‘पूर्णबहादुरको सारङ्गी’: दर्शकले टिकट पाएनन्
लक्ष्मीपूजाको दिन बिहीबारबाट प्रदर्शनमा आएको चलचित्र ‘पूर्णबहादुरको सारङ्गी’ले देशभर हाउसफुल व्यापार गर्दै दर्शकहरूबाट उच्च प्रशंसा पाइरहेको छ । सुरुवाती दिनहरूमा दर्शक संख्या मध्यम रहे पनि सकारात्मक प्रतिक्रियासँगै शोको संख्या वृद्धि हुँदै २७० भन्दा बढी शोमा पुगेको छ ।
यो चलचित्र देशभर पाएका अधिकांश शो हाउसफूलको अवस्थामा पुगेका छन्, जसका कारण दर्शकहरूलाई टिकट नपाएर अर्को दिनको टिकट काट्नुपर्ने बाध्यता आइरहेको छ । हलहरूले मध्यरातसम्म शो थप्न बाध्य भएका छन् । बिहान ६ बजेदेखि साँझ ११ बजेसम्म शो खुलाउँदा पनि टिकट पाउन सक्ने अवस्था छैन ।
‘पूर्णबहादुरको सारङ्गी’ले शुक्रबारबाट प्रदर्शनमा आएका ‘सिंघम अगेन’ र ‘भूल भुलैया ३’ जस्ता ठूला भारतीय चलचित्रहरूलाई समेत पछि पार्दै उच्च शोहरू प्राप्त गरेको छ ।
गन्धर्व समुदायको कथामा आधारित यस सिनेमाले बाबुछोराको संघर्ष र परिवारिक भावनाहरूलाई मार्मिक रूपमा प्रस्तुत गरेको छ । चलचित्रको कथा र कलाकारहरूको उत्कृष्ट अभिनयले दर्शकहरूमा गहिरो प्रभाव पारेको छ र सिफारिसको क्रममा हाउसफुल शोहरूकै कारण टिकट पाउन कठिन भइरहेको छ । बलियो ‘वर्ड अफ माउथ’का कारण यो चलचित्रले अनुमान र व्यापारिक गणितलाई उल्टाइदिएको छ ।
यो चलचित्रलाई देशकै ठूलो मल्टिप्लेक्स चेन क्यूएफएक्सले दिएको शो संख्यालाई दर्शकको मागसँगै थप्दै आइरहेको छ । विहिबारका लागि मात्रै काठमाडौं र बाहिरका क्यूएफएक्स आउटलेटहरूमा ९४ शो सम्म उपलब्ध गराएको छ । क्यूएफएक्सले काठमाडौंभित्र ४२ शो दिएको छ भने उपत्यकका बाहिर ५२ शोज दिएको छ ।
काठमाडौंदेखि बाहिरका अन्य हलहरूले समेत शोको संख्या थप्दै लगिरहेका छन् । सुरुमा दुई शो उपलब्ध गराएका यी हलहरूले धेरैजसो शो फिलिङ फास्टमा गएपछि मध्यरातसम्मका शो निकालेर अहिले ‘पूर्ण बहादुरको सारङ्गी’का लागि सात शो सम्म पुर्याएका छन् । विहिबारका लागि धेरैजसो हलहरूले आठ शोजसम्म पुर्याएका छन् ।
पाँच दिनमा ४ करोड ८७ लाख ग्रस कमाइ गरे यो सिनेमालाई क्यूएफएक्सले ‘सुपरहिट’को मान्यता समेत दिएको छ । दर्शकको हुटहुटीले बक्स अफिसमा उछाल ल्याएपछि ‘पूर्णबहादुरको सारङ्गी’ले यही अनुरूप चले ‘टर्निङ पोइन्ट’ ल्याउदै घरेलु बक्स अफिसमा यस अघिका चलचित्रका रेकर्ड तोड्ने अनुमान गरिएको छ ।
यस्तै, ‘पूर्णबहादुरको सारङ्गी’ले मंगलबारदेखि अन्तर्राष्ट्रिय बजारमा प्रदर्शन सुरु गरेको छ । टोकियोबाट सुरुवात सिनेमाले विहीबारदेखि अष्ट्रेलिया र मध्यपूर्व, शुक्रबारबाट अमेरिका र बेलायत देशहरुमा समेत प्रदर्शन हुन लागेको छ ।
सरोज पौडेल निर्देशित यस चलचित्रमा विजय बराल, प्रकाश सपूत, मुकुन भुसाल, बुद्धि तामाङ, अञ्जना बराइली, माओत्से गुरुङ लगायतका कलाकारहरूको दमदार अभिनय रहेको छ ।
सेभेन सिस सिनेमा र बासुरी फिल्मसको प्रस्तुति रहेको सिनेमाका निर्माता विनोद पौडेल र प्याट्रिक सुवेदी रहेका छन् भने रमेश चौलागाईं, हरि श्रेष्ठ र रमेश ढकाल कार्यकारी निर्माताका रूपमा छन् ।
प्रतिक्रिया