ओलीको हत्या दशरथ रंगशालामा तत्काल गर्न उक्साउने रतन कार्की नेपाल प्रहरीकाे निगरानीमा
प्रधानमन्त्री केपी शर्मा ओलीको हत्या दशरथ रंगशालामा तत्काल गर्न उक्साउने रतन कार्कीलाई नेपाल प्रहरी र जापानस्थित नेपाली दूतावासले निगरानीमा राखेका छन् ।
तिहारअघि बुधबार काठमाडौंको रंगशालामा सम्पन्न दक्षिण एशियाली महिला फुटबल प्रतियोगिताको फाइनलमा प्रधानमन्त्री ओलीविरुद्ध चर्का नाराबाजी र हत्याका लागि उक्साहटसमेत गरिएपछि प्रहरीले त्यस्ताको व्यापक खोजी गरेको थियो ।
फुटबल हेर्न रंगशाला पुग्नुभएका प्रधानमन्त्रीको हत्या त्यहाँभित्रै गर्न सामाजिक सञ्जालमा उक्साउने रतन कार्कीको बारेमा प्रहरीले सबै नालिबेली फेला परिसकेको बताएको छ । जापानमा बस्दै आएका उनले टेलिभिजनमा प्रतियोगिता हेर्दै सामाजिक सञ्जालमा रंगशालाका दर्शकलाई प्रधानमन्त्रीको हत्या गर्न उक्साएका थिए ।
उनले फेसबुक लाइभ गर्दै भनेका थिए, ‘आज गरौं यत्तिचाहिँ गरिहालौं के ! आज गरिएन भने हामी धेरै पछुताइन्छ । आँटौं साथीहरु आज । तपाईंहरुले गेम हेरिरहनुभएको होला,तर मैले अरु नै केही हेरिरहेको छु । आज हामीले चाहेम भने मार्न सकिन्छ । यत्रो मान्छे छन् एउटा ग्रुुप बनाएर घेर्ने हो भने फ्याट्टै मार्न सकिन्छ । मारेपछि मारेको मार्यै हुन्छ । आँटम त आज । आज आँटी हालौं,धेरै टाइम पनि छैन । बूढो गइहाल्छ मतलब उता जान पनि टाइम छैन, उता जान पनि छैन । बुझ्नु न यत्ति चाँही गरौं के । आज गरिएन भने पछुताइन्छ साथीहरु ।’ त्यसो भनेपछि उनी रुन्चे स्वर र अनुहारमा प्रस्तुत भएका थिए ।
प्रहरी र जापानस्थित नेपाली दूतावासले प्राप्त गरेको प्रारम्भिक विवरणअनुसार कार्की असाध्यै अराजक र असभ्य मानिस हुन् । उनीसहित अरु धेरै जनाको बारेमा प्रहरीले थप विवरण प्राप्त गरिसकेको बुझिएको छ ।
प्रतिक्रिया