किए। कांग्रेस घेर्न मोर्चा बनेको टिप्पणी चलेपछि यो मोर्चा खासै सक्रिय भएन ।

तर, गत असारमा गठबन्धन फेरिएर एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री बनेपछि प्रचण्डले मोर्चा ब्यू्ताउने प्रयास गरे। तर, मोर्चामा रहेका चार दलबीचको मुद्दा नै तालमेल नहुँदा कोमामा पुगेको छ। प्रचण्ड यही मोर्चालाई देखाएर सरकारसँग बार्गेनिङ गर्ने मुडमा छन्।

एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई पार्टी जोगाउन धौधौ छ भने जसपा फुुटेपछि उपेन्द्र यादव घायल छन्। नेकपा महासचिव नेत्रविक्रम चन्द विप्लव कृषि क्रान्ति गर्ने भन्दै आलु रोप्न व्यस्त छन्। त्यही भएर मोर्चाको बैठक चार महिनायता बस्न सकेको छैन। विप्लव मोर्चाका संयोजक हुन्।

विपक्षी मोर्चा कोमामा पुगेको र उपनिर्वाचन नजिकिँदै जाँदा सत्तारुढ कांग्रेस र एमालेले भने राजनीतिक संयन्त्र गठन गरेपछि राजनीतिक बजार गर्माएको छ। रास्वपा सभापति रवि लामिछाने सहकारी प्रकरणमा पक्राउ परेपछि माओवादी अध्यक्ष प्रचण्डले आन्दोलन छेड्ने प्रयास गरिरहेका छन्।

रास्वपा आन्दोलनमा रहे पनि जनसहभागिता जुटन नसकेपछि समस्यामा परेको छ। तर, राजनीतिक अस्थिरतामा प्रचण्डले खेल्न खोजिरहेको र सरकार ढल्ने हल्ला चलिरहेका बेला कांग्रेस र एमालेले दुई दलीय राजनीतिक संयन्त्र बनाएका हुन्।

सरकारलाई सफल र प्रभावकारी बनाउन प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाको नेतृत्वमा ८ सदस्यीय संयन्त्र बनाइएको भनिएको छ। संयन्त्रको कार्यदलमा कांग्रेसबाट उपसभापति पूर्णबहादुर खड्का, गृहमन्त्री रमेश लेखक, महामन्त्री गगनकुमार थापा, परराष्ट्रमन्त्री आरजु राणा देउवा छन्।

त्यस्तै, एमालेबाट वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष एवं अर्थमन्त्री विष्णु पौडेल, महासचिव शंकर पोखरेल र उपमहासचिव विष्णु रिमाल छन्। संयन्त्रको पहिलो बैठकले कार्यदलको संयोजन दुई दलले एक-एक महिना पालैपालो गर्ने निर्णय भएको छ। कात्तिक २१ देखि मंसिर २० गतेसम्म पहिलो महिनाको संयोजन कांग्रेस उपसभापति खड्काले गर्नेछन्।