तिहारमा केन्द्र सरकारका कार्यालय बन्द, काठमाडौं महानगर एक्सनमा
तिहार लागेसँगै केन्द्र सरकारका कार्यालयमा सार्वजनिक विदा छ। तिहारका बेला बजार अनुगमनमा सक्रिय हुनुपर्ने वाणिज्य विभाग र खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका कर्मचारी पनि बिदामा छन्। चाडपर्वमा खाद्य तथा अन्य वस्तुमा कालोबजारी हुन्छ।
तर, कालोबजारी रोक्ने जिम्मेवारी पाएको वाणिज्य विभागमा विदा लागेको छ भने अखाद्य वस्तु मिसावट भएका मिठाइ बजारमा छ्यापछ्याप्ती हुँदा पनि खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयले देखेको छैन, हुन त यो कार्यालयका कर्मचारी पनि विदामा छन्।
त्यति मात्र होइन सरकारले गत वर्ष नै प्लास्टिकका फूल, गुच्छा आयात र प्रयोगमा रोक लगाएको थियो। तर प्रभावकारी कार्यान्वयन भएको छैन, भन्सार विभागकै मिलोमतोमा भारतबाट प्लास्टिकका फूलमाला आयात भएका छन्। अहिले बजारमा प्लास्टिकका फूलमाला छन्। तर, प्लास्टिकको फूलमाला प्रयोग भए, नभएको अनुगमनको जिम्मेवारी भएको संघ सरकारकै वातावरण विभागमा पनि विदा लागेको छ।
केन्द्र सरकारका कार्यालयमा सार्वजनिक विदा लागेका बेला स्थानीय तह भने प्लास्टिकका फूलमाला प्रयोगमा रोक लगाउन सक्रिय भएका छन्। काठमाडौं महानगरपालिकाले बजार अनुगमनलाई तीव्रता दिएको छ।
मेयर बालेन शाहको निर्देशनअनुसार अहिले काठमाडौंका बजारबाट प्लास्टिकका फूलमाला जफत भइरहेका छन्। काठमाडौं महानगरले प्रयोगका लागि निषेध गरेको ३५ बोरा प्लास्टिकको माला बरामद गरेको छ। महानगर प्रहरीले विभिन्न पसलबाट प्लास्टिकका माला बरामद गरेको महागर प्रहरी प्रमुख राजुनाथ पाण्डेले बताए।
महानगरले कात्तिक १४ गतेदेखि प्लास्टिकको माला, विदेशी फूलको प्रयोग र भण्डारणको अवस्थाबारे अनुगमन गरिरहेको छ। अनुगमनका क्रममा कोटेश्वरबाट ना ४ ख ३१६८ नम्बरको मालवाहक सवारीबाट विदेशी फूलका माला बरामद गरिएको पनि पाण्डेले जनाए। महानगरले फूल व्यापारीलाई सहजताका लागि ४६ स्थानमा निःशुल्क स्वदेशी फूल बिक्री स्थान तय गरेको छ।
महानगरले प्लाष्टिकजन्य फूल तथा सजावटका सामग्री विक्री वितरणमा रोक लगाउँदै स्वदेशमा उत्पादन भएका फूलको व्यापारलाई प्रवर्धन गरिएको छ।
‘स्वदेशी फूल व्यापारी किसानले आफूलाई पायक पर्ने स्थान छनोट गरेर विक्री गर्न सक्नुहुनेछ। यसका लागि सम्पर्क व्यक्तिको नम्बर वा महानगर प्रहरी बलको क्षेत्रबाट पनि सहजीकरण काम हुनेछ,’ मेयर बालेन शाहले भनेका छन्, ‘जानकारीका लागि काठमाडौं महानगरपालिकाको निःशुल्क नम्बर ११८० मा कल गर्न सक्नु हुनेछ । वा नगर प्रहरीको हटलाइन नम्बर ०१५९०१७६३, ९८५१३५६५०९ मा कल गरेर थप जानकारी लिन सक्नु हुनेछ।’
महानगरले तिहार, नेपाल संवत् तथा छठ पर्वका अवसरमा कात्तिक १४ देखि १७ गतेसम्म चार दिनका लागि मल, मार्ट, पार्क, पार्टी प्यालेस, विजनेस सेन्टरमा किसानहरुलाई निःशुल्क स्थान उपलब्ध गराएको छ। गत वर्षदेखि महानगरले किसानलाई स्वदेशी फूल बिक्रीस्थल उपलब्ध गराउन थालेको हो।
तिहारमा फलफूलको खपत बढ्ने गर्छ। तिहारको समयमा काठमाडौं उपत्यकामा मात्रै २५ करोड रूपैयाँ बराबरको फलफूल खपत हुने अनुमान गरिएको छ। अहिले बजारमा चीनबाट ल्याएको स्याउ अंगुर आँप हलुवावेद, भारतबाट सुन्तला, केरा, स्याउ, खर्बुजालगायत विभिन्न फलफूल आइरहेको नेपाल फलफुल थोक व्यवसायी संघका अध्यक्ष अमर बानियाँले बताए। नेपालमै पनि पर्याप्त मात्रामा स्याउ र केरा उत्पादन भएको संघले जनाएको छ ।
प्रतिक्रिया