कोशीका गृहमन्त्री नै मानव तस्करीमा मुछिए

जापानमा हुने कार्यक्रममा कोशी प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री लिलाबल्लभ अधिकारीलाई बोलाएर मानव तस्करी गरिएको खुलासा भएको छ ।

असम्बन्धित व्यक्तिलाई कर्मचारी बनाएर जापान लैजाने प्रयास गरेको घटनामा संलग्न ७ जना पक्राउ परेसँगै घटना बाहिरिएको हो ।कोशी प्रदेश सरकारका आन्तरिक मामिला मन्त्री अधिकारी मन्त्रीपरिषद्लाई जानकारी नगराई जापान गएका थिए ।

उनीसँगै सचिवालय कर्मचारी बनाएर अन्य तीन जनालाई जापान लैजान खोजिएको घटनामा सातजना पक्राउ परेका हुन् । जापान जान खोज्नेमा जनक राई, दावा शेर्पा, देवकोटा थरका एक जना छन् ।

उनीहरूसँग मन्त्रालयको कर्मचारीको नक्कली कार्डसमेत फेला परेको प्रहरीले जनाएको छ । पक्राउ परेकाहरूलाई हिरासतमा राखेर सिआईबीले अनुसन्धान गरिरहेको छ ।

घटनाका विषयमा प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्री परिषद्को कार्यालयले पनि पुष्टि गरेको छ । घटनाका संलग्न गिरोह पक्राउ परेपछि अधिकारीले राजीनामा दिएका छन् ।