अर्को तीन वर्ष ओली-देउवाकै शासन चल्दा देशको के बेहाल हुने होला ? : रवि लामिछाने

सहकारी ठगी प्रकरणमा यही कार्तिक पहिलो सातादेखि कास्की प्रहरीको हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले ‘अर्को तीन वर्ष ओली-देउवाकै शासन चल्दा देशको के बेहाल हुने होला ?’ भन्दै प्रश्न गरेका छन् । 

रास्वपाका उपसभापति डा. स्वर्णिम वाग्लेले हिरासतमा रहेका सभापति लामिछानेसँग भेट गरेका हुन् । भेटका क्रममा रविले आफूसँग त्यस्तो प्रश्न गरेको उनले उल्लेख गरेका छन् । 

हिरासतमा रविसँगको भेटबारे जानकारी दिँदै वाग्लेले अहिलेसम्म लामिछानेलाई सहकारीभन्दा कम्पनी ऐनतर्फ लक्षित गरेर ८० वटा सामान्य प्रश्नको बयान लिइएको पनि बताएका छन् ।  

‘लामिछानेजीसँग हिजो साँझ भेट भयो। सहकारीभन्दा पनि कम्पनी ऐनतर्फ लक्षित ८० वटा सामान्य प्रश्नको बयान सकिएको, खासै नयाँ कुरा नआएको, र मनोबल उच्च रहेको पाएँ । अर्को तीन वर्ष ओली-राणा-देउवाकै सेरोफेरोमा शासन चल्दा देशको के बेहाल हुने होला ?’ भेटबारे खुलाउँदै रविले प्रश्न गरेको उनले सामाजिक सञ्जालमा लेखेका छन् ।