सभापति लामिछानेलाई जग्गा विवरण र बैंक स्टेटमेन्ट मगाएर अनुसन्धान

 सहकारी ठगी प्रकरणमा अनुसन्धानका लागि पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई मंगलबार अदालतमा उपस्थित गराउँदा दिनैभरि पोखरा तनावग्रस्त बन्यो ।

२ कात्तिकमा काठमाडौं पक्राउ गरेर पोखरा ल्याइएका लामिछानेलाई मंगलबार तेस्रो पटक अदालतमा उपस्थित गराइएको हो । रविसँगै गोर्खा मिडियाका पूर्वसञ्चालक तथा उपाध्यक्ष छविलाल जोशी, लिला पछाइ र जीबीका साझेदार नेचर हब्र्सका सञ्चालक रामबहादुर खनाललाई अदालतमा उपस्थित गराइएको थियो । उनीहरु सबैलाई १० दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ ।

रविलाई धरौटीमा छाड्न सक्ने र फेरि पक्राउ गरी रुपन्देही लैजान सक्ने भन्दै बिहान साढे १० बजेदेखि नै रास्वपाका नेता कार्यकर्ता सडकमा उत्रिएका थिए । रास्वपाको प्रदर्शनले दिनभर रत्नचोकदेखि वाइचोकसम्मको क्षेत्र तनावग्रस्त बन्यो ।

निषेधित क्षेत्र तोकिएको शहीदचोक र अदालत क्षेत्रमा प्रदर्शनकारीलाई प्रवेश नदिन वाइचोकदेखि नै प्रहरी परिचालन गरिएको थियो ।प्रदर्शनकारी निषेधित क्षेत्रमा प्रवेश गर्न खोजेपछि प्रहरीले ४ राउण्ड अश्रुग्यास प्रहार गर्‍यो भने लाठीचार्ज र धकेलाधकेल चलिरह्यो । प्रहरीले १६ जनालाई पक्राउ गर्‍यो ।

उता अदालतभित्र भने रविलाई थप २५ दिन हिरासतमै राखेर थप अनुसन्धान गर्न प्रहरीले अनुमति मागेको थियो । गत कात्तिक ८ गते ७ दिन म्याद थप गर्नुअघि इजलासमा आफूमथि प्रतिशोध साँधेको भन्दै भनाइ राखेका रविले मंगलबार भने केही कुरा राखेनन् ।

न्यायाधीश चन्द्रकान्त पौडेलको इजलासमा रविको तर्फबाट वरिष्ठ अधिवक्ता सुशील पन्त, हरि सुवेदी, मेघनाथ पोखरेल, नारायण घिमिरे, जगन्नाथ ढकाललगायतले बहस गरे । उनीहरुले रविको बयानसमेत सकिइसकेको र थप नयाँ तथ्य पनि अदालतमा पेश नभएको भन्दै अब पनि हिरासतमा राखेर अनुसन्धान गर्न खोज्नु गैरन्यायिक हुने बताएका थिए ।

रविले पटक पटक दिएको बयान, संसदीय विशेष छानबिन समितिको प्रतिवेदन, पोखरा महानगर र प्रहरी आफैंले सूर्यदर्शन सहकारीमाथि तयार पारेको वित्तीय प्रतिवेदनले पनि सहकारी ठगीमा रवि दोषी नदेखिएको उनीहरुको दाबी थियो ।

सहकारी ठगीमा प्रक्राउ गरेर थुनिराख्नका लागि नयाँ जाल बुनिराख्ने योजनाअनुसार संगठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्धा पनि ल्याएको वरिष्ठ अधिवक्ता पन्तको भनाइ थियो । राजनीतिक इगो र प्रतिशोधकै कारण रविलाई पक्राउ गरी हिरासतमा राखिराख्ने उद्देश्यले म्याद मागिएकाले न्यायलयले आँखा देख्नुपर्ने तर्क उनको थियो ।

रुपन्देहीमा पक्राउ पुर्जी जारी भइसकेकाले नयाँ पत्ता लगाउनुपर्ने कुरा पनि नभएकाले कास्कीमा थुनिराख्नुनपर्ने उनीको जोड थियो । सरकारी वकिल कार्यालयका जिल्ला न्यायाधिवक्ता कमला काफ्ले, जिल्ला सहायक न्यायाधिवक्ता शान्तिदेवी शर्मा र विपिनराज तिवारीले विभिन्न व्यक्तिका बयान, प्राप्त कागजात, प्रमाणका हिसाबले पनि रविलाई अझै हिरासतमै राखेर अनुसन्धान हुनुपर्ने बताएका थिए ।

जाहेरवालाका तर्फबाट बहस गरेका अधिवक्ता युवराज पराजुलीले गोर्खा मिडियामा लगानी भएका सूर्यदर्शनसहित ५ वटै सहकारी, जीबीले खोलेका विभिन्न संस्थाका मान्छेको पनि संलग्नता देखिएकाले अझै थुनामै राखेर अनुसन्धान हुनुपर्ने माग राखेका थिए । जिल्ला न्यायाधिवक्ता काफ्लेले रविपछि पनि केही व्यक्ति प्रक्राउ परेको र अहिलेसम्मको अनुसन्धानले केही नयाँ तथ्य र अनुहार देखिएको बताएकी थिइन् ।

रविपछि जीबी राईका साझेदार मानिएका नेचर हब्र्स इन्टरनेसनलका सञ्चालक रामबहादुर खनाल पक्राउ परेका थिए । उनलाई पनि मंगलबार नै अदालतमा म्याद थपका लागि रविसँगै पेश गरिएको थियो । पक्राउ परेका व्यक्तिहरुको बयानले पनि रविको संलग्नता देखाएको र अहिलेसम्मको अनुसन्धानले पनि केही नयाँ तथ्य र अनुहार देखिएकाले हिरासतमै राख्नुपर्ने सरकारी वकिलको दाबी थियो ।

‘प्रतिवादीपछि पनि नयाँ नयाँ व्यक्ति पक्राउ परिरहेका छन् । उनको बयानले पनि रविलाई संलग्न देखाएको छ भने अहिलेसम्मको अनुसन्धानले नयाँ तथ्य र अनुहार देखिएका छन् । त्यहाँसम्म पुग्नका लागि पनि हिरासतमै राखिनुपर्छ’, न्यायाधिवक्ता काफ्लेको माग थियो, ‘कहाँ छापा मारिँदैछ, कोको पक्राउ पर्दैछन् भनेर पहिल्यै भन्न मिल्ने कुरा भएन । कतिपय सूचना र तथ्य गोप्य राख्नुपर्ने हुन्छ । त्यसैले पनि हिरासतमै राखेर अनुसन्धान गर्नुपर्ने देखिएको छ ।’

सूर्यदर्शन सहकारी ठगी प्रकरणमा पहिले १९ जनाविरुद्ध पक्राउ पुर्जी जारी भएकामा अहिलेसम्म ६० जनाभन्दा धेरैलाई पक्राउ गर्नुपर्ने देखिएको बताउँदै उनीहरुले अहिलेको अनुसन्धानले पनि थप नयाँ अनुहार देखिएको दाबी गरेका थिए ।

सहकारी ठगीबाट अनुसन्धान संगठित अपराध र सम्पत्ति शुद्धिकरणतर्फ सोझिएको र केही तथ्य तथा प्रमाण आउने प्रक्रियामै रहेको सरकारी वकिलको दाबी थियो ।

सम्पत्ति शुद्धीकरणको मुद्धामा मालपोत कार्यालयबाट विवरण मगाएको र बैंक स्टेटमेन्ट ल्याएर विश्लेषण तथा अध्ययन गर्नुपर्ने भएकाले पनि हिरासतमै राख्नुपर्ने सहायक न्यायाधिवक्ता विपिनराज तिवारीको माग थियो । प्राप्त तथ्य र प्रमाणको विश्लेषण गरेर अर्को चरणमा जानका लागि पनि केही समय अनुसन्धानका लागि आवश्यक पर्ने उनीहरुको जोड थियो । 

‘रास्वपा सिध्याउने प्रपञ्च’

रास्वपाको प्रदर्शनलाई सम्बोधन गर्दै सांसद सोविता गौतमले कांग्रेस–एमालेको सरकारले रास्वपालाई सिध्याउन प्रपञ्च रचेको बताइन् ।

‘सहकारी ठगीको ८७ अर्ब खोइ ? रवि दाइलाई पक्राउ गरेपछि अरु सहकारीको ठगी खोज्न सरकार लागेको छ ? लागेको छैन । किनकि त्यो खोज्ने हो भने उनीहरुकै मानिसहरुको धेरै भेटिनेछन्’, गौतमले भनिन्, ‘यो वैकल्पिक र नयाँ शक्तिमाथिको प्रतिशोध हो । आफ्ना मान्छे जोगाउने र मुद्धालाई विषयान्तर गर्ने षडयन्त्र हो ।’

दोस्रो पटक कात्तिक ८ गते ७ दिनका लागि हिरासतमै राखेर अनुसन्धान गर्न म्याद थप भएपछि रास्वपाले काठमाडौं केन्द्रित आन्दोलन गर्ने बताएको थियो । पोखरामा त्यसपछि रास्वपाको आन्दोलनको प्रभाव थिएन ।

मंगलबार फेरि रविलाई अदालतमा उपस्थित गराउने भए पनि रास्वपाका नेता कार्यकर्ता जिरो किलोमिटरबाट, सिर्जनाचोक, रत्नचोक हुँदै वाइचोकनजिकैसम्म पुगेका थिए ।

रास्वपाले साढे १० बजे प्रदर्शनका लागि नेता कार्यकर्तालाई आह्वान गरेको थियो । प्रहरीले भने त्योभन्दा अगाडि १० बजे नै रविलाई अदालत पुर्‍याएको थियो ।

सूर्यदर्शन सहकारीबाट ५ करोड ५८ लाख ९ हजार रुपैयाँ गोर्खा मिडियामा गएको देखिन्छ । जीबी राई नेतृत्वको देशभरका सहकारीबाट ६५ करोड प्रत्यक्ष रुपमा गोर्खा मिडिया नेटवर्कमा गएको देखिन्छ । संसदीय विशेष छानबिन समितिको प्रतिवेदनमा भएको कारबाहीको सिफारिस र कास्कीमा परेको किटानी जाहेरीका आधारमा रवि र छविलाई पक्राउ गरेर अनुसन्धान अगाडि बढाइएको हो ।

समितिले रवि, छवि र गोर्खा मिडियाकै सञ्चालक तथा सूर्यदर्शन सहकारीका कोषाध्यक्ष कुमार रम्तेललाई पनि कारबाहीका लागि सिफारिस गरेको थियो । रम्तेल पुर्पक्षका लागि कास्की कारागारमै छन् ।

रविमाथि सहकारी ठगीसँगै संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्धामासमेत अनुसन्धान भइरहेको छ । रविलगायतमाथि रुपन्देहीमा पनि पक्राउ पुर्जी जारी भएको छ ।