‘पुष्पा–२’ को ट्रेलर नोभेम्बर १५ मा पटनामा रिलिज हुने

काठमाडौँ, २० कात्तिकः बहुप्रतीक्षित चलचित्र ‘पुष्पा–२’ रिलिजको तयारीमा छ । अभिनेता अल्लु अर्जुनले फिल्मको प्रमोशनको जिम्मा लिएका छन् । 

एक रिपोर्टका अनुसार अल्लु अर्जुन रश्मिका मन्दाना र पूरै टिमसँग छिट्टै ६ सहरमा फिल्मको प्रमोसन गर्दैछन् । फिल्म डिसेम्बर ५ मा रिलिज हुँदैछ भने यसको ग्लोबल स्पेशल प्रिमियर डिसेम्बर ४ मा हुनेछ ।

पिंकभिलाको रिपोर्टका अनुसार अल्लु अर्जुनले नोभेम्बर १५ देखि १५ दिनको लागि पटना, कोच्ची, चेन्नई, बैंगलुरु, मुम्बई र हैदराबादको भ्रमण गर्नेछन्। यो अवधिमा उनले चलचित्रको प्रचारप्रसार गर्नेछन् । सबै कुरा मिल्यो भने फिल्म पुष्प–२ को ट्रेलर पटनामा रिलिज गरिने भएको छ ।

फिल्ममा कुनै कमी नहोस् भन्नका लागि पुष्प–२ को टोलीले हरेक तहमा चलचित्रको प्रचार प्रसार गर्न चाहेको रिपोर्टमा उल्लेख छ । डिसेम्बर ५ मा हलमा रिलिज हुने फिल्मले ठुलो सफलता हासिल गरोस् भन्ने फिल्मका निर्माताहरू चाहन्छन् । उनीहरू यो भारतीय सिनेमामा सबैभन्दा धेरै कमाउने फिल्म बन्न चाहन्छन् ।

यस फिल्मको रिलिज मिति पटक पटक परिवर्तन गरिएको छ । यसअघि डिसेम्बर ६ मा रिलिज गर्ने निर्णय भएको थियो । तर हालै निर्माण पक्षले फ्यानहरूलाई खुसी पार्दै रिलिज डेट एक दिन अघि सारेका थिए ।

सन् २०२१ मा रिलिज भएको 'पुष्पा: द राइज' वर्षको सबैभन्दा धेरै कमाउने भारतीय फिल्म थियो। सबै संस्करणहरूसहित, यो फिल्मले भारतमा मात्र ३१३ करोड भारु र विश्वव्यापी रूपमा ३५० करोडको व्यापार गर्‍यो। सबैभन्दा धेरै कमाउने तेलुगु फिल्मको सूचीमा यो छैटौँ नम्बरमा छ।