पाकिस्तानविरुद्ध अस्ट्रेलियाको जीत

घरेलु टोली अस्ट्रेलियाले पाकिस्तानविरुद्ध एकदिवसीय अन्तर्राष्ट्रिय सिरिको पहिलो खेलमा २ विकेटले विजयी हासिल गरेको छ।

पाकिस्तानले दिएको २०४ रनको लक्ष्य पछाएको अस्ट्रेलियाले ३३.३ ओभरमा ८ विकेट गुमाए २०४ बनायो।

अस्ट्रेलियाका लागि जोश इङ्लिसले ४९, स्टिभ स्मिथले ४४, कप्तान प्याट कमिन्सले अविजित ३२, ज्याक फ्रेसर म्याकग्रुक र मार्नुस लाबुसेनले समान १६, सेन एबोटले १३ र आरोन हार्डीले १० रन बनाए।

तेस्रो विकेटका लागि इङ्लिस र स्मिथले ८५ रनको साझेदारी गरे। पाकिस्तानका लागि हरिस रौफले तीन, शहिन शाह अफ्रिदीले दुई तथा नसिम शाह र मोहम्मद हस्नैनले समान एक विकेट लिए।

त्यसअघि मेलबर्न क्रिकेट मैदानमा टस हरेर पहिले ब्याटिङ गरेको पाकिस्तानले ४६।४ ओभरमा सबै विकेट गुमाउँदै २०३ रन बनाएको थियो।

पाकिस्तानका लागि ब्याटिङतर्फ कप्तान मोहम्मद रिजवानले ४४, निशम शाहले ४०, बाबर आजमले ३७, शहिन शाह अफ्रिदीले २४, इर्फान खानले २२ तथा अब्दुल्लाह शफिक र सलमान अघाले समान १२ रन बनाए।

बलिङतर्फ अस्ट्रेलियाका लागि मिचेल स्टार्चले तीन, एडम जाम्पा र प्याट कमिन्सले समान तीन तथा सेन एबोट र मार्नुस लाबुसेनले समान एक विकेट लिए।

योसँगै अस्ट्रेलियाले तीन खेलको एकदिवसीय सिरिजमा १–० को अग्रता बनाएको छ। दोस्रो खेल अब आठ नोभेम्बरमा हुने छ।