साफ च्याम्पियनसिपमा बंगालादेशकि रितु पोर्ना चक्मा सर्वोत्कृष्ट खेलाडी घोषित

 बंगालादेशलाई महिला साफ च्याम्पियनसिपको उपाधि दिलाउन निर्णायक गोल गरेकी रितु पोर्ना चक्मा सर्वोत्कृष्ट खेलाडी घोषित भएकी छिन् ।

बंगालादेशको उपाधि रक्षा अभियानमा लेफ्ट विङ्गर रितुको महत्वपूर्ण भूमिका रहेको थियो। लेफ्टबाट क्रस गर्न र सनसनीपूर्ण गोलका लागि उनी माहिर छिन्।नेपाल र बंगलादेशबीचको फाइनलमा १-१ को बराबरीको अवस्थाबाट ८२ औं मिनेटमा गोल गर्दै रितुले टोलीलाई च्याम्पियन बनाएकी थिइन् ।

लेफ्ट विङ्सबाट उनले गरेको प्रहारलाई नेपाली गोलकिपर एन्जिला तुम्बापो सुब्बाले पन्च गरेपनि बल गोलमा परिणत भएको थियो।५० औं मिनेटमा नै बंगलादेशले मोनिका चक्माको गोलबाट अग्रता लिएको थियो।५६ औं मिनेटमा प्रिती राईले मिडफिल्डबाट खेलेको पासमा बंगलादेशको डिफेन्स लाइनबाट गल्ती भएपछि अमिषा कार्कीले बललाई पेनाल्टी क्षेत्रभित्र लग्दै बराबरी गोल गरेकी थिइन्।बंगलादेशकै रुम्पा चक्मा प्रतियोगिताको उत्कृष्ट गोलकिपर घोषित भएकी छन् ।

८ गोलसहित भुटानकी डेकी ल्हाजोम प्रतियोगिताको सर्वाधिक गोलकर्ता बनिन् । भुटानले फेयर प्ले अवार्ड जितेको छ।दशरथ रंगशालामा बुधवार भएको फाइनलमा नेपाललाई २-१ ले हराउँदै बंगलादेशले लगातार दोस्रो पटक साफ च्याम्पियनसिपको उपाधि जितेको हो।