वर्णन मिडिया र्विफिङ : आज दिनभरका खबरहरु

मनाङेको राजनीतिक दौडमा सर्वाेच्चको ब्रेक, सांसद र मन्त्रीपछि जेलयात्रा 

मनाङबाट स्वतन्त्र सांसद बनेर पटकपटक मन्त्री पद खाइरहेका राजिव गुरुङ अर्थात् दीपक मनाङेको राजनीतिक दौडमा सर्वाेच्च अदालतले ब्रेक लगाइदिएको छ। सर्वाेच्चका न्यायाधीशद्वय नहकुल सुवेदी र टेकप्रसाद ढुङ्गानाको इजलासले यसअघि उच्च अदालत पाटनले गरेको दोषी ठहर गर्दै पाँच वर्ष कैद तोक्ने फैसला सदर गरेपछि उनको सांसद पद गुमेको छ।  २० वर्ष अघि चक्रे मिलनको ज्यान लिने उद्देश्यले भएको घटनामा गुरुङमाथि मुद्दा चलेको थियो।  गुन्डा नाइके रहेका मनाङेले अर्का गुन्डा नाइके चक्रे भनिने मिलन गुरुङमाथि तरबार आक्रमण गरेका थिए। उक्त आक्रमणमा मिलन गुरुङको हात काटिएको थियो ।

https://barnanmedia.com/news/detail/201822/

 प्रधानन्यायाधीश राउतले नेतृत्व सम्हालेपछि न्यायालयको प्रशंसनीय सक्रियता 

मुलुकको ३२ औँ प्रधानन्यायाधीशका रुपमा प्रकाशमानसिंह राउतले कार्यभार सम्हालेसँगै न्यायपालिकाले गति लिने संकेत देखापरेका छन् । यसअघि कर्मचारी पृष्ठभूमिबाट आएका प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले निकै धेरै विचार गरी पाइला चाल्ने गरेकामा राउतले बाहिरी वातावरणको परवाह नगरी फटाफट पाइला चाल्ने स्पष्ट संकेत देखाएका छन् । दसैँ र तिहारजस्ता नेपालीका ठूला चाडहरुको लामो बिदापछि खुलेको सर्वोच्च न्यायालयबाट मंगलबार केही महत्त्वपूर्ण मुद्दाहरु टुंगिएका छन् । प्रधानन्यायाधीश राउत आफै संलग्न रहेको इजलासबाट भारतसँग २५ वर्षका लागि गरिएको दीर्घकालीन विद्युत् व्यापार सम्झौता कार्यान्वयनको बाटो खोलिएको छ । राउतका साथै न्यायाधीशद्वय सपना प्रधान मल्ल र महेश शर्मा पौडेलको इजलासले पूर्वप्रशासक सूर्यनाथ उपाध्यायको रिट खारेज गर्दै भारतसँगको सम्झौता कार्यान्वयनका लागि मार्गप्रशस्त गरिदिएको हो ।

https://barnanmedia.com/news/detail/201823/ 

राजस्व संकलनमा थप मेहनत गर्न अर्थमन्त्रीको निर्देशन 

 उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले राजस्व संकलनमा थप मेहनत गर्न कर्मचारीहरुलाई निर्देशन दिनु भएको छ । अर्थ मन्त्रालयका सचिव र विभागीय प्रमुखहरुको बैठकमा अर्थमन्त्री पौडेलले औषत भन्दा माथि उठेर काम गर्न र  मातहतका कर्मचारीहरुलाई काममा लगाउन निर्देशन दिनु भएको हो । सामान्य अवस्थाको कामले नतिजा पनि सामान्य आउने उल्लेख गर्दै अर्थमन्त्री पौडेलले गत सालको यही अवधिको तुलनामा १३ प्रतिशत राजस्व वृद्धिमा चित्त बुझाएर बस्ने अवस्था नरहेको बताउनु भयो ।  संविधान र राष्ट्रको हितलाई ध्यान दिइ कानुन अनुसार करदातासँग राजस्व संकलन संकलन गर्नुपर्ने धारणा व्यक्त गर्दै अर्थमन्त्री पौडेलले समस्याहरुलाई तत्काल सम्बोधन गर्न पनि निर्देशन दिनुभयो । 

https://barnanmedia.com/news/detail/201818/ 

जेल सजाय सुनाएलगत्तै देखि दीपक मनाङे फरार 

गुण्डा नाइकेको परिचय बनाएका गण्डकी प्रदेशका पूर्वमन्त्री तथा सांसद राजीव गुरुङ उर्फ दीपक मनाङे एकाएक फरार भएका छन्। ज्यान मार्ने उद्योगमा सर्वोच्च अदालतले दोषी ठहर गर्दै जेल सजाय सुनाएलगत्तै उनी हिजोदेखि बेपत्ता भएका हुन्।  अर्का गुण्डा नाइके चक्रे मिलनलाई खुकुरी हानेर ज्यान लिन खोजेको पुरानो मुद्दामा सर्वोच्चले हिजो मनाङेलाई दोषी ठहर गर्दै पाँच वर्ष जेल सजाय तोकेको थियो। त्यसलगत्तै प्रहरीले उनको खोजी गरेको थियो तर अहिलेसम्म फेला परेका छैनन्। उनलाई फरार सूचीमा राखेर खोजी गरिरहेको प्रहरीले जनाएको छ। गण्डकी प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रवक्ता बाबुराम गौतमले मनाङेसँग सम्पर्कको प्रयास भइरहेको बताएका छन्। अलग–अलग सिमकार्ड प्रयोग गर्ने भएकाले सम्पर्कमा समस्या परेको उनको भनाई छ।

ट्रम्पले राष्ट्रपतीय चुनाव जितेका यि आधार 

अमेरिकामा राष्ट्रपतिको निर्वाचनको नतिजा आउने क्रम जारी छ । यसैबिच पूर्वराष्ट्रपति तथा रिपब्लिकन पार्टीका उम्मेदवार डोनल्ड ट्रम्पले आफ्नो विजयको घोषणा गरिसकेका छन् ।  निर्वाचन आयोगले जितको घोषणा गर्न बाँकी नै रहेको भएपनि आफ्ना समर्थक र कार्यकर्ताहरूलाई सम्बोधन गर्दै ट्रम्पले विजयी भाषण पनि दिइसकेका छन् । यसक्रममा उनले अमेरिकालाई फेरि विश्वकै महान् देश बनाउने बताएका छन् । आफूहरू सबैले एक पटक फेरि सुखी र अद्भुत जीवन बिताउने छौँ भनेर पनि उनले भनेका छन् ं। तर, ट्रम्प निकै विवादित व्यक्तित्व हुन् भन्ने कुरा सबैलाई विदितै छ । उनीविरुद्ध धेरै मुद्दा चलिरहेका पनि छन् । तीमध्ये एक–दुईमा उनी दोषी पनि ठहर भएका छन् । तर, ट्रम्पले गत ६ महिनामा निकै ठुलो चुनावी अभियान चलाएकोमा कुनै शंका छैन ।

वीरगञ्जमा छठका सामान किनमेल गर्नेको घुइँचो 

औद्योगिक तथा आर्थिक नगरी वीरगञ्जमा छठ पर्वका लागि आवश्यक सामान किनबेच गर्नेको घुइँचो लागेको छ ।  हाल वीरगञ्जको मीनाबजार, घण्टाघर, रेल्वेरोड, अटोरिक्सा स्टेसन, माईस्थानलगायतका स्थानमा सडकमै छठका सामान किनबेच गर्नेको भीडले सर्वसाधारणलाई आउजाउ गर्न मुस्किल छ । मीनाबजारका स्थानीय व्यापारी राजेश साह छठ पर्वमा ग्रामीण भेगका सर्वसाधारण पनि किनमेल गर्न आउने भएकाले भीडभाड धेरै हुने  बताउनुहुन्छ ।  “सामान्य अवस्थामा भन्दा अहिले भीडभाड छ । तर, व्यापार भने विगतमा जस्तो छैन”, उहाँले भन्नुभयो, “आर्थिक मन्दीका कारण हो या सर्वसाधारणले खुलेर खर्च गर्न डराइरहेका छन् ।” मौसमी व्यापारीले घण्टाघरदेखि माईस्थानसम्म सडकमै विभिन्न प्रकारका सरसमान राखेर किनबेच गरिरहेका छन् । महानगरले किनबेच गर्नेका लागि उपयुक्त स्थान नतोक्दा पनि धेरै अस्तव्यस्त भइरहेको स्थानीयको भनाइ छ । 

एमाले काठमाडौँद्वारा उपनिर्वाचनमा लागि उम्मेदवार सिफारिस 

नेकपा (एमाले) काठमाडौँ जिल्ला कमिटीले आगामी उपनिर्वाचनका लागि उम्मेदवारको सिफारिस गरेको छ ।  एमाले काठमाडौँ जिल्ला कमिटीको आज बसेको बैठकले नगरकमिटीबाट आएका उम्मेदवारको नामलाई सर्वसम्मत निर्णय गर्दै सिफारिस गरेको हो । जिल्ला अध्यक्ष दीपक निरौलाले उपनिर्वाचनमा काठमाडौँ जिल्लाका चार पदका उम्मेदवारको नाम सर्वसम्मत सिफारिस गरिएको जानकारी दिनुभयो । ​​​​​​ नगरकमिटीबाट सिफारिस भएका उम्मेदवारको नामलाई प्रदेश कमिटीमा पठाउने निर्णय गरिएको  उहाँले बताउनुभयो । उहाँका अनुसार कीर्तिपुर नगरपालिकाको प्रमुखमा डा सुरेन्द्र मानन्धर, कीर्तिपुर वडा नं १ अध्यक्षमा हर्ष महर्जन र ४ मा बद्री बुढाथोकी तथा काठमाडौँ महानगरपालिका–१६ को अध्यक्षमा लक्ष्मीरत्न तुलाधरलाई उम्मेदवार बनाउने सर्वसम्मत सिफारिस गरेको छ ।

रेड नोटिसपछि नेपाल झिकाइएका व्यक्ति जेल चलान
 

 इन्टरपोलबाट रेड नोटिस जारी गरी नेपाल झिकाइएका एक व्यक्ति मानव  बेचबिखन मुद्दामा आज पुर्पक्षका लागि जेल चलान गरिएको छ ।आकर्षक तलबको लोभ देखाएर भिजिट भिसामा नेपाली महिलालाई विदेशमा बेचबिखन गरेको जाहेरीपछि पक्राउ परेका धनुषाका दिलीप राउतलाई इन्टरपोलमार्फत सोमबार नेपाल ल्याइएको थियो । उनलाई आज काठमाडौँ जिल्ला अदालतमा पेस गरिएकामा अदालतले आजै पुर्पक्षका लागि कारागार चलान गरेको प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोका प्रवक्ता, प्रहरी उपरीक्षक भावेष रिमालले जानकारी दिनुभयो । उहाँका अनुसार अनुसन्धानका क्रममा राउतले सुरुमा महिलालाई दुबईको कम्पनीमा मासिक ४० हजारसम्म तलब हुने प्रलोभन देखाई भिजिट भिषामा दुबई पु¥याएर आफू बस्ने फ्ल्याटमा बन्धक बनाई घरेलु काममा लगाई चरम श्रम शोषण र यौन शोषण गरेका पाइएको छ ।  

कोशीका निवर्तमान  कानुनमन्त्री अधिकारीसँग जापान पुगेका ६ जनालाई पक्राउ 

कोशीका निवर्तमान आन्तरिक मामिला तथा कानुन मन्त्री लिलाबल्लभ अधिकारीसँग जापान पुगेका ६ जनालाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी परिसर काठमाडौं स्रोतका अनुसार तीन जना त्रिभुवन विमानस्थलबाट पक्राउ परेका हुन्। खोटाङको ऐसेलुखर्क गाउँपालिका– २ का ३६ वर्षीय दावा शेर्पा, खोटाङकै कोपिलासगढी गाउँपालिका– ४ का ४१ वर्षीय जनक राई र रसुवाको कालिका गाउँपालिका– ५ का २२ वर्षीय कञ्चन देवकोटा विमानस्थलबाट पक्राउ परेका हुन् । प्रहरीका अनुसार उनीहरु १५ दिनको भिजिट भिसामा जापान गएका थिए। मन्त्री अधिकारी जापान भ्रमणमा जाँदा हङकङको ट्रान्जिटपछि तीन जनाले आफूहरू पनि भ्रमण दलमा रहेको बताएपछि मन्त्री अधिकारीले आफू निर्धारित कार्यक्रममा सहभागी नभई फर्किएको बताएका छन्। फर्किँदा उनकै समन्वयमा तीन जना विमानस्थलमै पक्राउ परेका हुन्। उनीहरुको बयानका आधारमा दोलखाको जिरी नगरपालिका–९ का वीरबहादुर सुनुवार, नुवाकोटको बिदुर नगरपालिका– ७ का २२ वर्षीय जुगल रिजाल र धादिङको त्रिपुरासुन्दरी गाउँपालिका– ६ का ३४ वर्षीय महेशविक्रम पाण्डे पक्राउ परेका हुन्।

रास्वपाको उपनिर्वाचन तयारी किन सुस्त 

 १६ मंसिरमा हुने स्थानीय तहको उपनिर्वाचनका लागि प्रमुख दलहरुले उम्मेदवार टुंग्याउन थालिसके । उपनिर्वाचनका लागि २ मंसिरमा उम्मेदवारी दर्ता गर्ने कार्यतालिका छ । तर राष्ट्रिय स्वतन्त्र पार्टीले भने अहिलेसम्म उम्मेदवार छनोट प्रक्रिया सुरु गरेको छैन । २ कात्तिकमा सभापति रवि लामिछाने पक्राउ परेपछि पार्टी नै आन्दोलनमा होमिएका कारण उपनिर्वाचनको तयारीमा असर परेको नेताहरुले बताएका छन् । सभापति लामिछाने पक्राउ पर्नुअघि १३ असोजमा रास्वपाले उपनिर्वाचन हुने स्थानमा पार्टीको सांगठनिक अवस्था, उम्मेदवार छनोट विधि, गैरदलीय उम्मेदवारलाई सघाउन सकिने स्थान लगायतमा कार्ययोजना पेश गर्न सहमहामन्त्री विपिन आचार्यको संयोजकत्वमा कार्यदल बनाएको थियो । तर आचार्यले पारिवारिक कारण देखाउँदै जिम्मेवारी नलिएपछि सांसद गणेश पराजुलीलाई यो जिम्मा दिइएको थियो ।

तीनै तहका सरकार सञ्चालन व्यवस्थित र प्रभावकारी बनाउन संयन्त्र गठन 

सत्तारुढ दल नेकपा (एमाले) र नेपाली कांग्रेसले तीनै तहका सरकार सञ्चालन व्यवस्थित र प्रभावकारी बनाउन संयन्त्र गठन गरेका छन् । एमाले नेता तथा पार्टीका प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार दुई दिनअघि गठित संयन्त्रमा केन्द्रको हकमा एमालेका चार र कांग्रेसका चार जना नेता रहने गरी आठ सदस्यीय संयन्त्र गठन गरिएको जानकारी दिनुभयो । संयन्त्रमा एमालेबाट वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष तथा अर्थमन्त्री विष्णु पौडेल, महासचिव शङ्कर पोखरेल र प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार समेत रहेका उपमहासचिव विष्णु रिमाल रहनुभएको छ ।

रेड नोटिसपछि नेपाल झिकाइएका व्यक्ति जेल चलान 

 इन्टरपोलबाट रेड नोटिस जारी गरी नेपाल झिकाइएका एक व्यक्ति मानव  बेचबिखन मुद्दामा आज पुर्पक्षका लागि जेल चलान गरिएको छ । आकर्षक तलबको लोभ देखाएर भिजिट भिसामा नेपाली महिलालाई विदेशमा बेचबिखन गरेको जाहेरीपछि पक्राउ परेका धनुषाका दिलीप राउतलाई इन्टरपोलमार्फत सोमबार नेपाल ल्याइएको थियो । उनलाई आज काठमाडौँ जिल्ला अदालतमा पेस गरिएकामा अदालतले आजै पुर्पक्षका लागि कारागार चलान गरेको प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोका प्रवक्ता, प्रहरी उपरीक्षक भावेष रिमालले जानकारी दिनुभयो ।

 चुनावी जितपछि ट्रम्पसँग मिलेर काम गर्ने विश्व नेताहरूको प्रतिबद्धता  

कमला ह्यारिसमाथि अमेरिकी निर्वाचनमा आश्चर्यजक जित हासिल गरेपछि विश्व नेताहरू बुधबार डोनाल्ड ट्रम्पलाई बधाई दिन तत्पर देखिएका छन् ।उहाँको चुनावी जित पुष्टि हुनुअघि नै धेरै व्यक्त गरिएका पहिलो प्रतिक्रियाहरू यस्ता छन् ः

– जापान : नयाँ उचाइ –

प्रधानमन्त्री सिगेरु इसिबाले ‘जापान–अमेरिका गठबन्धन र जापान–अमेरिका सम्बन्धलाई नयाँ उचाइमा पु¥याउन ट्रम्पसँग नजिकबाट काम गर्ने’ आशा गरेको पत्रकारहरूलाई बताउनुभयो ।

– दक्षिण अफ्रिका –

सन् २०२६ मा अमेरिकाभन्दा अघि आगामी वर्ष जी२० को अध्यक्षता सम्हाल्ने दक्षिण अफ्रिकाका राष्ट्रपति सिरिल रामाफोसाले ट्रम्पलाई सन्देशमा ‘हाम्रा दुई राष्ट्रबीचको सहयोगका सबै क्षेत्रहरूमा नजिक र पारस्परिक लाभदायक साझेदारी जारी राख्न’ तत्पर रहेको बताउनुयभो ।

सिङ्गारिँदै सिरहाका छठ घाट, मूल्य वृद्धिको मारमा भक्तजन 

छठ पर्वको दोस्रो दिन आज यहाँका नदी, खोला, पोखरी तथा जलाशय किनारका छठ घाट सिँगारिने क्रम जारी छ । भक्तजनहरु छठको तेस्रो दिन बिहीबारका लागि घाट निर्माणको अन्तिम तयारीमा छन् ।  लहानस्थित खुट्टीखोलामा छठ घाट निर्माण गर्न नगरपालिकाले निःशुल्क जेसिबीको व्यवस्था गरेको छ । नगरपालिकाको जेसिबीको सहयोगमा आज बिहानैदेखि छठ घाट निर्माण सुरु गरेको स्थानीय अरविन्द साहले बताउनुभयो । नगरकै सहयोगमा वर्षभरि नदी किनारमा थुप्रिएका फोहोर सफाइ गरिएको उहाँले जानकारी दिनुभयो ।  दीपावली सकिएलगत्तै छठ पर्व सुरु भएपछि नगरका नदी, जलाशय तथा पोखरी किनारमा छठ पूजा लक्षित सरसफाइमा जुटेको नगरपालिकाका सरसफाइ संयोजकसमेत रहनुभएका नगरप्रमुख महेशप्रसाद चौधरीले बताउनुभयो । 

नागढुंगाबाट सुनसहित एक जना पक्राउ 

काठमाडौँको नागढुंगाबाट प्रहरीले आधा केजी सुनसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कैलालीको टीकापुर नगरपालिका–४ घर भएका २३ वर्षीय एलिस ढकाल छन् । प्रहरी प्रभाग नागढुंगाबाट खटिएको टोलीले यात्रुवाहक बसको अन्तिम सिटमा सवार ढकालको साथबाट आधा केजी सुन बरामद गरेको छ । कालो टेपले बेरेर ल्याएको सो सुन नेपालगञ्जबाट ल्याएको आरोपीले प्रहरीलाई बताएका छन् । उनलाई थप अनुसन्धान र कारवाहीका लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालयमा पठाइने जिल्ला प्रहरी परिसर काठमाडौँका एक जना अधिकृतले बताए । 

ट्रम्पको जितसँगै डलरको मूल्य बढ्यो, सेयरमा उछाल 

अमेरिकामा डोनाल्ड ट्रम्पको राष्ट्रपति बन्ने तयारीसँगै डलरको मूल्य उच्च भएको छ, सेयर बजार बढेको छ र बिटक्वाइनले नयाँ रेकर्ड कायम गरेको छ । विश्लेषकहरूले ट्रम्पको विजयले मुद्रास्फीति बढाउन सक्न बताएका थिए ।  रिपब्लिकन उम्मेदवारले उपराष्ट्रपति कमला ह्यारिसलाई पराजित गर्दै चार वर्षअघि जो बाइडेनसँग हारेको ह्वाइट हाउस फिर्ता लिएर उल्लेखनीय राजनीतिक पुनरागमन गर्नुभएको छ ।धेरै अमेरिकी मिडियाले ट्रम्पलाई विजेता घोषणा गर्नुअघि नै पूर्वराष्ट्रपतिले ‘भव्य’ जितको दाबी गर्दा बजार खुल्नुभन्दा घन्टौँ अगाडि नै वाल स्ट्रिट स्टक फ्युचर्स उच्च भयो । युरोपका मुख्य शेयर सूचकाङ्कहरू बिहानको कारोबारमा बढे भने एसियाली बजार विभाजित रह्यो । चिनियाँ आयातमा ट्रम्पले कर लगाउने अपेक्षाका कारण चिनियाँ सेयरहरू प्रभावित भए ।बजारको ध्यान संयुक्त राज्य अमेरिकापछिको विश्वको दोस्रो ठूलो अर्थतन्त्र चीनको अर्थतन्त्रलाई प्रोत्साहन गर्ने योजनाहरूमा पनि केन्द्रित थियो ।

बेहुलीझैँ सिङ्गारिँदै सुनसरीका छठ घाट 

लोक आस्था, विश्वास र श्रद्धाको पर्वका रूपमा रहेको छठका लागि सुनसरीका विभिन्न जलाशयका छठ घाट बेहुलीझैँ सिङ्गारिएका छन् । यहाँस्थित सप्तकोशी नदीसहितका धेरै जलाशयमा छठ घाट सिङ्गारिएका छन् । पूजाका लागि सुनसरीका स्थानीय पोखरी, सुनसरी खोला, गडन खोला, बूढीखोला, सुनसरी मोरङ सिँचाइ योजना नहर, कोशी कटान, कोशी ब्यारेज ताथ विभिन्न शाखा नहरलगायतका जलाशय किनारमा बाँस तथा केराको थाम गाडेर छठ घाट बनाइएको इनरुवाका स्थानीय चन्दन मेहताले बताउनुभयो ।  शङ्करपुर शाखा नहरअन्तर्गत रामधुनी, डुम्राहा, मधेसा, घोपाली टोल, बलाहा, बबिया, जल्पापुर, गौतमपुर, राजगञ्ज सिनुवारी, मध्यहर्षाही, देवानगञ्जसम्म घाट निर्माण भएका छन् । सीतागञ्ज शाखा नहर, सुखसेना शाखा नहर, हरिपुर शाखा नहर, सुनसरी खोला र मरिया खोलामा हजारौँको सङ्ख्यामा छठघाट निर्माण गरिएको मेहताले बताउनुभयो । 

नगर प्रहरीकाे गुप्ताङ्गमा प्रहार गर्ने व्यक्ति खाेज्दै प्रहरी 

नगर प्रहरीमाथि भएको आक्रमणको घटनाका दोषी पहिचान नहुँदा पोखरा महानगर प्रहरी बल तनावमा परेको छ । हिजो महानगर कार्यालय परिसरमा प्रवेश गरेर नगर प्रहरी सन्तबहादुर केसीको गुप्ताङ्गमा प्रहार गर्ने व्यक्ति नभेटिएपछि उनीहरु हैरानीमा परेको बताइन्छ ।  आज दिनभर खोजी गर्दा पनि आक्रमणकारी पत्ता नलागेको नगर प्रहरी प्रमुख पुरुषोत्तम थापाले बताए । कात्तिक १५ गते बसेको कार्यपालिका बैठकले करार कर्मचारी हटाउने निर्णय गरेपछि त्यसको विरोधमा हिजो एमाले जनप्रतिनिधिसहित केही कर्मचारीले महानगर कार्यालयमा धर्ना दिएका थिए । 

‘आगामी निर्वाचनमा कांग्रेसले गठबन्धन नगर्ने’ 

नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वउपसभापति गोपालमान श्रेष्ठले आगामी निर्वाचनमा नेपाली कांग्रेसले कुनै दलसँग  गठबन्धन नगर्ने बताउनुभएको छ । नेपाली कांग्रेस स्याङ्जा क्षेत्र नं २ ले आज यहाँको वालिङमा आयोजना गरेको नेता कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै नेता श्रेष्ठले अब हुने सबै निर्वाचनमा नेपाली कांग्रेस गठबन्धन बिना प्रतिस्पर्धामा उत्रने बताउनुभएको हो । त्यसका लागि तयारीमा लाग्न नेता कार्यकर्तालाई निर्देशन दिनुभयो ।

दोस्रो पटक राष्ट्रपति बनेका ट्रम्पकाे कति छ सम्पत्ति ? 

अमेरिकाका अर्बपति व्यापारी डोनाल्ड जोन ट्रम्प ४७औं राष्ट्रपतिमा निर्वाचित बनेका छन् । उनी १३२ वर्ष पुरानो इतिहास पल्टाउँदै तेस्रो प्रयासमा दोस्रो पटक अमेरिकाको राष्ट्रपतिमा निर्वाचित बनेका हुन् । ट्रम्प यसअघि सन् २०१६ मा अमेरिकाको ४५औं राष्ट्रपतिमा चुनिएका थिए । त्यसपछि सन् २०२० मा डेमोक्र्याटका जोइ बाइडेनसँग पराजित बनेपछि लगातार दोस्रोपटक अमेरिकाको नेतृत्व गर्नबाट चुकेका थिए । तर, तेस्रोपटकको प्रयासमा दोस्रो पटक अमेरिकाको राष्ट्रपतिकारुपमा सन् २०२४ मा चुनिएका हुन् । 

 स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारीका लेखा समिति सदस्य पक्राउ 

काठमाडौंको कालिमाटीमा रहेको स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाको रकम अपचलन भएको घटनामा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। मंगलबार राति जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले लेखा समिति सदस्य सुनिता नेवालाई पक्राउ गरेको एसपी नवराज अधिकारीले जानकारी दिए। उनलाई पक्राउ गरी प्रहरीले अनुसन्धान अघि बढाएको छ। प्रहरी परिसरमा यस सहकारीको रकम अपचलनमा ६४५ जनाले जाहेरी दिएका छन्। 

बलिउड अभिनेत्री उर्वशी रौटेला नेपाल आउने 

 बलिउडकी चर्चित अभिनेत्री उर्वशी रौटेला नेपाल आउने भएकी छन् । होटल याक एन्ड यतिमा आगामी १४ डिसेम्बरमा आयोजना हुने फेसन शो हेल्दी च्वाइस ‘ग्ल्याम नेपाल इन्टरनेशनल २०२४’ मा शो टपरको रूपमा सहभागी हुन रौटेला नेपाल आउने भएकी हुन् ।तीन सिजन भव्य रूपमा सम्पन्न भैसकेको ‘ग्ल्याम नेपाल इन्टरनेशनल’ को यो चौथो सिजन हो । ट्रयु स्किन एन्ड हेल्दी च्वाइस मुख्य प्रायोजक रहेको फेसन शोमा सहभागीका लागि मोडलको आवेदन खुल्ला गरिएको छ । आयोजक प्रारम्भ प्रोडक्सनले बुधवार एक विज्ञप्ति जारी गर्दै मोडलका लागि आवेदन खुल्ला भएको जानकारी दिएको हो ।  शोमा सहभागी हुन चाह मोडलले इसेवा एप मार्फत आवेदन फर्म भर्न सक्नेछन् ।