अनुमति नलिई जापान गएको विषयपछि प्रदेश मन्त्री लिलाबल्लभ अधिकारीले राजीनामा दिँदै

अनुमति नलिई जापान गएको विषय सार्वजनिक भएपछि कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री लिलाबल्लभ अधिकारीले राजीनामा दिने भएका छन् । उनी गत कार्तिक १३ गते कूटनीतिक मर्यादा उल्लङ्घन गर्दै जापान गएका थिए ।

उनले आफू जापान जाँदा मुख्यमन्त्रीलाई जानकारी समेत दिएका थिएनन् । मन्त्री अधिकारीले आफूले राजीनामा दिन लागेको पुष्टि गरे ।  आफ्नो राजीनामाको विषयमा उनले पत्रकार सम्मेलन गरेर जानकारी दिने तयारी गरेका छन् ।

मन्त्रीहरूले विदेश भ्रमणमा जाँदा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमार्फत परराष्ट्र मन्त्रालयको सहमति लिनुपर्ने र विदेश भ्रमणको सहमतिका लागि परराष्ट्र मन्त्रालयमा लेखिपठाउँदा प्रदेश मन्त्रिपरिषद्को निर्णय सहित पठाउनुपर्ने व्यवस्था छ । तर मन्त्री अधिकारी मन्त्रीपरिषद्को निर्णय विपरीत जापान पुगेका थिए ।

मन्त्री अधिकारी मोरङ क्षेत्र नम्बर २ (२) बाट निर्वाचित एमालेका सांसद हुन् । मन्त्री अधिकारी कूटनीतिक मर्यादा विपरीत जापान गएको विषयमा रातोपाटी अनलाइनमा समाचार प्रकाशित भएको थियो ।