एक सय ६२ सडक मानवको उद्धार
काठमाडौँ, २० कात्तिकः तेइस दिनअघि देखि प्रारम्भ भएको मानव सेवा आश्रमको मेची–महाकाली राष्ट्रिय उद्धार यात्रा अभियान आज बागलुङ आइपुगेको छ । आश्रमका केन्द्रीय अध्यक्ष रामजी अधिकारी, उद्धार अभियानका सहयोगकर्ता आनीछोयङ्ग डोल्मा सहितको ५० सदस्यीय समूहले हालसम्म एक सय ६२ सडक मानवको उद्धार गरेको जनाएको छ । समूहले एक सय २१ पुरुष, ३६ महिलाका साथै चारजना बालिका र एकजना बालकको उद्धार गरेको हो ।
अभियानकै क्रममा हाल गण्डकी प्रदेशमा उद्धार अभियान जारी रहेको अध्यक्ष अधिकारीले बताउनुभयो । “पोखरामा दुई बालिकाको उद्धार गरेका छौँ”, उहाँले भन्नुभयो ।
यसैबीच, कार्यक्रममा बागलुङका स्थानीय तीर्थप्रसाद श्रेष्ठले निर्माणाधीन मानव सेवा आश्रमको भवन निर्माणका निम्ति एउटा कोठा बराबरको सहयोग गर्ने प्रतिबद्धता जनाउनुभएको छ । धौलागिरिका चार जिल्ला कार्यक्षेत्र भएको बागलुङ शाखामा ६३ जना सहयोगापेक्षी आश्रित छन् । हाल मानव सेवा आश्रमको भवन बागलुङ नगरपालिका–४ निरयघाटमा निर्माणाधीन छ ।
चाडपर्वमा कोही सडकपेटीमा बस्न नपरोस् भन्ने उद्देश्यले मेची–महाकाली राष्ट्रिय उद्धार अभियान प्रारम्भ भएको हो । अभियानको खर्च गायिका आनीछोयङ्ग डोल्माले व्यहोर्नु भएको हो ।
मेची–महाकाली राष्ट्रिय उद्धार यात्रामा ५० जना यात्री छन् । केन्द्रले सातवटै प्रदेशका १९ जिल्लामा २५ वटा शाखामार्फत सेवा गर्दै आएका छ ।
प्रतिक्रिया