वर्णन मिडिया र्विफिङ : आज दिनभरका खबरहरु

रविका अवैध कारोबारका हिसाबमा प्रहरी व्यस्त, ९० दिन थुने पनि अनुसन्धान सक्न मुस्किल 

पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणको अनुसन्धानका क्रममा कास्की प्रहरीको  हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेका आर्थिक कारोबारका विवरण देखेर अनुसन्धानमा खटिएका प्रहरी र सरकारी वकिल नै छक्क परिरहेका छन् । उनले पछिल्ला दस वर्षको अवधिमा कम्तीमा ५० करोड रुपैयाँबरबारको शंकास्पद कारोबार गरेको पाइएको छ । सहकारी ठगी र संगठित अपराधको अनुसन्धानका लागि हिरासतमा लिइए पनि उनको खास मुद्दाचाहिँ सम्पत्ति शुद्धीकरण हुने भएको छ । उनले नेपालबाट अमेरिका रकम पठाएकोदेखि स्रोत नै नखुलेको रकमको ठूल्ठूलो कारोबार नेपालमै पनि गरेको पाइएको छ । त्यसैले उनलाई कम्तीमा ९० दिन हिरासतमा राखे पनि अपुग हुने भएकाले कसरी अनुसन्धान सक्ने भनेर टाउको दुखाइ भइरहेको अनुसन्धानमा संलग्न एक अधिकारीहरुले बताएका छन् । 

https://barnanmedia.com/news/detail/201033/ 

रास्वपाको दोहोरो चरित्र, रवि पक्राउविरुद्ध सडकमा आन्दोलन, बालुवाटार पुगेर हारगुहार 

सहकारी ठगी प्रकरण २ कात्तिकमा पक्राउ परेपछि रास्वपा सभापति रवि लामिछानेले भनेका थिए, सरकार मर्‍यो, हामीलाई जुठो पर्‍यो। पोखराका सूर्यदर्शन सहकारी ठगी प्रकरणमा पक्राउ परेका रवि अहिले कास्की प्रहरीको हिरासतमा छन्। तर, पक्राउ पर्ने वितिक्कै रास्वपाले सडक आन्दोलन थालेको थियो। रास्वपाका नेताहरुले प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रमेश लेखकविरुद्ध चर्का नारा लगाए। तर, पोखरा आन्दोलनमा जनताले साथ नदिएपछि काठमाडौं फर्किएका रास्वपा नेताहरुले गत शुक्रबार काठमाडौंमा प्रदर्शन त गरे। तर, यहाँ पनि उल्लेख्य सहभागिता हुन नसकेपछि रास्वपा विखलबन्दमा परेको छ। हुन् त फौजदारी अभियोगमा पक्राउ परेका अनि अदालतले अनुसन्धानका लागि हिरासतमा अनुमति दिएकालाई आन्दोलनका भरमा छुटाउन पनि मिल्दैन।

https://barnanmedia.com/news/detail/201000/ 

 आईपीएल २०२५ मेगा अक्सन अघि चेन्नई सुपर किंग्समा धोनी रिटेन 

चेन्नई सुपर किंग्स (CSK) ले आगामी आईपीएल २०२५ मेगा अक्सन अघि पाँच प्रमुख खेलाडीहरूलाई कायम राख्ने निर्णय गरेको छ। यी खेलाडीहरूमा पूर्व कप्तान महेन्द्र सिंह धोनी, वर्तमान कप्तान ऋतुराज गायकवाड, रविन्द्र जडेजा, शिवम दुबे र श्रीलंकाली तीव्र गतिका बलर माथीसा पथिराना सामेल छन्। CSK ले यी खेलाडीहरूलाई तिर्ने रकम हालसम्म खुलासा गरिएको छैन, तर यसले १२० करोड भारतीय रुपैयाँको कुल रकमबाट कम्तिमा ६५ करोड रुपैयाँ कटौती हुनेछ। पाँच खेलाडीलाई कायम राखेपछि CSK सँग मेगा अक्सनमा एक ‘राइट-टु-म्याच’ विकल्प उपलब्ध हुनेछ। 

गुडिरहेको फोर्स गाडीमा आगलागी 

 बाँकेको नेपालगञ्जदेखि रुकुम पश्चिम जाँदै गरेको फोर्स गाडीमा आगलागी भएको छ । पश्चिम रुकुम चौरजहारी नगरपालिकाको –११ चौफातर्फ जाँदैगरेको गाडी बुधबार बेलुका सल्यानको बागचौर नगरपालिका –१ थारमारे चारखोलामा आगलागी भएको हो ।   बेलुकी ६ वजे  भे १ ख ३७५० नम्वरको फोर्स गाडीमा आगलागि भएको  सल्यान प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय सल्यान प्रहरी प्रमुख केशर न्यौपानेका अनुसार गाडीमा अचानक आगो लागेको र नियन्त्रण आइनसकेको वताउनुभयो ।

बंगलादेशविरुद्ध नेपालले फर्कायो गोल 

दशरथ रंगशालामा जारी साफ महिला च्याम्पियनसीपको फाइनलमा बंगलादेशविरुद्ध नेपालले बराबरी गोल फर्काएको छ । बंगलादेशले अग्रता लिएको ४ मिनेटमै नेपालले बराबरी गोल फर्काएको हो । नेपालकी अमिशा कार्कीले गोल गरेकी हुन् । यसअघि बंगलादेशले खेलको ५१औं मिनेटमा गोल गर्दै अग्रता लिएको थियो ।

काठमाडौं महानगरपालिकाले निजी कम्पनीलाई फोहर उठाउन नदिने 

काठमाडौं महानगरपालिकाले उपत्यकाको अन्तिम फोहर व्यवस्थापन स्थल बञ्चरेडाँडाको आयु लम्ब्याउने प्रयासको थालनी गरेको छ। सोका लागि कामपाले स्रोतमा उत्पादन भएको फोहरको २० प्रतिशत मात्रै उक्त स्थानमा लैजाने गरी तयारी थालेको कामपा वातावरण विभागले जनाएको छ।  स्रोतमा उत्पादन भएको फोहरमध्ये २० प्रतिशत बञ्चरेडाँडामा लैजाने र बाँकी सेवा प्रदायकमार्फत व्यवस्था गर्नेगरी तयारी थालिएको विभागका प्रमुख सरिता राईले जानकारी दिइन्। उनका अनुसार बाँकी फोहर व्यवस्थापनका लागि बोलपत्र आह्वानको काम भइसकेको छ। 

फाइनलमा बंगलादेशले नेपालविरुद्ध लियाे अग्रता 

दशरथ रंगशालामा जारी साफ महिला च्याम्पियनसीपको फाइनलमा बंगलादेशले नेपालविरुद्ध अग्रता लिएको छ ।खेलको ५१औ मिनेटमा बंगलादेशले गोल गरेको हो ।

पूर्वउपाध्यक्ष सैँजुको निधन 

राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा मोहनमान सैँजुको ८३ वर्षको उमेरमा निधन भएको छ ।   लामो समयदेखि पार्किनसन रोगसम्बन्धी समस्या झेल्दै आउनुभएका सैँजुको सानेपास्थित आफ्नै निवासमा मङ्गलबार साँझ निधन भएको उहाँको छोरी मीता प्रधानले जानकारी दिनुभयो । उहाँले अमेरिकाका लागि नेपाली राजदूत, गरिबी निवारण कोषको उपाध्यक्ष, राष्ट्रिय योजना आयोगको सदस्य, त्रिभुवन विश्वविद्यालयका शिक्षाध्यक्ष तथा सेडाको प्रमुख विशेषज्ञ भई काम गर्नुभएको थियो । सुप्रवल गोर्खा दक्षिण बाहु, महेन्द्र विद्या भूषण, प्रवल त्रिशक्ति पट्टबाट उहाँ सुशोभित हुनुहुन्थ्यो । 

कार दुर्घटनामा एकको मृत्यु, एक गम्भीर 

राप्ती राजमार्गअन्तर्गत तुलसीपुरबाट अमेलियातर्फ जाँदै गरेको  बा१६च ७६४३ नम्बरको कार लमही नगरपालिका–९ भञ्ज्याङको भिरबाट  खस्दा गम्भीर घाइते भएकामध्ये एक जनाको मृत्यु भएको छ । तुलसीपुर उपमहानगरपालिका–६ का ४५ वर्षीय  कर्णबहादुर थापाको आज लमही अस्पतालमा  उपचारका लागि पु¥याएलगत्तै अस्पतालले मृत घोषणा गरेको अस्पतालका प्रशासन प्रमुख हरि खनालले जानकारी दिनुभयो । सोही दुर्घटनामा परी गम्भीर घाइते भएका तुलसीपुर उपमहानगरपालिका–७ झुमरे चोक  निवासी ३३ वर्षीय पूर्णबहादुर खत्रीको भने उपचार भइरहेको छ । 

पहिलो हाफमा नेपाल र बंगलादेशकाे खेले गोलरहित बराबरी 

साफ महिला च्याम्पियनसिपको फाइनलमा घरेलु टोली नेपाल र बंगलादेशले गोलरहित बराबरी गरेका छन्। दशरथ रगंशालामा जारी पहिलो हाफ सकिदा दुवै टोलीले गर्न सकेका छैनन्। खेलको दोस्रो मिनेटमा नै गिता रानाले रिलिज गरेको बल तोहुरा खातुनले सजिलै नियन्त्रणमा लिदै गरेको प्रहर क्रसबारमा लाग्दै रिबाउण्ड भयो। रिवाउण्डमा तोहुराको हेडर नेपालकी गोलरक्षकले सजिलै बचाउ गरिन्।   खेलको १० औँ मिनेटमा साम्बाको ब्याक पासमा अमिसा कार्कीको प्रहार क्रसबारमा लाग्दै बाहिरिदा नेपालले अग्रता बनाउने मौका गुमायो।  खेलको ३३ औँ मिनेटमा बंगलादेशकी मोनिका चक्माको फ्रिकीक प्रहार क्रसबारको माथिबाट आकाशियो।

भ्रष्टाचार मुद्दामा विकल पौडेल दोषी ठहर 

अन्तःशुल्क स्टिकर छपाइमा भएको भ्रष्टाचारमा सुरक्षण मुद्रण केन्द्रका तत्कालीन कार्यकारी निर्देशक विकल पौडेल दोषी ठहर भएका छन्।

 

यस्तै केन्द्रकै निर्देशक सफल श्रेष्ठ पनि दोषी ठहर भएका छन्।अन्तःशुल्क स्टिकर छपाइमा भ्रष्टाचार भएको दाबीसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दायर गरेको मुद्दामा विशेष अदालतले बुधबार उनीहरूलाई दोषी ठहर गरेको हो। तर, निलम्बित मुख्यसचिव डा वैकुण्ठ अर्यालले भने सफाइ पाउने फैसला गरेको हो। विशेष अदालतका अध्यक्ष न्यायाधीश टेकनारायण कुँवर, सदस्य न्यायाधीशद्वय खुशीप्रसाद थारू र रितेन्द्र थापाको इजलासले गरेको फैसलामा भनिएको छ, ‘प्रतिवादी डा वैकुण्ठ अर्यालले राष्ट्रिय सुरक्षण मुद्रण केन्द्रका लागि राष्ट्रिय बजेटबाट नै एलएमबीएस माध्यमबाट बजेट विनियोजन भएको देखिएको सुरक्षण मुद्रण केन्द्रका निर्देशक प्रतिवादी विकल पौडेलले सो बजेट र खरिद योजना स्वीकृतिका लागि प्रतिवादी रहेका निज सचिव समक्ष पेस गरेको, निजले मन्त्रालयको सचिवको हैसियतमा बजेट र खरिद गुरुयोजना स्वीकृत गर्दा सो बजेट हुबहु स्वीकृत गरेको देखिँदा बजेटको भावनामा तात्त्‍विक फरक पर्ने अवस्था देखिन आएन ।  

राप्रपा नेतृ पोखरेलले नेपाली खेलाडीलाई प्रतिगोल २५ हजार दिने 

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की केन्द्रीय सदस्य कुन्तिदेवी पोखरेलले साफ महिला च्याम्पियनसिप फुटबलको फाइनल खेलमा गोल गर्ने नेपाली खेलाडीलाई प्रतिगोल २५ हजारले सम्मान गर्ने भएकी छिन् । उनले बुधबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने नेपाल र बांङ्लादेशबिचको फाइनल खेलमा गोल गर्ने नेपाली खेलाडीलाई प्रतिगोल २५ हजारले सम्मान गर्ने भएकी हुन् । नेपाली महिला खेलाडीलाई प्रोत्साहन गर्नका लागि आफूले नग सहित सम्मान गर्न लागेको उनले जानकारी दिएकी छिन् । 

डढेलो र वायु प्रदूषणको जोखिम घटाउने कदम चाल्न सरकारको ध्यानाकर्षण 

 नेपाल वातावरण पत्रकार समूह (नेफेज)ले मनसुन सकिएसँगै काठमाडौँ उपत्यकासहित मुलुकका अन्य सहरमा वायु प्रदूषणको ग्राफ उकालो लागेको र आगलागी–डढेलोका घटनामा वृद्धि भइरहेकाप्रति तिनै तहका सरकारको ध्यानाकर्षण गराएको छ । नेफेजले आज एक विज्ञप्ति जारी गरी काठमाडौँको वायु प्रदूषणको स्तर विश्व स्वास्थ्य सङ्गठनको मापदण्डभन्दा १० गुणा बढी  पुग्ने गरेको तथा सुक्खायाममा डढेलो र प्रदूषणका कारण शैक्षिक संस्थाको पठनपाठन स्थगित गर्नुपरेको विगतबारे स्मरण गराएको छ । “वनजङ्गलमा डढेलो लाग्न सुरु भइसकेको छ भने एक सातामा मात्र ३२ ठाउँमा आगलागी भएको गृह मन्त्रालय, आपत्कालीन कार्यसञ्चालन केन्द्रको तथ्याङ्कले देखाउँछ”, महासचिव कमलदेव भट्टराईद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । 

मिसाइल उत्पादनमा इजरायली आक्रमणको कुनै असर परेन– इरान 

इरानले बुधबार गत हप्ता त्यस्ता सुविधाहरूलाई लक्षित गरी गरिएका इजरायली हवाई आक्रमणहरूपछि पनि आफ्नो मिसाइल उत्पादन अक्षुण्ण रहेको बताएको छ  “मिसाइल जस्ता आक्रामक प्रणालीहरूको उत्पादन प्रक्रियामा कुनै अवरोध आएको छैन”, रक्षामन्त्री अजिज नसिरजादेहले पत्रकारहरूलाई भन्नुभयो, “शत्रुले हाम्रा रक्षात्मक र आक्रामक दुवै प्रणालीलाई क्षति पु¥याउने प्रयास ग¥यो ।”इरान समर्थित लडाकू नेताहरू र रिभोल्युसनरी गार्ड्सका कमान्डरको हत्यापछि अक्टोबर १ मा भएको तेहरानको मिसाइल आक्रमणको जवाफमा इजरायलले शनिबार इरानका सैन्य स्थलहरूमा आक्रमण गरेको थियो । 

‘मुलुकको विकास गर्न सबै एकजुट हुनुपर्ने’ 

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ नेता पशुपति शमशेर जबराले मुलुक बनाउन र विकास गर्न आम नेपाली एकजुट हुनुपर्ने बताउनुभएको छ । राष्ट्र रक्षार्थ, एकता, अभियान काठमाडौँले आज यहाँ  आयोजना गरेको चियापान तथा भेटघाट कार्यक्रममा बोल्दै वरिष्ठ नेता जबराले राष्ट्रलाई जोगाउन सबै एकजुट हुनुपर्ने बताउनुभएको हो ।  उहाँले भन्नुभयो, “बुद्धको देश, विश्वको सर्वोच्च शिखर सगरमाथा भएको देश, सीतामाताको देश र मुक्तिनाथ भएको देश हो, हामीले हाम्रो मुलुक जोगाउन एकजुट हुनुपर्छ ।” 

कांग्रेस महामन्त्री शर्माको संयोजकत्वमा ‘स्थानीय तह उपनिर्वाचन संयोजन समिति गठन 

सत्तारूढ दल नेपाली कांग्रेसले ‘स्थानीय तह उपनिर्वाचन– २०८१ केन्द्रीय संयोजन समिति’ गठन गरेको छ ।
कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले आज विज्ञप्ति जारी गर्दै पार्टी महामन्त्री विश्वप्रकाश शर्माको नेतृत्वमा समिति गठन गरेको जानकारी दिनुभयो ।  कांग्रेस सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीको विधान, २०१७ (संशोधनसहित) बमोजिम पार्टीका महामन्त्री शर्माको संयोजकत्वमा उक्त समिति गठन गर्नुभएको हो । 

सुशासन कायम गर्न मिडियाको महत्त्वपूर्ण भूमिका रहन्छ : सञ्चारमन्त्री 

 सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले मुलुकमा सुशासन कायम गर्न मिडियाको महत्त्वपूर्ण भूमिका रहने बताउनुभएको छ ।  नेपाल पत्रकार महासङ्घले आयोजना गरेको २०८१ सालको बडादशैँ, तिहार, छठपर्व र नेपाल संवत् ११४५ को अवसरमा आज काठमाडौँमा आयोजित चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रममा उहाँले सुशासन कायम गर्न मिडिया निरन्तर लाग्नुपर्ने बताउनुभयो ।  यसैगरी मन्त्री गुरुङले मिडिया काउन्सिल विधेयकको भूमिकालाई प्रभावकारी बनाउनुपर्ने बताउनुभयो । “मिडिया काउन्सिल विधेयक कार्यान्वयनमा आएपछि मिडिया स्वायत्त र स्वतन्त्र हुने छन्”, उहाँले भन्नुभयो, “समानतामूलक समाज निर्माण र विविधताबीच एकता कायम गर्न मिडियाले भूमिका खेल्नुपर्छ ।”

नेपाल प्रिमियर लिग : मोहमद नावीका छोरा हसन चितवन राइनोजमा 

नेपाल प्रिमियर लिग (एनपीएल) मा चितवन राइनोजले अफगानिस्तानका यु-१९ क्रिकेटर हसन एइसाखिललाई भित्र्याएको छ । १८ बर्षिय ओपनिङ ब्याट्सम्यान हसनलाई एनपीएलका लागि भित्र्याएको चितवनले जानकारी दिएको छ । चितवनले भित्र्याएका हसन तेस्रो विदेशी खेलाडी हुन् । हसन अफगानिस्तानका भेट्रान खेलाडी मोहमद नावीका छोरा हुन् । यसअघि चितवनले दक्षिण अफ्रिकाका बलर मार्चेन्ट डी लान्ज र इङल्याण्डका लुक बेनकेनस्टिनलाई अनुबन्ध गरेको थियो । चितवनका मार्की खेलाडीमा राष्ट्रिय टिमका कुशल मल्ल रहेका छन् ।

भ्रष्टाचार मुद्दामा निलम्बित वैकुण्ठ अर्याल र एक कम्पनीसहित १० प्रतिवादीले  पाए सफाइ 

भ्रष्टाचार मुद्दामा निलम्बित मुख्य सचिव डा. वैकुण्ठ अर्याल र एक कम्पनीसहित १० प्रतिवादीले सफाइ पाएका छन् । अन्य २ जनालाई दोषी ठहर गरिएको छ । विशेष अदालतका अध्यक्ष न्यायाधीश टेकनारायण कुँवर, सदस्य न्यायाधीशद्वय खुशीप्रसाद थारू र रितेन्द्र थापाको इजलासले बुधबार मुख्य सचिव अर्यालसहितलाई सफाइ दिएको हो ।सुरक्षण मुद्रण केन्द्रका तत्कालीन कार्यकारी निर्देशक विकल पौडेल र निर्देशक सफल श्रेष्ठ दोषी ठहर भएका हुन् । गत कात्तिक ५ गते देखि निरन्तर हेर्दाहेर्दैमा राखेर सुनुवाइ हुँदै आएको उक्त मुद्दामा बुधवार फैसला भएको हो ।११ व्यक्ति र १ कम्पनी सहित १२ जना विरुद्ध अन्तःशुल्क स्टिकर छपाइमा भ्रष्टाचार भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दायर गरेको मुद्दामा २ जना मात्र दोषी ठहर भएको हो ।