तिहारमा पटाका आतङ्क, के गर्दैछ प्रहरि ?
तिहारको समयमा पटाका पड्काउने गतिविधि नियन्त्रण गर्न प्रहरीले कडा निगरानी गरिरहेको दाबी गरेपनि काठमाडौं उपत्यकासहित देशका विभिन्न ठाँउहरूमा पटाकाजन्य पदार्थ पड्काउने क्रम रोकिएको छैन । प्रहरीको चेतावनी र निगरानीका बाबजुद पनि पटाका पड्काउँदै रमाइलो गर्नेको संख्या बढेको छ ।
वातावरणविद्हरूले तिहारमा पड्काउने गरिएको पटकाका कारण वायु तथा ध्वनी प्रदूषण बढ्ने भन्दै कडाइका साथ नियन्त्रण गर्नुपर्नेमा जोड दिएका छन् । यसले जनस्वास्थ्यमा प्रत्यक्ष रूपमा नकारात्मक असर परेको उनीहरूको भनाइ छ ।
एयर क्वालिटी इन्डेक्सले समेत पछिल्ला दिन काठमाडौको समग्र वायु प्रदुषित भइरहेको रिपोर्ट देखाइरहेको छ । पटाका पड्काउँदा सल्फरडाइअक्साइड, नाइट्रोजन अक्साइड, कार्बन मोनोअक्साइड जस्ता रासायनिक पदार्थहरू वायुमण्डलमा फैलिन्छन् र वातावरणमा नकारात्मक प्रभाव पार्छन् । अर्कोतर्फ बालबालिका, वृद्धवृद्धा र बिरामी मानिसहरूलाई यसले समस्या निम्त्याएको छ ।
चाडपर्वको सुरक्षामा पटाका, जुवातास तथा लागुपदार्थ नियन्त्रणलाई प्राथमिकता दिइएको प्रहरीको दाबी छ । उपत्यकाका १० वटै नाकामा सुरक्षा निगरानीको प्रयास गरेको र विभिन्न क्षेत्रमा जाँच अभियान चलिरहेको नेपाल प्रहरीका प्रवक्ता दानबहादुर कार्कीले बताएका छन् । जुवातास र पटाकाजस्तो वस्तुहरूको प्रयोगमा वृद्धि भएकाले यसलाई केन्द्रित गरेर सुरक्षा निगरानी बढाइएको उनले उल्लेख गरे । साथै पटाका प्रयोगमा संलग्न व्यक्तिमाथि कारबाही समेत भइरहेको प्रवक्ता कार्कीले जनाए ।
पटाका र पटकाजन्य पदार्थहरू विष्फोटक पदार्थको रूपमा मानिन्छन् । तसर्थ, तिहारको समयमा गैरकानुनी गतिविधिमा संलग्न भएमा कानुनी कारबाहीको सामना गर्नुपर्ने प्रहरीले चेतावनी दिएको छ ।
मुलुकी अपराधसंहिता, २०७४ मा विस्फोटक पदार्थ उत्पादन गर्न नहुने र त्यसका लागि कडा सजायको व्यवस्था गरिएको छ । यदि कसैले इजाजतपत्र बिना विस्फोटक पदार्थ उत्पादन गरेमा १० वर्षसम्मको कैद र एक लाखसम्मको जरिवाना हुनसक्छ ।
पटाका पड्काउँदा विभिन्न प्रकारका असरहरू देखिन सक्छन्, जुन सामान्यदेखि गम्भीरसम्मका हुन्छन् ।
-पटाकाबाट उत्पन्न हुने धुँवा र हानिकारक ग्यासहरूले श्वासप्रश्वासमा समस्या पैदा गर्छ । दम र एलर्जी भएका व्यक्तिहरूमा यो अझ खतरनाक हुनसक्छ ।
-पटाकाको ठूलो आवाजले कानमा क्षति पुर्याउन सक्छ, जसले अस्थायी वा स्थायी बहिरोपन निम्त्याउन सक्छ ।
-पटाका पड्काउँदा जल्न सक्ने, चोट लाग्न सक्ने, वा अन्य दुर्घटना हुने सम्भावना उच्च हुन्छ । विशेषगरी, बालबालिकामा यो जोखिम बढी हुन्छ ।
-पटाकाका उच्च आवाजले मानिसहरूमा मानसिक तनाव उत्पन्न गर्न सक्छ । विशेषगरी वृद्धवृद्धा, बिरामी र मानसिक समस्या भएका व्यक्तिहरूलाई यसले प्रभावित पार्छ ।
-पटाकाको ठूलो आवाजले बालबालिकामा डर र त्रासको भावना पैदा गर्न सक्छ, जसले उनीहरूको मानसिक स्वास्थ्यमा असर पर्न सक्छ ।
-पटाका पड्काउँदा कुकुर, बिरालो, पन्छीहरू डराउँछन्, जसले उनीहरूको व्यवहारमा नकारात्मक असर पुर्याउन सक्छ ।
-यसबाट सल्फर डाइअक्साइड, नाइट्रोजन अक्साइड, कार्बन मोनोअक्साइडजस्ता हानिकारक ग्यासहरू उत्सर्जित हुन्छन्, जसले वायु प्रदूषणको मात्रा बढाउँछ ।
-पटाकाको उच्च ध्वनिले शान्त वातावरणलाई अशान्त बनाउँछ, जसले जनस्वास्थ्यमा नकारात्मक असर पार्न सक्छ । यो खासगरी सहरी क्षेत्रमा गम्भीर समस्या हो ।
-पटाकाबाट निस्कने रसायन र अवशेषले माटो र पानी प्रदूषित गर्छ, जसले वातावरणलाई दीर्घकालीन असर पुर्याउँछ ।
-पटाका पड्काउँदा आगलागी हुने सम्भावना उच्च हुन्छ । असावधानीपूर्वक प्रयोग गर्दा पटाकाबाट आगो सल्कन सक्छ, जसले घर र अन्य संरचनामा क्षति पुर्याउन सक्छ ।
प्रतिक्रिया