पोखरा महानगरमा आन्दोलनकारी र नगर प्रहरीबिच धकेलाधकेल, नगर प्रहरीको गुप्ताङमा प्रहार

नेकपा एमालेका जनप्रतिनिधिको संलग्नतामा पोखरा महानगरपालिकामा मंगलबार भएको आन्दोलनका क्रममा एक जना नगर प्रहरी घाइते भएका छन् । आन्दोलनकारी र नगर प्रहरीबिच भएको धकेलाधकेलका क्रममा एक जना नगर प्रहरीको गुप्ताङमा प्रहार भएको हो । 

पोखरा महानगर प्रहरी बलका प्रमुख पुरुषोत्तम थापाले नगर प्रहरी सन्तबहादुर केसीको गुप्ताङ्गमा प्रहार हुँदा उनी घाइते भएको जानकारी दिए । उनको गण्डकी मेडिकल कलेजमा उपचार भइरहेको छ ।

‘कसले हान्यो थाहा भएन । खोजी भइरहेको छ । अण्डकोषमा चोट छ । अहिले अस्पतालमा लगेर एक्सरे हुँदैछ’, नगर प्रहरी प्रमुख थापाले  बताए । करार कर्मचारी हटाउने निर्णयको विरोधमा पोखरा महानगरमा एमालेका जनप्रतिनिधिले धर्नासहित आन्दोलन गरेका हुन् । 

उनीहरू आफ्नो मागबारे मेयर र उपमेयरलाई जानकारी गराउने भन्दै भित्र प्रवेश गर्न खोजेपछि नगर प्रहरीले सम्बन्धित व्यक्ति नभएको भन्दै रोकेका थिए । सो क्रममा धकेलाधकेल हुने क्रममा नगर प्रहरीको गुप्ताङ्गमा अज्ञात व्यक्तिले प्रहार गरेको बताइएको छ । 

गत कात्तिक १५ गतेको कार्यपालिका बैठकले करार कर्मचारी हटाउने निर्णय गरेको थियो । सो निर्णयको एमालेले विरोध गर्दै आउँदा महानगरले भने बचाउ गर्दै आएको छ ।