म्यानचेस्टर युनाइटेडकाे मुख्य प्रशिक्षकमा रुबेन आमोरिम
पोर्चुगिज क्लब स्पोर्टिङ सीपीका मुख्य प्रशिक्षक रुबेन आमोरिमले इंग्लिस क्लब म्यानचेस्टर युनाइटेड सम्हाल्ने भएका छन् ।
युनाइटेडले खराब प्रदर्शन पछि मुख्य प्रशिक्षक एरिक टान हागलाई बर्खास्त गरेपछि नयाँ प्रशिक्षकको खोजिमा जुटेको थियो ।
त्यसका लागि युनाइटेडले स्पोर्टिङ सीपीका मुख्य प्रशिक्षक रुबेन आमोरिमलाई नयाँ मुख्य प्रशिक्षकको रूपमा नियुक्त गर्नका लागि सम्झौता गरेको जनाइएको छ । युनाइटेडले स्पोर्टिङलाई १० मिलियन यूरो क्षतिपूर्ति दिने सहमति गरेको छ । जसमा आमोरिमका सहायक कर्मचारीहरूलाई समेत ओल्ड ट्राफोर्ड ल्याउन अतिरिक्त रकमको व्यवस्था गरिएको छ । यो सम्झौता आगामी बिहीबार सार्वजनिक हुने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
योजना अनुसार, आमोरिम स्पोर्टिङका लागि अर्को तीन खेलका लागि जिम्मेवारीमा रहनेछन् र त्यसपछि मात्र आगामी अन्तर्राष्ट्रिय ब्रेकमा म्यानचेस्टर युनाइटेडमा सामेल हुनेछन् । यसले उनको पहिलो खेल नोभेम्बर २४ मा इप्सविच टाउनविरुद्ध हुने प्रिमियर लिगको अवे खेल हुनेछ । इप्सविचका प्रबन्धक किरेन म्याकेना हुन्, जसलाई युनाइटेडले अघिल्लो सिजनको अन्त्यमा आफ्नो सम्भावित प्रशिक्षकको रूपमा विचार गरेको थियो ।
आमोरिमले स्पोर्टिङबाट पाँच सहायक कर्मचारीहरू सहित ओल्ड ट्राफोर्डमा जाने योजना बनाएका छन् । जसमा सहायक प्रशिक्षक कार्लोस फर्नान्डेज, एडेलियो क्यान्डिडो, इम्यानुएल फेरो, गोलकिपिङ कोच जर्जे भिटल र फिटनेस कोच पाउलो बारेरिया छन् । यसले स्पोर्टिङलाई थप कमजोर बनाउने चिन्ता छ । यी प्रमुख सहायकहरू बिना क्लबलाई नयाँ प्रशिक्षक खोज्नुपर्नेछ ।
आमोरिमले साढे २ बर्षको सम्झौतामा हस्ताक्षर गर्ने, र एक वर्ष थप्न विकल्प हुने भनिएको छ । तर, स्पोर्टिङबाट उनी नोभेम्बर ७ मा च्याम्पियन्स लिगमा म्यानचेस्टर सिटीको सामना गर्ने खेल अघि क्लब छोड्ने छैनन् ।
युनाइटेडका लागि आगामी तीन खेलहरूमा पूर्व–खेलाडी रुड भान निस्टलरोयले नेतृत्व गर्नेछन् । उनले चेल्सीविरुद्धको खेलका साथै युरोपा लिगमा ग्रीक क्लब पाओक र लीगमा लेस्टर सिटीसँगको खेलको नेतृत् वगर्ने छन् ।
हाल अन्तरिम प्रशिक्षक रहेका निस्टलरोयले आफूले टिमलाई कुनै पनि भूमिकामा सहयोग गर्न तत्पर रहेको बताएका छन् । उनले विहीबार विहान सकिएको खेलमा कारबाओ कपमा युनाइटेडले लेस्टरसिटीमाथि ५–२ गोलको फराकिलो जीत दर्ता गरेको थियो ।
तर आमोरिमको स्टाफको ठुलो संख्यानै ओल्डट्राफोड आउने भएकाले निस्टलरोयको क्लबमै बस्ने सम्भावना भने कम देखिएको छ ।
प्रतिक्रिया