दिनप्रतिदिन चिसो बढ्दै काठमाडौँको तापक्रम कति ?

काठमाडौँ, २१ कात्तिकः दिनप्रतिदिन चिसो बढ्दै गएको छ। यसै क्रममा काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम मंगलबारभन्दा अझ तल झरेको छ। 

मौसम पूर्वानुमान महाशाखाका मौसमविद् सञ्जीव अधिकारीका अनुसार आज बिहान ५:४५ बजेको मापनमा उपत्यकाको न्यूनतम तापक्रम १२.४ डिग्री सेल्सियस देखिएको हो। 

यसअघि मंगलबार काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम मनसुन/पोस्ट मनसुनयताकै कम १३ डिग्री सेल्सियस थियो। आज यसभन्दा पनि मुनि झरेको हो।  

‘राति मौसम सफा अर्थात् आकाशमा बादल लागेन भने बिहान न्यूनतम तापक्रम घट्छ’, मौसमविद् अधिकारीले भने, ‘यस्तै दिउँसो घाम लाग्ने पाएन भने अधिकतम तापक्रम घट्छ।’

२४ घण्टामा सबैभन्दा कम तापक्रमलाई त्यस दिनको न्यूनतम तथा सबैभन्दा बढी तापक्रमलाई अधिकतम तापक्रम भनिन्छ। सामान्यतया हरेक दिन न्यूनतम तापक्रम बिहान ८:४५ बजे र अधिकतम तापक्रम साँझ ५:४५ बजे मापन गरिन्छ।  


मौसमविद् अधिकारीका अनुसार अहिले काठमाडौँ उपत्यकामा मात्र होइन, देशभर नै क्रमशः तापक्रम ओरालो लागिरहेको छ। किनभने विन्टर अर्थात् हिउँदयाम नजिकिँदै छ।