फिल्म ‘१२ गाउँ’ काे तीन हप्ताकाे कमाइ कति ?
चलचित्र ‘१२ गाउँ’ले तीन हप्तामा साढे २३ करोड रुपैयाँ ग्रसकलेक्सन गरेको छ । फूलपातीका दिन रिलिज भएको चलचित्रले तीन हप्तामा २३ करोड २५ लाख रुपैयाँ ग्रसकलेक्सन गरेको हो ।
विराज भट्टले निर्देशन गरेको चलचित्रमा विराज स्वयं र उनका छोरा समीर भट्ट मुख्य भूमिकामा छन् ।
विराज भट्टले यसको सिक्वेल पनि चाँडै बन्ने बताएका छन् । “अर्को दसैँ र तिहारसम्म हामी अर्को चलचित्र लिएर आउँछौँ । हामीले केही तयारी गरिसकेका छौँ,” विराज भन्छन्, “अब केही समयमै अर्को सिनेमा निर्माणको प्रोसेस अगाडि बढाउँछौँ ।”
उनले अब अर्को चलचित्र निर्माणमा ढिलो नगर्ने उनले स्पष्ट पारे । “समीरको बलिदानको काम सकिएपछि हामी हाम्रो चलचित्र निर्माणतर्फ लागिहाल्नेछौँ,” विराज भन्छन्, “आउँदो दसैँ र तिहारमा हाम्रो चलचित्र दर्शकले हेर्न पाउनुहुनेछ ।” ‘१२ गाउँ’बाट समीर भट्टसँगै दुई अभिनेत्री पूर्वमिस नेपाल इन्टरनेशनल न्यान्सी खड्का र मोडल सनिशा भट्टराईले पनि डेव्यु गरेका छन् ।
सिनेमामा विराज, समीर, न्यान्सी र सनिशासँगै मुरलीधर, कनिज कोइराला, नरेन खड्का, दीया मास्के, कृष्ण भट्ट, सोनु चन्द्रपाल, कालु राना, अर्जुन जंग शाही, भिष्म जोशी, शुलेमान शंकर (इकु), तारा शर्मा, किशोर भट्ट, सन्तोष सरकार र स्टन्ट शिल्भाको अभिनय रहेको छ ।
विराज भट्ट फिल्म पोडक्सन प्रस्तुतिमा निर्माण भएको सिनेमामा अर्जुन पोखरेल र निरजको संगीत, रामजी लामिछाने, सुनिल क्षेत्री र कविराज गहतराजको कोरियोग्राफी तथा प्रवीन केएल र भुपेन्द्र अधिकारीको सम्पादन रहेको छ । सिनेमामा विराज स्वंयमको कथा र सन्तोष सरकारको पटकथा तथा संवाद लेखन रहेको छ ।
एक्सन–थ्रिलर कथामा बनेको सिनेमाका लागि विराजले भारतबाट द्वन्द्व निर्देशक ल्याएका थिए । तमिल तथा कन्नड सिनेमाका द्वन्द्व निर्देशक स्टन्ट सिल्भालाई नेपाली सिनेमा सफल द्वन्द्व निर्देशनमा शंकर महर्जनले सघाएका छन् ।
महेश पौडेल छायांकन रहेको सिनेमाको काठमाडौं, ललितपुर, विरगञ्ज र हेटौंडामा छायांकन गरिएको छ । सिनेमाको वितरण काफिया फिल्मस् र कुवेर सिने डिष्ट्रिव्युसनले गरेको छ ।
प्रतिक्रिया