एमालेले काठमाडौँमा उपचुनाव हुन लागेका चार वटै सीटमा उम्मेदवार टुंगो
नेकपा एमालेले काठमाडौँमा उपचुनाव हुन लागेका चार वटै सीटमा उम्मेदवार टुंगो लगाएको छ ।
जिल्ला कमिटीको आज बसेको बैठकले कीर्तिपुर नगरपालिकाको मेयरसहित सबै उम्मेदवारको टुंगो लगाएको जिल्ला इन्चार्ज आनन्द पोखरेलले जानकारी दिए ।
महासचिव शंकर पोखरेलको उपस्थितिमा बसेको बैठकले कीर्तिपुरको मेयरमा केन्द्रीय सदस्य डा. सुरेन्द्र मानन्धरलाई उम्मेदवार बनाउन सर्वसम्मत सिफारिस गरेको जिल्ला अध्यक्ष दीपक निरौलाले बताए ।
संवैधानिक कानून विषयमा विद्यावारिधि गरेका कीर्तिपुरका लोकप्रिय नेता मानन्धरलाई सर्वसम्मत रूपमा अघि सारेर नगर कमिटीले विजयी पहल थालेको निरौलाले दाबी गरे ।
त्यस्तै कीर्तिपुर वडा नम्बर १ को अध्यक्षमा हर्ष महर्जन र ४ मा बद्री बुढाथोकीलाई उम्मेदवार बनाउने निर्णय भएको छ । काठमाडौं महानगरपालिका वडा नम्बर १६ को अध्यक्षमा लक्ष्मीरत्न तुलाधरलाई जिल्ला कमिटीले पनि सर्वसम्मत सिफारिस गरेको छ ।
यी सबै उम्मेदवार सम्बन्धित वडा र नगर कमिटीबाट सर्वसम्मत सिफारिस भएको इन्चार्ज पोखरेलले बताए । कुनै पनि उम्मेदवारका नाममा विवाद नभएकाले उपचुनाव परिचालन थप सहज भएको उनको भनाइ छ ।
प्रतिक्रिया