हङकङ सिक्सेस – नेपाल र इङ्ग्ल्याण्ड आज खेल्दै

 २०औं द हङकङ सिक्सेस प्रतियोगिताको आफ्नो पहिलो खेलमा आज नेपालले इङ्ग्ल्याण्डको सामना गर्दैछ ।

खेल मिसन रोड ग्राउण्डमा नेपाली समय अनुसार शुक्रवार बिहान ७ः१० बजे सुरु हुनेछ । ३ पटकको च्याम्पियन इङ्ग्ल्याण्डसँग प्रतियोगितामा पहिलो पटक सहभागी नेपालले खेल्न लागेको हो ।  खेलमा इङग्ल्याण्डको कप्तानी अलराउन्डर रवि भोपाराले गर्नेछन् । नेपाली टोली सन्दीप जोराको कप्तानीमा रहेको छ ।

प्रतियोगितामा नेपाल समूह बीमा अस्ट्रेलिया र इङ्ग्ल्याण्डसँग रहेको छन् । प्रतियोगितामा नेपालको दोस्रो खेल अस्ट्रेलियासँग कात्तिक १७ गते रहेको छ । प्रतियोगितामा १२ टोलीको सहभागीता रहेको छ । सहभागी १२ टोलीलाई ४ समूहमा विभाजन गरिएको छ ।

समूह ‘ए’ मा साविक विजेता दक्षिण अफ्रिका, न्युजिल्यान्ड र हङकङ तथा समूह बी मा नेपाल, इङ्ग्ल्याण्ड र अस्ट्रेलिया रहेका छन् ।समूह ‘सी’ मा भारत, पाकिस्तान र युएई तथा समूह डी मा श्रीलंका, बंगलादेश र ओमान छन् । हरेक समूहका शीर्ष २ टोली क्वाटरफाइनलका लागि छनोट हुनेछन् ।

प्रतियोगिताको सेमिफाइनल र फाइनल खेल कात्तिक १८ गते हुनेछ । सन् २०१७ मा भएको प्रतियोगिताको पछिल्लो संस्करणमा पाकिस्तानलाई पराजित गर्दै दक्षिण अफ्रिका विजेता बनेको थियो । प्रतियोगिताका खेलहरुमा हरेक टोलीबाट छ खेलाडी सहभागी हुनेछन् ।

सिक्सेस क्रिकेटका नियमहरु :

१) एक टिमबाट प्रत्येक खेलमा ६ खेलाडीले सहभागीता जनाउनेछन् ।

२) फिल्डिङ टोलीका विकेटकिपर बाहेकका हरेक सदस्यले एक ओभर बलिङ गर्ने छन् ।

३) प्रत्येक वाइड र नो-बलमा टिमले समान २ रन दिइने छ ।

४) ६ विकेट झरेपछि एक इनिङ समाप्त हुनेछ ।

५) एउटा ब्याट्सम्यानले नट आउट ३१ रन बनाए पछि रिटार्यट आउट लिन सक्नेछ । तल्लो क्रमका ब्याट्सम्यानले रिटायर्ट वा आउट भएपछि उसले फेरी क्रिजमा फर्किन सक्छन् ।

इङ्ग्ल्याण्डको टोली – रवि भोपारा(कप्तान), एलेक्स डेभिल्स, इडि बर्नाड, इथान ब्रुक्स, जोर्डन थम्पसन र स्मिथ पटेल

नेपाली टोली – सन्दीप जोरा(कप्तान), लोकेश बम, नारायण जोशी, दिपेन्द्र रावत, प्रतिस जिशी, राशिद खान र विवेक यादव मुख्य प्रशिक्षक – ज्ञानेन्द्र मल्ल