नेपाली सेनाको बलाध्यक्ष रथीमा बढुवाको प्रक्रिया अगाडी,उपरथी केसीलाई बढुवा गर्ने ७ दिने सूचना

नेपाली सेनाको बलाध्यक्ष रथीमा बढुवाको प्रक्रिया अगाडी बढेको छ। अशोकराज सिग्देल प्रधानसेनापतिमा नियुक्त भएपछि गत भदौमा रिक्त भएको रथी पदमा सेनाले उपरथी प्रदीपजंग केसीलाई बढुवा गर्ने ७ दिने सूचना जारी गरेको हो। 

मध्य पृतना हेटौँडाका पृतनापति समेत रहेका केसी हालका उपरथीहरूमा सबैभन्दा वरिष्ठ हुन्। नेपाली सेनामा दुई जना रथीको दरबन्दी छ।बलाधिकृत रथीमा निर्मलकुमार थापा कार्यरत छन्। केसीलाई बलाध्यक्ष रथीमा बढुवा गर्ने प्रक्रिया अगाडी बढेको जानकारी गराउँदै सेनाले उनीउपर कुनै उजुरी भए ७ दिनको समय दिएको हो।

सात दिनभित्रमा उनीउपर उजुरी परे त्यसलाई छानबिन गरिनेछ। छानबिनका क्रममा दोषी पाइए मात्रै बढुवा रोकिने छ। नभए उनी छिट्टै रथीमा बढुवा हुनेछन्। रथीमा बढुवा हुँदा केसी २०८३ मंसिर १५ गतेसम्म सैनिक सेवामा रहनेछन्। त्यसपछि उनी रथीको ५८ वर्षे उमेर हदका कारण अनिवार्य अवकास हुनेछन्। 

२०२५ मंसिर १६ गते काठमाडौँमा जन्मिएका केसी २०४४ असोजमा नेपाली सेनामा भर्ना भएका थिए। यसअघि २०७८ पुस ८ गते उपरथीमा बढुवा भएका थिए। उपरथीको कार्यकाल सकिन लाग्दा रथीमा बढुवा हुन लागेका हुन्। आफ्नो ३५ वर्षको सैनिक करियरमा उनले विभिन्न देशबाट सैन्य तालिमहरू गरेका छन्। केसी विभिन्न समयमा ५ पटक राष्ट्रसंघीय मिसनमा पनि सहभागी भइसकेका छन्। 

उनले लेबनानमा संयुक्त राष्ट्र अन्तरिम बलमा प्लाटुन कमाण्डर, कम्पनी कमाण्डर र सेक्टर हेड क्वाटरमा वरिष्ठ योजना अधिकारीको रुपमा काम गरिसकेका छन्। यसबीचमा अन्य सैनिक पदहरू सम्हालेका केसी सन् २०१४ देखि २०१७ सम्म बेलायतको रक्षा सहचारीको रुपमा नियुक्त भएका थिए। विभिन्न पदकबाट सम्मानित भइसकेका उनले सार्वजनिक प्रशासनमा स्नातकोत्तर गरेका छन्। 

केसीपछिको वरीयतामा उपरथीहरू प्रेमध्वज अधिकारी र दीपककुमार बानियाँ छन्। दोस्रो वरियतामा रहेका अधिकारीलाई सरकारले यसअघि नै रथीमा स्थानीय बढुवा गरेर राष्ट्रसंघको सैनिक सल्लाहकारका लागि उम्मेदवार बनाएको छ। यद्यपि उनी छनोट भइसकेका छैनन्। उनी सैनिक सल्लाहकारमा नियुक्त नभए निर्मल कुमार थापाको अवकासपछि मात्रै बलाध्यक्ष रथी हुनेछन्।

सैनिक सल्लाहकार भए त्यहाँ रथीकै हैसियत पाउनेछन्। तर नेपाली सेनामा भने थापाको अवकासपछि नै बलाध्यक्ष रथी बन्नेछन्। 

उनलाई राष्ट्रसंघकै सैनिक सल्लाहकारका लागि स्थानीय बढुवा दिएर उम्मेदवार बनाइएको हो। सैनिक सल्लाहकारका लागि रथी तह आवश्यक पर्ने नेपाली सेनाले जनाएको छ।