पूर्वमुमाबडामहारानी शाहलाई भेट्न नर्भिक अस्पताल पुगे ज्ञानेन्द्र
पूर्वमुमाबडामहारानी रत्नराज्यलक्ष्मी शाहलाई भेट्न पूर्वराजा ज्ञानेन्द्र शाह अस्पताल पुगेका छन्।
श्वास फेर्न गाह्रो भएपछि गत आइतबार राति साढे ८ बजे उनलाई काठमाडौँको नर्भिक अस्पताल भर्ना गरिएको थियो।९६ वर्षीया रत्नको छातीमा संक्रमण देखिएकाले अहिले औषधी चलाइएको र सुधारको सम्भावना देखिएको अस्पतालले जनाएको छ।
मंगलबार साँझ पूर्वमुमाबडामहारानीलाई भेट्न शाह नर्भिक अस्पताल पुगेका हुन्।अस्पतालका अध्यक्ष राजेन्द्रबहादुर सिंहका अनुसार अहिले उनको स्वास्थ्य सुधार हुँदै गएको छ।
राजा महेन्द्रकी श्रीमती रत्न २०११ देखि २०२८ सालसम्म नेपाल अधिराज्यकी रानी थिइन्। २००७ सालमा इन्द्र राज्यलक्ष्मीको निधन भएपछि महेन्द्रले उनकै बहिनी रत्नसँग २ वर्षपछि विवाह गरेका थिए। त्यतिखेर महेन्द्र युवराज नै थिए।
२०६५ सालमा नेपाल गणतन्त्र घोषणा भएपछि पूर्वराजा ज्ञानेन्द्र सपरिवार नागार्जुन बसाइँ सरेका सर्दा रत्नले भने नारायणहिटी राजदरबारभित्रकै महेन्द्र मञ्जिल त्याग्न अस्वीकार गरेकी थिइन्।
उनको बसोवास अहिलेसम्म महेन्द्र मञ्जिलमै छ।
प्रतिक्रिया