रेड नोटिसपछि नेपाल झिकाइएका व्यक्ति जेल चलान
काठमाडौँ, २१ कात्तिक : इन्टरपोलबाट रेड नोटिस जारी गरी नेपाल झिकाइएका एक व्यक्ति मानव बेचबिखन मुद्दामा आज पुर्पक्षका लागि जेल चलान गरिएको छ ।
आकर्षक तलबको लोभ देखाएर भिजिट भिसामा नेपाली महिलालाई विदेशमा बेचबिखन गरेको जाहेरीपछि पक्राउ परेका धनुषाका दिलीप राउतलाई इन्टरपोलमार्फत सोमबार नेपाल ल्याइएको थियो । उनलाई आज काठमाडौँ जिल्ला अदालतमा पेस गरिएकामा अदालतले आजै पुर्पक्षका लागि कारागार चलान गरेको प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोका प्रवक्ता, प्रहरी उपरीक्षक भावेष रिमालले जानकारी दिनुभयो ।
उहाँका अनुसार अनुसन्धानका क्रममा राउतले सुरुमा महिलालाई दुबईको कम्पनीमा मासिक ४० हजारसम्म तलब हुने प्रलोभन देखाई भिजिट भिषामा दुबई पु¥याएर आफू बस्ने फ्ल्याटमा बन्धक बनाई घरेलु काममा लगाई चरम श्रम शोषण र यौन शोषण गरेका पाइएको छ ।
त्यसपछि युएईमा भन्दा कुवेतमा राम्रो तलब हुन्छ, अफिसमा क्लिनरको सजिलो काम हो भनेर दुबईबाट कुवेतमा लगी कुवेतस्थित एजेन्ट अफिसमा मानव बेचबिखन गरी बन्धक बनाई चरम श्रम र यौन शोषण गरेको पनि पाइएको प्रहरीले जनाएको छ ।
आफू बेचिएको थाहा पाएपछि पीडितले नेपाल फिर्ता गराउन अनुरोध गर्दा आरोपी राउतले पैसा मागेपछि उनले मागेबमोजिक रु छ लाख ७५ हजार रकम बुझाई नेपाल फर्कन सफल भएका थिए । त्यसपछि पीडितले गत जेठ ३१ गते ब्युरोमा जाहेरी दरखास्त दिएपछि राउतको खोजी सुरु भएको थियो ।
आवश्यक अनुसन्धान गर्दा रावत कुवेतमा रहेको भन्ने जानकारी पाएलगत्तै ब्युरोले नेपाल प्रहरीको अपराध अनुसन्धान विभाग (इन्टरपोल शाखा) मार्फत गएको असोज १८ गते रेड नोटिस जारी भएको थियो ।
सोही आधारमा कुवेतस्थित इन्टरपोल शाखाको सहयोगमा उनलाई पक्राउ गरी सोमबार नेपाल झिकाइएको प्रहरी उपरीक्षक रिमालले बताउनुभयो । अदालत पेस गरिएकोमा आज मङ्गलबारको थुनछेक आदेशले उनलाई कारागार चलान गरिएको रिमालले जानकारी दिनुभयो । रासस
प्रतिक्रिया