मनाङेको राजनीतिक दौडमा सर्वाेच्चको ब्रेक, सांसद र मन्त्रीपछि जेलयात्रा

मनाङबाट स्वतन्त्र सांसद बनेर पटकपटक मन्त्री पद खाइरहेका राजिव गुरुङ अर्थात् दीपक मनाङेको राजनीतिक दौडमा सर्वाेच्च अदालतले ब्रेक लगाइदिएको छ। सर्वाेच्चका न्यायाधीशद्वय नहकुल सुवेदी र टेकप्रसाद ढुङ्गानाको इजलासले यसअघि उच्च अदालत पाटनले गरेको दोषी ठहर गर्दै पाँच वर्ष कैद तोक्ने फैसला सदर गरेपछि उनको सांसद पद गुमेको छ। 

२० वर्ष अघि चक्रे मिलनको ज्यान लिने उद्देश्यले भएको घटनामा गुरुङमाथि मुद्दा चलेको थियो।  गुन्डा नाइके रहेका मनाङेले अर्का गुन्डा नाइके चक्रे भनिने मिलन गुरुङमाथि तरबार आक्रमण गरेका थिए। उक्त आक्रमणमा मिलन गुरुङको हात काटिएको थियो ।

तर, अदालतमा मुद्दा विचाराधीन रहेकै बेला उनी गण्डकी प्रदेशसभा सांसद बने। पटक पटक मन्त्री बने। पछिल्लो पटक कांग्रेस र एमालेको गठबन्धन बनेपछि उनलाई यातायात मन्त्रालयबाट वन मन्त्रालयमा सरुवा गरेपछि मन्त्री पद छाडेका थिए। तर,  सर्वोच्चबाट पनि उनी दोषी ठहर भएका छन्।  यो  मुद्दामा मनाङे २ वर्ष जेल सजाय काटिसकेका छन्। अब उनी २८ महिना  जेल जानुपर्नेछ।  तत्कालीन पुनरावेदन अदालत पाटनले मनाङेलाई २०६९ सालमा ५ वर्ष कैद सजाय सुनाएको थियो ।

उनी २०७९ को निर्वाचनमा पनि मनाङेबाटै गण्डकी प्रदेशसभा सदस्य निर्वाचित भएका थिए। तर, अब सांसद पद पनि गुमाउनुपर्नेछ।

प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन ऐन २०७४ तथा निर्वाचन आयोग ऐन २०७३ अनुसार सांसद पद गुमाउने भएका हुन्। कर्तव्य ज्यानसम्बन्धी कसुरमा २० वर्षभन्दा कम सजाय पाएको व्यक्ति सजाय भुक्तान गरेको मितिले ६ वर्षसम्म उम्मेदवार बन्न अयोग्य हुने व्यवस्था ऐनमा छ । साथै सदस्य पदमा निर्वाचित कुनै व्यक्ति उल्लेखित कानूनअनुसार अयोग्य ठहर भएको खण्डमा सांसदबाट पदमुक्त हुने व्यवस्था प्रतिनिधिसभा र प्रदेशसभा ऐनको दफा १६ मा गरिएको छ।उक्त दफाको उपदफा २ अनुसार पदमुक्त भएको जानकारी आयोगले सम्बन्धित व्यक्तिलाई दिनुपर्छ। साथै पदमुक्त भएको सूचना नेपाल राजपत्रमा प्रकाशत गरिनेछ।

हुन् त मनाङे यसअघि पनि हिरासतमा थिए। ०७४ मा प्रदेश सांसद निर्वाचित भएका उनी हत्या प्रयासको अभियोगमा दोषी ठहर भए पनि कारागार चलान नभएको खुलेपछि फरार भएका थिए। तर,  २०७५ मा  पक्राउ परेपनि  सोही वर्ष फागुनमा सर्वोच्चमा उच्चको फैसला विरुद्ध पुनरावेदन दिइएको थियो। सर्वोच्चले उनलाई धरौटीमा राखेर थुनामुक्त गराउँदै बाहिर बसेर पुनरावेदन गर्ने सुविधा दिएपछि उनको राजनीतिक यात्रा फेरि सुरु भएको थियो। तर, अहिले उच्चको फैसला सर्वाेच्चले पनि सदर गरेपछि जेल यात्रा सुरु हुने भएको छ। तर, मनाङे फरार भएका छन्।