इलेक्ट्रिक रिक्साले विस्थापित हुँदै ठेला मजदुर
काठमाडौँ, १४ कात्तिक : यहाँको टीकापुर नगरपालिका–४ बाघमाराका पर्शुराम चौधरी हिजोआज फुर्सदिलो हुनुहुन्छ । २० वर्षदेखि टीकापुर बजारमा ठेला (रिक्सा) चलाएर जीविका गर्दै आउनुभएका उहाँ काम नपाएर फुर्सदिलो हुनुभएको हो । ठेला चलाएरै टीकापुरमा घर बनाउनुभएका उहाँमा दिक्दारी देखिन्छ ।
कुनै बेला भ्याइनभ्याइ काम पाउने उहाँ हिजोआज काम नपाउँदा रित्तो हात घर फर्कने गर्नुहुन्छ । विगतमा उहाँ दैनिक रु एक हजार पाँच सयदेखि दुई हजारसम्म कमाइ गर्नुहुन्थ्यो । “हाम्रो व्यापार इलेक्ट्रिक रिक्साले ओझेलमा पारिदिएको छ”, उहाँले भन्नुभयो, “कुनै विकल्प नभएपछि बाध्यतामा मात्रै हामीलाई बोलाइन्छ ।”
काम नपाएकै कारण ठेला चलाएर गुजारा गर्न गाह्रो भएको मजदुरहरुको भनाइ छ । चाडपर्वमा झन समस्या हुने गरेको टीकापुर नगरपालिका–१ शक्तिनगर शिविरका रतीराम चौधरी बताउनुहुन्छ । “दिनभर बजारको चोक चौराहमा बस्यो, साँझ परेपछि रित्तै घर फर्कियो”, उहाँले भन्नुभयो, “खाली हात घर पुग्दा छोराछोरीले के ल्याउनुभयो भनेर खोज्न थाल्दा मन थाम्न गाह्रो हुन्छ ।”
ठेलाले काम नपाएपछि घरमै बस्नुभन्दा दैनिक ज्यालादारीको काम चहार्दै हिँड्नुपरेको चौधरी बताउनुहुन्छ । एकातिर बजार दिनप्रतिदिन खस्कँदो छ । अर्कोतिर यात्रु बोक्ने रिक्साले सामान ओसारपसार गर्न थालेपछि ठेला मजदुर मर्कामा परेका हुन् । उसो त केही वर्ष अगाडि मात्रै टीकापुरमा एकसय बढी ठेला मजदुर थिए । हाल अधिकांश विस्थापित भइसकेका छन् । ठेलाको विकल्प नभएका केहीले मात्र निरन्तरता दिएका छन् ।
“खेतीपाती गर्न जग्गाजमिन छैन, अन्य काम गरौँ सीप छैन, मजदुरी गर्नलाई नियमित काम पाइँदैन”, अर्का मजदुर सीताराम चौधरी भन्नुहुन्छ, “खर्च दिनप्रतिदिन बढ्दो छ, आयस्रोत बढ्नुको साटो घट्दै जाँदा के खाने, ले लगाउने, केले छोराछोरीलाई पढाउने ?”
जोशीपुरका राधेश्याम चौधरी ठेला चलाएर पहिले मासिक रु ५० हजारसम्म कमाउनुहुन्थ्यो । दैनिक रु पाँच हजारसम्म कमाएको अनुभव उहाँको छ । १८ वर्षदेखि ठेला चलाएर जीविका चलाउँदै आउनुभएका उहाँ विद्युतीय रिक्साका कारण पेशाबाट विस्थापित हुने अवस्थामा हुनुहुन्छ ।
स्थानीय सरकारले मापदण्ड बनाएर सबैलाई बाँच्ने वातावरण बनाउनुपर्ने ठेला मजदुरको माग छ । जुन प्रयोजनका लागि सवारीसाधनको खरिद भएको हो त्यसैअनुसार प्रयोग हुनुपर्ने उनीहरुको माग छ ।
“हामीसँग भएको सीप त्यही हो, आज त्यो सीप काम नलाग्ने अवस्थामा छ, इलेक्ट्रिक रिक्सा किन्ने सामथ्र्य छैन”, ठेला मजदुर पर्देशी चौधरी भन्नुहुन्छ ।
प्रतिक्रिया