प्रतिशोध साँधेर कसैलाई पक्राउ गरिएको छैन : गृहमन्त्री लेखक
गृहमन्त्री रमेश लेखकले प्रतिशोधका आधारमा कसैलाई पक्राउ नगरिएको दाबी गरेका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सभापति रवि लामिछानेलाई प्रतिशोध साँधेर पक्राउ गरिएको बताइरहेको सन्दर्भतर्फ लक्षित गर्दै गृहमन्त्री लेखकले सरकारले संसदीय छानबिन समितिको प्रतिवेदन कार्यान्वयनमात्र गरेको बताए ।
मुस्ताङबाट काठमाडौं जाने क्रममा पोखरा विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा गृहमन्त्री लेखकले सहकारी पीडितको न्यायका लागि सरकारपछि नहट्ने बताए । संसदीय समितिले दिएको निर्देशनअनुसार जो कोही भए पनि अनुसन्धानको दायरामा ल्याइने उनको भनाइ छ ।
पत्रकार सम्मेलनमा सञ्चारकर्मीहरूले उनलाई सोधेका थिए– जीबी राईलाई कहिले पक्राउ गर्नुहुन्छ ?
जवाफमा उनले राईलाई खोजेर नेपाल ल्याउने प्रक्रिया निकै तीव्रताका साथ अगाडि बढिरहेको बताए । उनले खोजीका विषयमा पक्राउ नगरिकन कुनै पनि सूचना सार्वजनिक गर्न तथ्यपरक नहुने बताए ।
सरकारले सहकारी ठगी प्रकरणका दोषी र आरोपितलाई कारबाहीको प्रक्रियामा ल्याउने मात्र काम नगरेको बताउँदै उनले सहकारी पीडितहरूले रकम कसरी फिर्ता पाउँछन् भन्ने विषयमा समेत फास्ट ट्र्याकबाट काम अगाडि बढाएको बताए ।
प्रतिक्रिया