खेल्नका लागि प्रतिबन्धित तास किन हुन्छ आयात ? काे भन्छ कानुन ?
तिहार सुरु भएसँगै पुलिसले देशभरि तास खेल्नेहरूमाथि चर्को कडाइ गरिरहेको छ । पछिल्लो एक महिनामा मात्रै ३६० जना तास खेलिरहेको अवस्थामा पक्राउ परेका छन् ।
तर, अर्को रोचक तथ्य के छ भने, यो वर्षको साउनदेखि असोजसम्म तीन महिनामै नेपालमा करिब ४० लाख गड्डी तास आयात हुँदा करोडौँ रुपैयाँ राजस्व उठेको छ ।
अब प्रश्न उठ्छ – खेल्न त रोक लगाउने, तर यसरी भारी परिमाणमा तास भित्र्याउने आखिर किन ?भन्सार विभागको आँकडाले देखाएको छ कि तीन महिनामा मात्रै नेपालले १२ करोडभन्दा बढीको तास आयात गरेको छ, जसबाट झन्डै ७ करोड रुपियाँको राजश्व उठेको छ ।
विशेष गरी चीन, भारत, अमेरिका, र बेलायतबाट आयात हुने तासको मूल्य दशैँ र तिहारको समयमा झनै बढ्ने गरेको छ ।
यसबाट नेपालको राजश्वमा तासको हिस्सा उल्लेखनीय बनेको देखिन्छ । तर, कानुनको कठोरताले तास खेल्न नदिने हो भने, राज्यले तास भित्र्याएर किन आम्दानी लिँदै छ ?
कस्तो छ कानुन ?
नेपालको मुलुकी अपराध संहिता २०७४ को धारा १२५ मा जुवा खेल्न र खेलाउन पूर्णतः प्रतिबन्ध लगाइएको छ । पहिलो पटक जुवा खेल्न समातिएमा तीन महिनासम्मको कैद र ३० हजार रुपियाँ जरिवाना हुने प्रावधान छ । यस कारण, विशेष गरी चाडपर्वको समयमा प्रहरीले तास खेल्नेहरूमाथि सघन निगरानी बढाउँछ ।
प्रहरी अधिकारीहरूको भनाइमा, ‘जुवातासले समाजमा विकृति फैलाउने भएकाले यसको नियन्त्रण गरिएको हो । कानुनको पालना गर्दै कारबाही गर्दा हामीले तास खेल्न नदिने अभियानलाई प्राथमिकतामा राखेका छौँ ।’ तर, पुलिसको यो अभियान र सरकारको तास आयातले अनौठो विरोधाभास खडा गरेको छ ।
तास आयात किन खुला ?
आर्थिक तथ्यांकले देखाउँछ कि पछिल्लो पाँच वर्षमा नेपालले झन्डै २ अर्ब २३ करोड रुपियाँ बराबरको तास आयात गरिसकेको छ, जसबाट सवा एक अर्बभन्दा बढी राजश्व उठेको छ ।
भन्सारमा तासको आयातलाई छुट्टै ढाँचा लागू गरिएको छ । भारत र सार्क देशबाट ल्याउँदा ३३.३१ प्रतिशत कर लाग्छ भने चीनबाट ल्याउँदा ६१.५९ प्रतिशत कर लाग्छ ।
तर, सरकारले तास आयातमा त ध्यान दिएको छ, तर खेल्न नपाइने व्यवस्था कायम छ ।
विरोधाभासको विडम्बना
तासलाई नेपाल भित्र्याएर राजश्व त बटुल्ने तर, त्यही तास खेल्दा कानुनी जोखिममा पार्ने यो अवस्थामा धेरैलाई प्रश्न उठ्नु स्वाभाविक हो ।‘यदि खेल्न नपाउने हो भने सरकारले तास भित्र्याउनुको कारण के ?’ यो प्रश्नले नेपालका नीति निर्मातालाई घच्घच्याइरहेको छ ।दशैँ र तिहारजस्ता चाडपर्वका समयमा नेपाली समाजमा तास खेल्न प्रचलन छ । हरेक वर्ष जस्तै यसपालि पनि तास खेल्नेहरूको जमात देशभरि भेटिन्छ ।
प्रतिक्रिया