प्रहरी हिरासतमै थुनुवाले गरे आत्महत्या

कपिलवस्तुको प्रहरी हिरासतमा रहेका एक युवाले आत्महत्या गरेका छन् ।

जबरजस्ती करणी मुद्दामा गत कात्तिक १५ गते पक्राउ परेको विजयनगर गाउँपालिका–५, ठकुरापुरका २३ वर्षीय नसरुद्दिन खाले इलाका प्रहरी कार्यालय गणेशपुरको थुनुवा कक्षमा रहेको शौचालयमा आत्महत्या गरेका हुन् ।

मङ्गलवार बिहान साढे ५ बजेतिर शौचालय गएका उनी फलामको सरियामा लामो रुमालको पासो बनाएर झुन्डिएको अवस्थामा मृत फेला परेको जिल्ला प्रहरी प्रवक्ता डीएसपी मोहनमणि अधिकारीले जानकारी दिए ।

तिहार बिदा रहेकाले अदालतको सहमति लिएर उनलाई पक्राउ गरिएको थियो । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।