सुसंस्कृत राजनीतिको एजेण्डा बोकेको रास्वपाका सांसद श्रेष्ठका ‘अश्लील’ अभिव्यक्ति

कसैलाई छुनै हुन्न भन्नु सामन्ती कायरता भन्ने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने आफू पक्राउ पर्दा ‘सरकार म¥यो, जुठो प¥यो’ भने। सहकारी ठगीमा पक्राउ परेका रवि दुई सातादेखि कास्की प्रहरीको हिरासतमा छन्। रास्वपा नेताहरू अहिले रविकै शैली पच्छाउन थालेका छन्।  नेपाली राजनीति विकृत भएको भन्दै सुसंस्कृत राजनीतिको एजेण्डा बोकेको दलका नेताहरू अश्लील अभिव्यक्ति दिन थालेका हुन्। युवा तथा खेलकुदमन्त्री समेत रही सकेका रास्वपा संसदीय दलका उपनेता विराजभक्त श्रेष्ठले गणतन्त्रलाई अश्लीलतासँग जोडेका हुन्। 

रविको रिहाइको माग गर्दै आन्दोलन गर्ने क्रममा आफ्ना नेता, कार्यकर्ता पक्राउ परेपछि आक्रोशित श्रेष्ठले भनेका छन्, ‘शान्तिपूर्ण प्रदर्शन पनि गर्न नपाइने भए त यो व्यवस्था माथि नै हामीले प्रश्न उठाउने बेला भयो त। के तन्त्र हो अब यो, गणतन्त्र हो कि ‘.. तन्त्र हो ?’

पूर्वमन्त्री भइसकेका व्यक्तिले सार्वजनिक रुपमै अपशव्द र गणतन्त्रलाई अश्लीलतासँग जोडेपछि सामाजिक सञ्जालमा भाइरल भइरहेको छ। उनको आलोचनाको शिकार भएका छन्। रास्वपा संसदीय दलका उपनेता श्रेष्ठले बुझ्नपर्ने कुरा के हो भने गलत व्यवस्था होइन, व्यक्ति र प्रवृत्ति हो। मुलुकमा भष्टाचार बढेको व्यवस्थाका कारण होइन, विचौलिया राजनीतिक प्रवृत्तिका कारण हो। तर, वैकल्पिक राजनीतिको धार बोकेर आएको भन्ने दलका उपनेताले यसरी अश्लील अभिव्यक्ति दिन पटक्क सुहाउँदैन्। नेपालमा गणतन्त्र ल्याउन हजारौँले बलिदानी दिएका छन्, हजारौँको सिउदोको सिन्दुर पुछिएको छ। अपांगता भएका छन्। 

हुन् त आफ्ना सभापति पक्राउ परेपछि अहिले रास्वपा नेताहरुको बोलीको ठेगान छैन। पोखरामा प्रदर्शन गर्न पुगेका रास्वपा कार्यवाहक प्रवक्ता मनिष झा अभिव्यक्तिकै कारण आलोचित हुनु परेको थियो। झा कुनै बेला कांग्रेस महामन्त्री गगन थापालाई राजनीतिक गुरु मान्थे। तर, तिनै थापा र परराष्ट्रमन्त्री आरजु राणा देउवाको विशेष चाहनामा रवि पक्राउ परेपछि झाले भनेका थिए,  ‘गगन थापा तिमी पनि नाङ्गियौ अब, किनकी अब देशमा युवा पुस्ताले राजनीतिक गर्नुपर्छ भनेर २० वर्षदेखि राजनीति गर्दै आएको मान्छे किन बोल्न सक्दैनौं।

नयाँ दल, पढेलेखेका मान्छे, यहीँ राजनीतिक अभ्यास गर्न चाहने मान्छे देखेर किन आत्तिएको?’ गगनले रविलाई समात्नुपर्छ भनेको राजनीतिक प्रतिशोधका आधारमा होइन। रास्वपा सांसद शिशिर खनालसमेत सदस्य रहेको संसदीय छानबिन समितिको सिफारिसका आधारमा उनी पक्राउ परेका थिए। तर, झाले गगन मात्र होइन प्रधानमन्त्री केपी शर्मा ओलीप्रति पनि तुच्छ टिप्पणी गरेका थिए। यद्यपि, काठमाडौं आएपछि उनले आत्मआलोचना पनि गरे। रास्वपा उपसभापति डिपी अर्याल, उपसभापति नै रहेका स्वर्णिम वाग्ले, सांसद तोसिमा कार्कीले पनि सभापति पक्राउविरुद्ध चर्काे अभिव्यक्ति दिइरहेका छन्।

अदालतप्रति विश्वास रहेको बताउने तथा कोहीकोहीलाई छुनै हुन्न भन्नु सामन्ती कायरता हो भन्ने रास्वपा आफ्ना सभापति पक्राउको विरोधमा किन प्रदर्शन गरिरहेको छ रहस्यमय छ।