साफमा उपविजेता बनेको नेपाली महिला टोलीलाई महानगरको रातारात सम्मान

साफ महिला च्याम्पियनसिप २०२४ मा उपविजेता बनेको नेपाली महिला टोलीलाई काठमाडौँ महानगरपालिकाले बुधबार राति नै नगद पुरस्कारसहित सम्मान गरेको छ ।

महानगरले टोलीका प्रत्येक खेलाडीलाई जनही एक लाख रुपियाँ, प्रशिक्षक, टिम ब्यवस्थापक, फिजियोलगायतलाई गरी कूल २७ लाख ५० हजार रुपियाँ पुरस्कारबाट समन गरेको हो ।खेलाडीलाई उहाँहरु बसेको होटल सोल्टीमै पुगेर महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन), उपप्रमुख सुनिता ढंगोलले नगद पुरस्कार र सम्मान पत्रबाट सम्मान गर्नुभयो ।

राति खेल सकेर होटल पुग्नासाथ खेलाडी महानगरको सम्मानमा सामेल भएका थिए । सम्मान कार्यक्रममा बालेनले फाइनल खेल दशरथ रङ्गशालामै आएर हेर्दा नर्मस भइने डरले आफुले घरमै बसेर हेरेको पनि बताउनुभयो ।‘‘फाइनलमा हामी बङ्गलादेशभन्दा कम थिएनौँ एउटै कर्नरको गोलले पछि परिएको हो । हारले जित्न सिकाउँछ । हामी सबै नेपालीलाई तपाईहरुले खुशी दिनुभएको छ । त्यो नै जित हो,’’ बालेनले भन्नुभयो ।

उपप्रमुख ड्रगोलले हरेक हारले जित्न सिकाउने भन्दै खेलाडीलाई अर्को पटक जित्न शुभकामना दिनुभयो ।  महानगरले दर्शकको चापलाई ध्यानमा राखेर बुधबार साँझ काठमाडौँको टुँडिखेल, चाबहिलको फुटबल ग्राउन्ड र हाँडीगाउँको सानो गौचरणको मैदानमा एलइडी स्क्रिनबाट महिला फाइलन खेलको प्रतक्ष्य प्रसारण हेर्ने अवसर दिएको थियो ।

जसअनुसार टुँडिखेलमा २० हजार, हाँडीगाउँमा पाँच हजार र चाबहिलमा सात हजार दर्शकले फाइनल खेल हेरेको पनि महानगरले जनाएको छ ।