काठमाडौं विश्वको ८औं प्रदूषित सहरको सूचिमा
नेपालीहरुको दोस्रो ठूलो चाड तिहारसँगै लुकिछिपी पड्काउने पटकाका कारण वायु प्रदूषण बढेको छ ।
एयर क्वालिटी इन्डेक्स’ ले शुक्रबार साँझ काठमाडौको समग्र वायु गुणस्तर सूचकाङ्क (एक्यूआई) एक सय ६० रहेको जनाएको छ ।
एक दिनअघि अर्थात् बिहीबार मात्रै काठमाडौँमा एक्यूआई एक सयभन्दा कम देखिएको थियो । इन्टेक्सका अनुसार शुक्रबार साँझसम्म काठमाडौं विश्वको आठौँ प्रदूषित सहरको सूचिमा सूचिकृत रहेको छ । चीनको बेइजिङ विश्वको पहिलो प्रदूषित सहरको रुपमा सूचिकृत भएको छ ।
एयर क्वालिटी इन्डेक्स’का अनुसार एक्युआई शून्यदेखि ५० राम्रो अर्थात् ग्रीन सङ्केतले चिनिन्छ । ५१ देखि एक सयसम्मको एक्युआइलाई होसियार रहुँ अथवा पहेँलो सङ्केतले चिनिन्छ । यसै गरी १०१ देखि १५० सम्मलाई अस्वस्थ जसमा श्वासप्रश्वास र मुटु रोगका बिरामीलाई असर गर्छ भन्न्ने बुझिन्छ । १५१ देखि २०० सम्मको एक्युआइलाई पनि अस्वस्थ तर सबैलाई असर गर्छ भन्ने बुझिन्छ । २०१ देखि ३०० सयलाई धेरै अस्वथ्य मानिन्छ ।
काठमाडौं उपत्यकाको लागि वायु गुणस्तर व्यवस्थापन कार्ययोजना, २०७६ ले पनि नेपाल सरकारले निर्धारण गरेको एक्युआईको मान ३०० भन्दा बढी भएको अवस्थालाई विपद्को रुपमा लिने उल्लेख गरेको छ । पटाका पट्काउँदा विभिन्न रासायनिक पदार्थहरु जस्तै सल्फर डाइअक्साइड, नाइट्रोजन अक्साइड, कार्बन मोनोअक्साइड र धुलोका कणहरु वायुमण्डलमा फैलने र प्रदूषण बढाउने भन्दै सतर्कता अपनाउन वातावरणविद्हरुले आग्रहसमेत गरेका छन् ।
प्रतिक्रिया