बंगलादेश महिला फुटबल टोलीका फुटबल प्रशिक्षक पिटर बटलरले टिम छाड्ने संकेत
काठमाडौंमा भएको सातौं संस्करणको महिला साफ च्याम्पियनसिपको उपाधि जिताएका बंगलादेशका फुटबल प्रशिक्षक पिटर बटलरले टिम छाड्ने संकेत गरेका छन् । पछिल्लो समय टिमका खेलाडीसँग उनको सम्बन्ध चिसिकिएको बंगलादेशका सञ्चारमाध्यमहरुले फाइनल अघि नै खबरहरु प्रकाशित गरेका थिए ।
बंगलादेशका मुख्य प्रशिक्षक पिटर बटलरले यस साफ च्याम्पियनसिपको जितपछि टिममा जिम्मेवारी लम्ब्याउन नचाहेको बताएका छन् ।करारको अवधि यही डिसेम्बर ३१ मा समाप्त हुँदैछ र त्यसपछि उनी बंगलादेशको महिला फुटबल टोलीको जिम्मेवारीमा रहने छैनन् ।
पिटरले यसबारे बुधबार राति नै मिडियामा जानकारी दिएका थिए ।
बंगलादेशको फाइनल जितपछि उत्सवमा पनि सहभागी हुन अस्वीकार गर्दै भने “म साँच्चै थाकेको छु। मैले मेरो कोचिङ करियरमा यति धेरै समस्या कहिल्यै सामना गरेको थिइनँ ।’ उनले तीन महिनादेखि आफ्नो तलब नपाएको पनि खुलासा गरे ।
यो आफ्नो अन्तिम खेल भएको पनि बताए । पिटरलाई महिला फुटबल टोलीको प्रशिक्षकको रूपमा गत मार्चमा नियुक्त गरिएको थियो । उनी मूलतः बंगलादेश फुटबल फेडरेशनको एलिट एकेडेमीमा काम गर्न ल्याइएका थिए । एक वर्षको कोचिङ पछि उनलाई महिला टोलीको जिम्मेवारी दिइएको थियो । बंगलादेशले लगातार दोस्रो पटक साफ च्याम्पियनसिप जित्दै इतिहास भने रचेको छ ।
प्रतिक्रिया