दर्शककाे गुनासाे ‘पूर्णबहादुरको सारङ्गी’ टिकटनै पाइएन !
कात्तिक १५ गते (बिहीबार) लक्ष्मीपूजाको अवसर पारेर रिलिज भएको नेपाली चलचित्र ‘पूर्णबहादुरको सारङ्गी’ले उत्साहजनक व्यापार गरिरहेको छ ।
देशभर एकसाथ प्रदर्शनमा आएको चलचित्रले सुरुवाती दिनमा अकुपेन्सी कम भए पनि, चलचित्रले दर्शकबाट राम्रो प्रतिक्रिया पाउँदै क्रमशः उच्च स्थान बनाएको छ । सुरुवाती दिनमा ५६ शोबाट रिलिज भएको सिनेमा मंगलबारसम्म आइपुग्दा कूल २४० शो हाराहारीमा प्रदर्शन भइरहेको छ ।
दर्शकहरूबाट ‘पूर्णबहादुरको सारङ्गी’को प्रतिक्रिया पनि अत्यन्त सकारात्मक रहेको छ । यो सिनेमा हेरेका दर्शकहरूले प्रशंसा गर्दै अन्यलाई पनि सिफारिस गरिरहेका छन् ।
गन्धर्व समुदायको कथा तथा बाबुछोराको संघर्षको भावपूर्ण कथा प्रस्तुत गरेको ‘पूर्णबहादुरको सारङ्गी’ले परिवारिक भावनाको सम्प्रेषण गरेको भन्दै चलचित्रप्रति दर्शकको रुचि बढिरहेको छ ।
हिजोआज ‘पूर्णबहादुरको सारङ्गी’का अधिकांश शो हाउसफूलको अवस्थामा पुगेका छन्, जसका कारण दर्शकहरूलाई टिकट नपाएर अर्को दिनको टिकट काट्नुपर्ने बाध्यता आइरहेको छ भने कतिपयले टिकटको बेबस्ता मिलाइदिन निर्माण टिमसँगै आग्रह गरिरहेका छन् ।
देशभर काठमाडौंदेखि बाहिरका हलहरूमा समेत शोको संख्या थप्दै लगिएका छन् । यो चलचित्रलाई देशकै ठूलो मल्टिप्लेक्स चेन क्यूएफएक्सले सुरुवाती दिनमा काठमाडौंभित्र र बाहिर समान १९/१९ शो दिएर जम्मा ३८ शो दिएको थियो । ‘सिंघम अगेन’ र ‘भूल भुलैया-३’जस्ता ठूला भारतीय सिनेमाहरूलाई पनि पछाडि पार्दै ‘पूर्णबहादुरको सारङ्गी’ले सोमबारदेखि उच्च शो पाइरहेको छ ।
क्यूएफएक्सले सोमबार ‘सिंघम अगेन’का लागि ६० र ‘भूल भुलैया–३’का लागि ५७ शो दिएको थियो भने ‘पूर्णबहादुरको सारङ्गी’लाई दर्शकको माग अनुसार उच्च शो उपलब्ध गराइरहेका थिए ।
मंगलबार क्यूएफएक्सले यो सिनेमालाई काठमाडौंमा ३१ र काठमाडौंबाहिर ३३ शो दिएको छ । यो चलचित्रले क्यूएफएक्सका आउटलेटमा ६४ शो पाएको छ, जब कि अन्य हलहरूले पनि उच्च शोहरू थपेका छन् । सुरुमा दुई शो उपलब्ध गराएका यी हलले धेरैजसो शो फिलिङ फास्टमा गएपछि मध्यरातसम्मका शो निकालेर अहिले ‘पूर्ण बहादुरको सारङ्गी’का लागि सात शो सम्म पुर्याएका छन् ।
दर्शकको सकारात्मक प्रतिक्रियाले ‘पूर्णबहादुरको सारङ्गी’को लोकप्रियतालाई अझै बढाएको छ, जसले गर्दा थप शोहरूमा दर्शकहरू सहज रूपमा सिनेमा हेर्न पाउनेछन् ।
सिनेमाको कथावस्तु, कलाकारहरूको दमदार अभिनयले ‘पूर्ण बहादुरको सारङ्गी’ लाई नेपाली फिल्म उद्योगमा एउटा प्रभावशाली सिनेमा बन्न सक्ने विश्वास दिलाएको छ । जसका कारण ‘पूर्णबहादुरको सारङ्गी’ले नेपाली सिनेमा उद्योगलाई थप उर्जा दिन र नयाँ उचाइमा पुर्याउन योगदान दिने अपेक्षा निर्माण टिमले गरेको छ ।
यस्तै, यो सिनेमाले मंगलबार देखिनै अन्तर्राष्ट्रिय बजारमा प्रदर्शनी थालेको छ । सुरुवातमा यसले टोकियोबाट अन्तर्राष्ट्रिय यात्रा थालेको छ । यसैगरी आउँदो विहीबारदेखि अष्ट्रेलिया र मध्यपूर्व, शुक्रबारबाट अमेरिका र बेलायतमा प्रदर्शन हुन लागेको छ ।
सरोज पौडेलले निर्देशन गरेको यस सिनेमामा विजय बराल, प्रकाश सपूत, मुकुन भुसाल, बुद्धि तामाङ, अञ्जना बराइली, माओत्से गुरुङ, देशभक्त खनाल, भोलाराज सापकोटा, विनोद न्यौपाने, आलिस बास्तोला, स्वायम् केसी, जान्वी पौडेललगायतको अभिनय छ ।
सेभेन सिस सिनेमा र बासुरी फिल्मसको प्रस्तुति रहेको सिनेमाका निर्माता विनोद पौडेल र प्याट्रिक सुवेदी रहेका छन् भने रमेश चौलागाईं, हरि श्रेष्ठ र रमेश ढकाल कार्यकारी निर्माताका रूपमा छन् ।
प्रतिक्रिया